भोटेकोशीमा फेरि बाढी, रसुवामा उच्च सतर्कता

डिसी नेपाल
१४ साउन २०८२ ६:४४
72
Shares

रसुवा। आज विहान दुई बजेबाट भोटेकोशीमा पुनः बाढी आएको छ। जिल्ला प्रशासन कार्यालय रसुवाले राति दुई बजे नै भोटेकोशीमा बाढी आएको सूचना दिएकाले नदी तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयले सतर्कता अपनाएका थिए।

यसबाट हालसम्म कुनै पनि अप्रिय घटना नभएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ। अघिल्लो दिन मात्रै चिनियाँ पक्षले चीन तर्फको भू-भागमा भारी बर्षा हुने जानकारी दिएपछि भोटेकोशीमा फेरि बाढी आउने सूचनासँगै रसुवामा उच्च सतर्कता अपनाइएको थियो।

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार हालसम्म बाढीबाट जनधनको क्षति नभएको जानकारी दिएको छ। अझै पनि भारी वर्षाका कारण विपद्को जोखिम हुनसक्ने भएकोले आवश्यक पूर्वतयारी र सावधानीका साथ उच्च सर्तकता अपनाउन रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले सबैमा अनुरोध गरे।

यसैबीच नदी आसपासमा निर्माणाधीन तथा सञ्चालित आयोजनाहरू र नदीको तटीय क्षेत्रमा अवस्थित कार्यालयहरूले आवश्यक पूर्वतयारी एवम् सावधानी अपनाउन सूचनामार्फत अनुरोध गरिएको छ।

सम्भावित विपदबाट यस जिल्लामा सञ्चालित सडक मार्गहरूमा समेत क्षति तथा अवरोध पुग्न सक्ने भएकाले यातायातका साधन सञ्चालन गर्दा र यात्रा गर्दा आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ। गत असार २४ गते मंगलबार चीनको लेन्दे खोलामा आएको बाढीले ठूलो धनजनको क्षति गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.