पानी परेपछि मधेसमा धमाधम धान रोपाइँ

डिसी नेपाल
१९ साउन २०८२ १६:४२
64
Shares

जनकपुरधाम। पछिल्ला तीन दिनदेखि लगातारको वर्षाका कारण ढिलो भए पनि मधेस प्रदेशका किसानहरुले धान रोपाइँ सुरु गरेका छन्। पानीको अभावमा मधेस प्रदेशमा साउनको दोस्रो हप्तासम्म ५० प्रतिशत पनि धान रोपाइँ नभएकामा पानी परेपछि रोपाइँ ६३ प्रतिशत पुगेको मधेस प्रदेशको कृषि विकास निर्देशनालयले जनाएको छ।

पानी परेपछि देशको प्रदेशका आठवटै जिल्लामा धमाधम धान रोपाइँ भइरहेको निर्देशनालय वरिष्ठ बागवानी अधिकृत प्रदीप यादवले बताए। उनका अनुसार बारा र पर्सामा धान रोपाइँ सकिएको छ भने अन्य जिल्लामा धान रोपाइँ धमाधम भइरहेको छ।

लामो समयदेखि पानी पर्न नसक्दा प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरिएको छ। त्यसपछि प्रदेश सरकारले कृषिज्ञान केन्द्रमार्फत खेतीका लागि स्यालो ट्युबबेल वितरण सुरु गरेको छ। निर्देशनालयका अनुसार मधेस प्रदेशमा कूल तीन लाख ७२ हजार ६४५ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ।

विगतमा साउनको दोस्रो हप्तासम्ममा धानको रोपाइँ सकिने भएपछि यसपटक पानी नपर्दा ढिलाइ भएको हो। मधेस प्रदेशका जिल्लाहरुमा नदी, नहर, डिप ट्युबबेल बोरिङ तथा स्यालो ट्युबबेललगायत विभिन्न माध्यमबाट जमिनमा मात्र सिँचाइ सुविधा पुगेको तथा ६५ प्रतिशत खेतमा आकाशेपानीको भरमा धानखेती हुँदै आएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.