वैदिक ज्ञान र सांस्कृतिक चेतनाको पर्व-जनै पूर्णिमा (ऋषि तर्पणी)

वैदिक सनातनीहरुले अनादीकाल देखि मनाउँदै आएका चाडपर्व केवल रीतिरिवाज मात्र होइनन्, सामाजिक एकता, आर्थिक क्रियाशीलता र भावनात्मक सम्बन्धका प्रतीक हुन्। वर्षभरी आउने पर्वहरुले हाम्रो जीवनमा खुशियाली उमंग र रंग भर्छन्।
प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनै पूर्णिमा (ऋषि तर्पणी), रक्षावन्धन पर्व नव यज्ञोपवीत एवं रक्षावन्धन धारण गरेर मनाइन्छ। पूर्णिमाका दिन बिहान नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर यज्ञोपवीत (जनै) , रक्षाबन्धनलाई बिधिपुर्वक पूजा अर्चना गरि गुरु पुरोहितबाट रक्षासूत्र बान्ने चलन छ।
तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं रक्षासूत्र) धारण गर्दछन्। सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरि अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित वन, बिचलित नहोउ भनी धागो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेकोे रक्षाबन्धनको परम्परा हालसम्म कायम छ।
यसैकारण रक्षाबन्धन बाँध्दा गुरुले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षावन्धन बाँध्ने गरिन्छ।
मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको दाहिने नाडीमा बाँधिदिने चलन छ।ऋषित तर्पणीका दिन ब्राह्मण, क्षत्री र वैश्य गरी तीन वर्णका तागाधारीले आफ्नो जनै (यज्ञोपवीत) फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख छ।
यसका लागि श्रावण शुक्ल चतुर्दशीदेखि कपाल मुण्डन गरी एक छाक मात्र खाएर चोखोनीतो गरी बसिन्छ। यसरी व्रत बसेका तागाधारीले पूर्णिमाका दिन बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन र सप्तमृत्तिका लगाएर स्नान गर्दछन्। यसलाई श्रावणी स्नान पनि भनिन्छ। स्नानपछि जौ, तिल र कुशद्वारा ऋषिहरुलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै (यज्ञोपवीत) फेरिन्छ।
ऋषि तर्पणी शब्द दुई शब्दबाट बनेको हो ‘ऋषि’ र ‘तर्पणी’। ऋषिहरू महान ज्ञानी हुन् जसले वेद, उपनिषद्, स्मृति, पुराण जस्ता धर्मग्रन्थहरूको रचना गरे, योग, ध्यान र साधनाको बाटो देखाए। तर्पणी भनेको जल, अन्न, मन्त्र वा श्रद्धाका माध्यमबाट तीनीहरुलाई श्रद्धाञ्जली अर्पण गर्नु हो।
त्यसैले सनातनी हिन्दुहरुले जनै पूर्णिमाका दिन सप्तऋषि कश्यप, अत्रि, भारद्वाज, वशिष्ठ, विश्वामित्र, गौतम र जमदग्नि गरि सातऋषिलाई तर्पण गरेर आफ्नो जीवनमा वैदिक ज्ञान र संस्कारको सुरुवातको कृतज्ञता व्यक्त गर्दछन्।
यस अवसरमा यज्ञ, होम, ब्राह्मण भोज, मन्त्रपाठ, र पितृ तर्पण पनि गरिन्छ। यसैले ऋषि तर्पणीले हामीलाई हाम्रो जीवन केवल भौतिक उद्देश्यका लागि नभई, ज्ञान, सेवा र परोपकारको निम्ति पनि हो भन्ने सन्देश दिएको छ।
जनै वा यज्ञोपवित हिन्दू वर्णाश्रम धर्ममा द्विज (ब्राह्मण, क्षेत्री, वैश्य) जातिका पुरुषहरूले पहिरिनुपर्ने पवित्र धागो जनै हो। जनै तीनवटा डोराले बनेको हुन्छ,। सनातनीहरुले उपनयन संस्कारपछि मात्रै जनै लगाउने गर्दछन्।
तर प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन पुरानो जनै फेरेर नयाँ जनै धारण गरिन्छ। जनै फेर्दा “गायत्री मन्त्र“ को उच्चारण गरिन्छ, जसले आत्मबल र चित्तशुद्धिको मार्ग देखाउँछ।
जनैको महत्त्व र अर्थ
जनैमा तीनवटा धागो हुन्छन् !
