नुवाकोटका ३३ जना विपन्न बालिकालाई रक्षा नेपालको छात्रवृत्ति

डिसी नेपाल
१४ साउन २०८२ १७:१०
40
Shares

नुवाकोट । सामाजिक रुपान्तरणमा क्रियाशील संस्था रक्षा नेपालले नुवाकोटको बेलकोटगढी नगरपालिकाका वडा नम्बर २, ३ र ४ का रक्षा उज्वल किशोरी समूहका ३३ जना बिपन्न, दलित र जनजाति बालिकाहरूलाई छात्रवृत्ति वितरण गरेको छ।

शिक्षाबाट वञ्चित समुदायका बालिकाहरूलाई सहयोग गर्ने उद्देश्यले आयोजना गरिएको ‘रक्षा उज्वल किशोरी समूह’ को कार्यक्रम बेलकोटगढी ३ को वडा कार्यालयमा सम्पन्न भएको हो। छात्रवृत्तिको माध्यमबाट उनिहरूको शिक्षा यात्रालाई निरन्तता दिने उद्देश्य संस्थाको रहेको छ।

कार्यक्रममा रक्षा नेपालकी कार्यक्रम संयोजक दुर्गा पाण्डे, आवास गृह व्यवस्थापक गोमा थापा, बेलकोटगढी ३ की वडा अध्यक्ष कौशिला पुडासैनी, वडा सचिव हिरा कलौनी, र लक्ष्मिश्वरी माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण बिसुङकैको उपस्थिति थियो।

किशोरी समूह एउटा यस्ता उदीयमान युवतीहरूको सशक्तिकरण मंच हो, जहाँ उनीहरूले आफ्ना अधिकार बुझ्ने, सीप सिक्ने, आत्मविश्वासी बन्ने र समाज परिवर्तनको वाहक बन्ने अवसर पाएका छन्। हिँजो बोल्न नसक्ने किशोरीहरू अहिले खुलेर बोल्न थालेका छन् र आफ्नो हक अधिकारका लागि आवाज उठाउन थालेका छन्’ कार्यक्रममा बोल्दै वडा अध्यक्ष कौशिला पुडासैनीले भनिन्।

उनले रक्षा उज्वल किशोरी समूहले समाजमा व्याप्त बिकृति, बालविवाह, यौनजन्य हिंसा र लैंगिक असमानताविरुद्ध सडक नाटक, चेतनामूलक कार्यक्रम र संवादमार्फत जनचेतना फैलाउने कार्य गरिरहेको भन्दै त्यसको सामाजिक प्रभावका बारेमा पनि बताएकी थिइन्।

त्यस्तै, वडा नम्बर २ की सामाजिक मेलमिलापकर्ता तथा रक्षा उज्वल किशोरी समूह अन्तर्गत नुवाकोट जिल्ला सामाजिक परिचालिका कल्पना श्रेष्ठले यस्ता अभियानहरूले किशोरीहरूको आवाज बुलन्द हुन थालेको भन्दै यस्ता सामाजिक परिवर्तनका कार्यक्रमहरू प्रभावकारी भएको बताइन्।

‘हिजोका दिनमा बोल्न नसक्ने किशोरीहरू आज आफ्ना भावना र विचार स्पष्ट रूपमा व्यक्त गर्न सक्ने भएका छन्। यौनजन्य दुव्र्यवहारविरुद्ध आवाज उठाउने हिम्मत उनमा देखिन थालेको छ, जुन समाजको लागि सकारात्मक परिवर्तन हो,’ उनले भनिन्।

लक्ष्मिश्वरी माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण बिसुङकैले पनि किशोरीहरूको सक्रियता देखेर आफू हर्षित भएको प्रतिक्रिया दिए। ‘किशोरीहरू यसरी एकताबद्ध भएर समाजको हितका लागि अघि बढेको देख्दा गर्व लाग्छ। उनीहरूको यो परिवर्तनशील यात्रा प्रेरणादायी छ’ उनले भने।

रक्षा नेपालले विगत १० वर्षदेखि नुवाकोट जिल्लामा रक्षा उज्वल किशोरी समूह गठन गरी बिपन्न बालिका तथा महिलालाई शिक्षा, स्वास्थ्य, सीप विकास र कानुनी सहायता प्रदान गर्दै आएको छ। बितेको दस बर्षमा रक्षा नेपालले नुवाकोटको बेलकोटगढी नगरपालिकामा ‘रक्षा उज्वल किशोरी समूह’ मा रहेर हालसम्म ३१० जनाले विभिन्न आत्मनिर्भरताको तालीम लिएर, छात्रवृत्ति प्राप्त गरेर लाभान्वित भएका छन्। स्थानीय तहसँगको सहकार्यमा सञ्चालन भइरहेका यस्ता कार्यक्रमहरूले समुदायमै आधारित सामाजिक रूपान्तरणको आधार तयार गरिरहेको संस्थाको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.