एमालेमा विद्या भण्डारीको प्रवेश र निषेध

शंकरप्रसाद रिजाल
२३ साउन २०८२ ८:११
200
Shares

पूर्वराष्ट्रपति भइसकेको व्यक्ति फेरि राजनीतिमा फर्किनु हुन्छ कि हुँदैन भन्ने वहशले एक पटक नेपालको राजनीति तरंगित बन्न पुग्यो।

दुई पटकसम्म गणतान्त्रिक नेपालका राष्ट्रपति भइसकेकी जननेता मदन भण्डारीकी धर्मपत्नी तथा नेकपा एमालेकी पूर्व उपाध्यक्ष विद्या भण्डारी पुन पार्टीको राजनीतिमा फर्किने र भण्डारीलाई पार्टी राजनीतिमा फर्किनबाट रोक्ने पार्टीको निर्णयले एमाले मात्र नभइ नेपालको राजनीतिसमेत तरंगित बन्न पुग्यो।

राजनीतिमा फर्किन पूर्वराष्ट्रपतिको हैसियतले पाउने सम्पूर्ण सरकारी सुविधा त्याग गरिसकेकी भण्डारीलाई एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको दबावमा पार्टी राजनीतिमा फर्किनबाट रोकिएको छ।

लोकतान्त्रिक गणतन्त्रको शासन व्यवस्थामा नैतिकताको हिसावले पुनः राजनीतिको डण्डा समानेर बस्ने विषय उचित होइन। यद्यपि नेपालको संविधानले पूर्वराष्ट्रपति भइसकेको व्यक्तिलाई फेरि राजनीतिमा फर्किन कुनै प्रतिबन्ध लगाएको छैन। तर राष्ट्रपति बन्दा पार्टीको साधारण सदस्यतासमेत परित्याग गरेर सबैको साझा बन्नुपर्छ।

दुई कार्यकाल राष्ट्रको अभिभावक बनिसकेर केही विषयमा बाहेक विवादरहित भूमिका निर्वाह गरेकी भण्डारी पुनः राजनीतिमा फर्किनु राष्ट्रपतिको पद र नैतिकताका हिसावले अशोभनीय नै हो।

अझ कुनै दलमा आस्था राख्ने व्यक्तिलाई मुलुकको सबैभन्दा उच्च संवैधानिक पदमा आशिन गराउँदा उनीहरुले त्यसको गरिमा राख्न सक्दा रहेनछन् भन्ने पाठ विद्या भण्डारी राजनीतिमा सक्रिय हुन खोज्दा सिकाएको छ।

शालीन स्वभाव र व्यक्तित्व भएकी भद्र महिला एक्कासी राजनीतिमा पुन प्रवेश गर्ने सोच कसरी आयो भन्ने विषय विस्तारै खुल्दै जाला, तर यसले मुलुकको वर्तमान शासन व्यवस्थालाई फाइदा गर्दैन।

उनले एमालेमा रहेर सक्रिय राजनीति गरेको करिब ३० बर्ष भैसकेको छ। यसबीचमा उनी एमालेमा सक्रिय भइ पार्टीका विभिन्न पदमा रहेका काम गरेको, मन्त्री हुँदै दुई दुई पटक पहिलो राष्ट्रपति भइसकेको व्यक्ति फेरि किन राजनीतिमा सक्रिय हुनुपर्यो यो गम्भीर विषय हो।

एमालेले भण्डारीलाई राजनीतिमा आउन नदिने निर्णय गरिसकेपछि एमालेका नेताहरुले सार्वजनिक अभिव्यक्तिमा भण्डारीलाई सक्रिय राजनीतिमा आउन पार्टीभित्रबाट भन्दा पनि बाहिरका मानिसले उक्साएको बताउन थालेका छन्।

संयोग हो वा नियोजित विद्या भण्डारी चीन भ्रमणबाट फर्किएपछि पार्टी राजनीतिमा बढी सक्रिय भएकी थिइन्। सुरुमा भण्डारीको सक्रियतालाई स्वाभाविक रुपमा लिएका एमाले अध्यक्ष केपी ओलीले जब भण्डारी एमाले अध्यक्ष बन्ने दाउमा रहेका थाहा पाए, जब जसरी पनि उनलाई पार्टी राजनीतिमा आउनबाट रोके।

किनभने एमाले अझै एक कार्यकाल निर्विवाद अध्यक्ष बन्न चाहन्छन्। पार्टीभित्र आफ्ना विरोधीलाई निमिट्यान्न पारेका ओलीले भण्डारीले आफूलाई चुनौती दिने थाहा पाएरै उनलाई पार्टी राजनीतिमा आउनबाट रोकेकोमा कुनै शंका छैन।

