लागूऔषधसहित ११ जना पक्राउ

काठमाडौं । देशका छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित प्रहरीले ११ जनालाई पक्राउ गरेको छ।
काठमाडौं महानगरपालिका-१४ कलंकीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम ९ सय १० मिलिग्राम, गाँजाको धुलो जस्तो देखिने पदार्थ करिब १ सय ३८ ग्राम ८ सय ६० मिलिग्राम, डिजिटल तराजु १ थान र नगद २१ हजार रूपैयाँ सहित ३ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने धादिङ घर भएका ३६ वर्षीय शिव नेपाली, रामेछाप घर भएका ३० वर्षीय मिलन श्रेष्ठ र झापा घर भएका २६ वर्षीय सुरज श्रेष्ठ रहेका छन्। प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरी उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।
रूपन्देहीको देबदह नगरपालिका-१० चरङेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ४० मिलिग्राम सहित ३ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा देबदह नगरपालिका-१० भलुही बस्ने २४ वर्षीय सागर विक, ३१ वर्षीय हेमन्तसिंह पुन र भारत उत्तर प्रदेश सिद्धार्थनगर केरार्थ-१ बस्ने २५ वर्षीय प्रभुराम ओझा रहेका छन्। इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
बाराको सिम्रौनगढ नगरपालिका-६ बाट अवैध लागूऔषध ट्रामाडोल १० हजार ३ सय ८० ट्याब्लेट सहित भारत पुर्वी चम्पारण बिहार जितना ग्राम पञ्चायत अगर्वा-६ कोडीगावा टोल बस्ने ५० वर्षीय उपेन्द्र साहलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बारा समेतबाट खटिएको प्रहरीले बिआर ०५ बि के ७०३५ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको छ।
सुनसरीको बराहक्षेत्र नगरपालिका-१ चतराबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ हजार १ सय ट्याब्लेट र स्पास्मो ५ सय ४० ट्याब्लेट सहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ५० वर्षीय राजु शर्मा र उनकै श्रीमती ३२ वर्षीया रिता शर्मा रहेका छन्। इलाका प्रहरी कार्यालय महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले राजुको गोठ तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।
यसैगरी सुनसरीको इनरूवा नगरपालिका-४ बसचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम २ मिलिग्राम सहित मोरङ सुन्दरहरैँचा नगरपालिका-६ बस्ने २४ वर्षीय कुमार राईलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
यसैगरी सुनसरीकै इनरूवा नगरपालिका-४ बसचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ४० मिलिग्राम सहित इटहरी उपमहानगरपालिका-१७ बस्ने २९ वर्षीय सोबित तामाङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
Facebook Comment