अपराध नियन्त्रणको जिम्मेवारी पाएका प्रहरी नै अपराधमा लिप्त, १ वर्षमा २ हजारभन्दा बढी प्रहरीमाथि कारवाही

डिसी नेपाल
१३ साउन २०८२ १०:१९
68
Shares

काठमाडौं। प्रहरी प्रधानकार्यालयले साउनको दोस्रो साता पत्रकार सम्मेलन गरेर प्रहरी विरूद्ध करिब ४ हजार बढी उजुरी परेपछि २ हजार प्रहरी कारवाहीमा परेको जानकारी दियो।

एक वर्षमा विभिन्न माध्यमबाट प्रहरीका विरूद्ध उजुरी पर्दा २ हजार प्रहरी कारवाहीमा परेको जानकारी दिएको हो। को-को कारवाहीमा परेको भन्ने बारेमा केही जानकारी नदिएपनि दर्जागत रूपमा भने जानकारी दिएको छ।

प्रधान कार्यालयका अनुसार आर्थिक वर्ष २०८१-८२ को तथ्यांकअनुसार २ हजार ७३ जना प्रहरी कर्मचारी कारबाहीमा परेका छन्। कारबाहीमा पर्नेमध्ये सबैभन्दा धेरै तल्लो दर्जाका छन्।

कारबाहीमा परेका २ हजार ७३ प्रहरीमध्ये ९२४ जना प्रहरी जवान छन्। जवानपछि सहायक हवल्दार ४२०, प्रहरी हवल्दार ३४५ कारबाहीमा परेका छन्। असई १७३, सई ६९, वरिष्ठ हवल्दार ६०, कार्यालय सहयोगी ३९, इन्स्पेक्टर ३०, वरिष्ठ सई ९, एसएसपी १ र डीएसपी ३ जना कारबाहीमा परेको प्रहरी प्रवक्ता विनोद घिमिरेले जानकारी दिए।

यसरी हेर्दा पछिल्लो दुई साता यता सर्लाहीमा तीन वटा आवाज रेकर्ड भई सामाजिक सञ्जालमा भाइरल भएको छ। जसमध्ये एउटा आर्थिक वर्षको अन्त्यमा प्रहरी प्रमुख र एक पूर्ब प्रदेश सभा सदस्य बीचको चर्काचर्की, अर्को दुई वटा आवाजको रेकर्ड भने तस्करी गराए बापत प्रहरी चौकीका प्रमुखले पाउने अनधिकृत लाभ र अनुमति समय भित्रै बरामद गरेको राजश्व छलीको सामग्रीका बिषयमा थियो।

पहिलो भाइरल बनेको आवाज भने रेकर्ड भने गत असार २० गतेको रहेको छ। पूर्वाधार विकास कार्यालय मलंगवामा प्रहरीले सुरक्षा दिएको भन्दै जनता समाजावादी पार्टीका मधेश प्रदेशका अध्यक्ष अशोक यादवले जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्कालाई मधेशमा तीमीहरु लुट्न आएको भन्दै गरेको चर्काचर्की विवाद सामाजिक सञ्जालमा भाइरल बनेको थियो।

तर, ठिक दुई साता बित्न नपाउँदै सिमाबर्ती र बाटोमा पर्ने नाकाका प्रहरी चौकीका प्रमुखले अवैध सामान ओसार पसार गराए बापत ब्यबसायीसँग अनधिकृत लाभ लिन धम्काएका दुई आवाज रेकर्ड सामाजिक सञ्जालमा भाइरल बनेपछि प्रहरीले तराई मधेश लाई कमाऊ धन्दा बनाएको पुष्टि हुन पुग्यो र कारवाही पनि भएको छ।

४ बोरा चिनी, ४ बोरा मटरलगायतका सामानहरु प्रहरीले बरामद गरेपछि भारतीय सीमा नाकाबाट ओसार पसारमा अनुमति दिने सर्लाहीको व्रम्हपुरी प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक मनोज यादवलाई त्रिभुवन नगरकी एक महिला ब्यबसायीले जानकारी गराउँदा उनले बेवास्ता गरेपछि आवाज रेकर्ड गरेर सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो।

ती महिला व्यवसायीको भारतीय सीमा नाकाबाट राजश्व छलीका सामग्री ल्याउन श्राबण ४ गते सम्मको अनुमति रहेपछि त्यस अगावै बरामद भएपछि यस घटना सार्वजनिक भएको थियो।

प्रहरी सहायक निरीक्षक यादव घुमुवा प्रहरीको रुपमा समेत खटिने गरेका छन्। यस्तै अर्को गत २ गते मात्रै तस्करी गराएबापत समयमै अनधिकृत लाभ नदिएको भन्दै सर्लाहीस्थित इलाका प्रहरी कार्यालय हिरापुरका प्रमुख एवं प्रहरी नायब निरीक्षक वैद्यनाथ दासले राजीव भन्ने व्यवसायीको ३२वटा बंगरा झारिदिने धम्की दिएको आवाजपनिसामाजिक सञ्जालमा भाइरल बनेको थियो।

प्रहरी नायब निरीक्षक दासले पुन ब्यबसायी राजीवसँग मोलमलाइ गर्दै सन्तोष पासवान लाई १८ हजार रुपैयाँ दिन र बिबाहमा खरिद गरेको कपडाको ७ हजार रकम दिनु पर्ने भन्दै धम्क्याएका थिए। पछिल्ला दिनमा प्रहरीले तस्करीलाई प्रश्रय दिएका कारण मधेश प्रदेशका भन्सारबाट लक्षित राजश्व रकम उठ्न सकेको छैन।

प्रहरीको आचरण बिपरितका क्रियाकलाप हुन थालेपछि सर्वसाधारणले समेत दुख पाउने थालेका छन्। तीन दिन यता सार्वजनिक भएका ध्वनी रेकर्डमा सुनिएका प्रहरी नायब निरीक्षक वैद्यनाथ दास र प्रहरी सहायक निरीक्षक मनोज यादव दुवै विवादास्पद प्रहरी हुन्।

उनीहरु दुवै यसअघि निलम्बनमा परिसकेका छन्। सार्वजनिक भएका आवाज रेकर्डले खुल्ला सीमा रहेको मधेश प्रदेशको जिल्लाहरुमा भारतीय नाकाबाट तस्करी भैरहेको स्वयम प्रहरीबाटनै पुष्टि हुँदै आएको छ।

प्रहरी प्रधानकार्यालयले दिएको विवरण अनुसार प्रहरीविरुद्ध प्रधानमन्त्री कार्यालय अन्तर्गत हेलो सरकार, हुलाक, प्रहरी महानिरीक्षकको सचिवालय, गृह मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र र प्रहरी प्रधान कार्यालयकै फेसबुक, ट्वीटरलगायत सामाजिक सञ्जाल, पुलिस एप, टोल फ्री नम्बर (१११३, ९८५१२९३००) लगायतमा उजुरी पर्दै आएका छन्। सबैभन्दा धेरै उजुरी हेलो सरकारमा पर्ने गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.