बबई नदीमा जल सतहले पार गर्‍यो खतराको तह

डिसी नेपाल
२० साउन २०८२ १३:०३
52
Shares

काठमाडौं । बबई नदीमा जल सतहले खतराको तह पार गरेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले बबई नदीमा जलसतह ७.१ मिटर पुगेको छ।

विभागका अनुसार बबई नदीमा ५.५ मिटर चेतावनीको तह र ६.८ मिटर खतराको तह मानिन्छ। खतरा तह पार गरेसँगै विशेष गरी बर्दिया र दाङमा बाढीको खतरा रहेकाले विभागले उच्च सतर्कताका अपनाउन आग्रह गरेको छ।

विभागका बाढीविद् विनोद पराजुलीले जिल्ला प्रशासन, स्थानीय तह तथा सर्वसाधारणलाई पूर्व सूचना दिएर सचेत रहन सन्देश पठाइएको जानकारी दिए। बबईसँगै महाकाली नदीको जलसतह पनि खतराको तहमा पुग्दै छ, उनले भने।

आज काभ्रेपलाञ्चोक, मकवानपुर, दाङ, बाँके, चितवन, कैलाली, कञ्चनपुर र आसपासका जिल्लामा बहने स-साना नदीहरूको जलसतह बढ्ने र आकस्मिक बाढीको उच्च जोखिम रहेको विभागले जनाएको छ।

आज बिहानको मापनअनुसार कर्णाली र महाकाली नदीको जलसतह सतर्कता आसपास छ भने कोशी, नारायणी, कमला, बाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीहरूको जलसतह सतर्कता तहभन्दा तल छ।

आज संखुवासभा, रामेछाप, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, सिन्धुली, उदयपुर, सर्लाही, रौतहट, बारा, पर्सा, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन, रुपन्देही, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, कपिलवस्तु, म्याग्दी, प्युठान, अर्घाखाँची, जाजरकोट, डोल्पा, रुकुम पश्चिम, दैलेख, कालीकोट, सुर्खेत, अछाम, बझाङ, डडेल्धुरा, डोटी, बैतडी, दार्चुला र आसपासका जिल्लामा बहने स-साना नदीहरूको जलसतह बढ्ने विभागले जनाएको छ।

साथै इलाम, झापा, ताप्लेजुङ, तेह्रथुम, पाँचथर, खोटाङ, ओखलढुंगा, भोजपुर, धनकुटा, मोरङ, सुनसरी, सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, धादिङ, नुवाकोट, रसुवा, स्याङ्जा, तनहुँ, पर्वत, गुल्मी, जुम्ला, मुगु, हुम्ला, बाजुरा र आसपासका जिल्लामा बहने स-साना नदीहरूको बहाव बढ्न सक्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहेको पूर्वानुमान गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.