भारत अमेरिकासँग व्यापार सम्झौता गर्न असफल, बंगलादेशले ट्यारिफ १७ प्रतिशत घटायोः युनुस

डिसी नेपाल
१८ साउन २०८२ ८:०५
612
Shares

ढाका। बंगलादेशका प्रमुख सल्लाहकार मुहम्मद युनुसले भारत अमेरिकासँग व्यापार सम्झौता गर्न असफल भएको बताएका छन्।

उनले अमेरिकासँग सहमति नहुँदा अब भारतले बंगलादेशको भन्दा बढि २५ प्रतिशत महसुल तिर्नुपर्नेसमेत बताएका छन् ।

अमेरिकाले बंगलादेशमा २० प्रतिशत कर लगाएको छ । यसअघि अप्रिलमा अमेरिकाले बंगलादेशमा ३७ प्रतिशत कर लगाएको थियो । यसको मतलब बंगलादेशले ४ महिनामा अमेरिकाबाट १७ प्रतिशत ट्यारिफ घटाउन सफल भएको थियो ।

युनुसले यसको श्रेय अमेरिकासँग ट्यारिफका बारेमा वार्ता गर्ने अधिकारीहरूलाई दिएका छन्। उनले यसलाई कूटनीतिक विजय भने र यसले बंगलादेशको कपडा उद्योगलाई बलियो बनाउनेसमेत बताएका छन् ।

युनुसले ट्वीटरमा पोष्ट गरेको विज्ञप्तिमा बंगलादेशले प्राप्त गरेको महशुल दर यसका कपडा उद्योगका प्रतिस्पर्धी श्रीलंका, भियतनाम, पाकिस्तान र इन्डोनेसियाले १९ र २० प्रतिशत बीचमा महसुल दर प्राप्त गरेकोसँग बराबर रहेको बताए । युनुसले समान महसुलले बंगलादेशको कपडा उद्योगमा कुनै असर नपर्ने बताए ।

यसै क्रममा बंगलादेशका राष्ट्रिय सुरक्षा सल्लाहकार तथा मुख्य वार्ताकार डा खलिलुर रहमानले भने, ‘हामीले उच्च महसुल तिर्नबाट जोगिन सफल भएका छौं। यो हाम्रो कपडा उद्योग र यसमा आश्रित लाखौं मानिसहरूको लागि खुसीको खबर हो। हामीले हाम्रो विश्वव्यापी भूमिकालाई पनि कायम राखेका छौं र विश्वको सबैभन्दा ठूलो उपभोक्ता बजारमा पुग्न नयाँ अवसरहरू खोलेका छौं।’

रहमानले थप भने, ‘हामीले आफ्नो देशको हितलाई ध्यानमा राखेर अमेरिकी अधिकारीहरूसँग कुरा गरेका थियौं। यो हाम्रो प्राथमिकता थियो, जो सफलसमेत हुन पुगेको छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.