ओली निकै चतुर नेता हुन्। उनी आफ्ना विरोधीलाई कुनै पनि वहानामा ठेगान लगाउन माहिर छन्। आफ्नै पहलमा माओवादीसँग एकता गरेर बनेको नेकपामा प्रचण्डले माधव नेपालदेखि झलनाथ खनाल र बामदेवलाई समेत साथ लिएर अप्ठेरो पार्न खोजेपछि पार्टी विभाजन गर्नेदेखि विरोधीलाई पार्टीमा बस्न नसक्ने अवस्थाको समेत सृजना गरे। आज माधव नेपाल, झलनाथ खनाल र बामदेवहरु एमालेमा छैनन्।

उनीहरुको बर्हिगनमपछि एमालेमा शक्तिशाली बनेका ओलीले विद्या भण्डारीको चुनौती सहने कुनै थिएन। जसका कारण नैतिकताको कुरा उठाएर एमालेमा आउन चाहेकी भण्डारीलाई तत्कालको लागि रोक्न सफल भएका छन्।

यतिबेला एमालेभित्र ओलीको निरंकुशताले सीमा नाघेको छ। पार्टीभित्र उनको विरोध गर्ने आँट कसैमा छैन। जसले उनको विरोध गर्यो, यसले पार्टी राजनीतिबाट हात हुनुपर्ने अवस्था। पार्टीभित्र उकुस मुकुसको अवस्था छ।

सो कुरा बुझेकी विद्या भण्डारीले ओलीको निरंकुशता तोड्न र सबै कम्युनिष्ट पार्टीलाई एकतावद्ध बनाउन पार्टीको सक्रिय राजनीतिमा फर्किने कोशिश गरेकी थिइन्। र पार्टीको प्रतिश्पर्धात्मक राजनीतिमा आउनु पूर्व नै उनलाई पाखा लगाउने र निषेध गर्ने काम भयो। यसो हुँदा ओली आजीवन पार्टी अध्यक्ष बनिरहन सक्ने भए।

यद्यपि राष्ट्रपति भइसकेको व्यक्तिलाई राजनीतिमा फर्किन संविधान र कानुनले नरोकेको अत्तो थापेर लेकतन्त्रमा जो पनि गर्न पाइन्छ भनेर आजीवन राजनीतिमा नै जीवन समर्पण गर्ने विचारलाई आदर्शवान मान्न सकिँदैन।

खोइ लोकतन्त्रको आभा र प्रकाश। खोइ जनताप्रतिको आस्था र देशको गौरवता? खोइ संविधानको मर्म र बिबेकता? यो सब आज कता र कसले नियन्त्रणमा लिएको छ? आज यही कारणले पार्टीमा खैलाबैला मच्चिरहेको छ।

यो रोग एमालेभित्र मात्रै होइन, अधिकांश कम्युनिष्ट पार्टीभित्र छ। माओवादी केन्द्रमा अध्यक्ष प्रचण्ड आजीवन अध्यक्ष बन्ने लाइनमा छन्। पार्टीभित्र नेतृत्वको आलोचना गरेको भन्दै जनार्दन शर्मालाई झण्डै स्थायी कमिटीले आत्मलोचना गर्न लगाएको थियो।

माओवादीमा अब उप्रान्त सार्वजनिक कार्यक्रममा नेतृत्वको आलोचना गर्न नपाउने निर्देशन जारी गरेको छ। कम्युनिष्ट पार्टीमा नेतृत्वमो वरीपरी बस्ने र सधैं लाभ लिइरहने प्रवृत्ति देखिन्छ।

आज नेपालका सबै जसो राजनीतिक पार्टीमा विरोधीलाई सक्ने आफू जसरी पनि पदमा रहिरहने प्रवृत्ति देखिन्छ, जसले गर्दा नैतिकता र मूल्यमान्यताको राजनीति समाप्त हुँदै आएको छ। पार्टीभित्र दुख गरेका कार्यकर्ता सधैं आझेलमा पर्ने र व्यापारी, ठेकेदार र पैसावालले पार्टी कब्जा गर्ने अवस्था सृजना भएको छ।

इमान र नैतिकताको राजनीतिक समाप्त हुने बाटोमा छ। इमान र नैतिकताको कुरा उठाउनलाई पार्टीले अनुशासनको डण्डा चलाउँछ। जसले गर्दा लोकतन्त्र मात्रै नभइ सिंगो मुलुक नै असफल बन्ने त होइन भन्ने प्रश्न उठ्न थालेको छ।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.