प्रत्येक धागोमा तीन-तीन डोरा (नौ डोरा)
र तिनलाई जोडिने गाँठाहरू पाँचवटा हुन्छन्।
तीन धागोको अर्थ:
१. ब्रह्मा, विष्णु, महेश्वर त्रिमूर्तिको प्रतीक हो जनै!
२. भूत, वर्तमान र भविष्य तीन कालको सुचक हो जनै!
३. सत्व, रज, तम तीन गुणले युक्त हुन्छ जनै!
४. देव, पितृ, ऋषि तीन ऋणको बोध गराउँछ जनैले!
५. ब्रह्मचर्य, गृहस्थ र वानप्रस्थ तीन आश्रममा रहनेले जनै लगाउँछन्। (चौथो अर्थात सन्यासाश्रममा रहनेले जनै लगाउनु पर्दैन)
६. जनै लगाउनेले पाठ गर्ने गायत्री मन्त्रमा तीन चरण हुन्छन्।
अ. ‘तत्सवितुर्वरेण्यं’-प्रथम चरण!
आ. ‘भर्गोदेवस्य धीमहि’-द्वितीय चरण!
इ. ‘धियो यो न प्रचोदयात्’-तृतीय चरण!
७. देवलोक, भूलोक, पाताल तीन लोकको प्रतीक हो जनै!
८. मन, बुद्धि र अहंकार तीन सूक्ष्म तत्त्वलाई नियन्त्रण र निर्देशन गर्छ जनैले।
नौ डोराको अर्थः
१. मुख, दुई आँखा, नाकका दुई प्वाल, दुई कान, गुदा र उपस्थ (मुत्रद्वार) यति नौ द्वार (आधुनिक भाषामा भन्दा मानव शरीरका क्ष्लउगतरइगतउगत मभखष्अभ)लाई नियन्त्रण र निर्देशन गर्छ जनैले।
पाँच गाँठोको अर्थ :
१. ब्रहयज्ञ, देवयज्ञ, पितृयज्ञ, भूतयज्ञ र नृयज्ञ (अतिथि यज्ञ) यी पाँच यज्ञको फल प्राप्ति हुन्छ जनै लगाउँदा।
२. आँखा, कान, जिब्रो, नाक, छाला यी पाँच ज्ञानेन्द्रीयलाई चनाखो पार्ने शक्ति प्रदान गर्छ जनैले।
३. मुख, हात, खुट्टा, गुदा, जननेन्द्रीय यी पाँच कर्मेन्द्रीयलाई शुभ कार्य गर्न उर्जा प्रधान गर्छ जनैले।
४. धर्म, अर्थ, काम, मोक्ष र ब्रह्म यी पाँच पुरुषार्थ उजागर गर्ने शक्ति हुन्छ जनैमा।
५. वमन (उल्टी गरेर मुखबाट शरीरका दोष निकाल्ने), विरेचन (मलमूत्र मार्गबाट दोष निकाल्ने), बस्ती (औषधियुक्त द्रव्यहरू शरीरभित्र पठाउने), नस्य (नस लिने) र रक्ष मोक्षण (दुषित रगतलाई बाहिर निकाल्ने) यी पाँच कर्म गर्ने उर्जा पैदा गराउँछ जनैले।
जनैको लम्बाइ :
जनै लगाउने मान्छे ६४ कला र ३२ विद्यामा निपुण हुन्छ-हुनुपर्छ।त्यसैले जनैको लम्बाइ ३२ः६४ अर्थात् ९६ अङ्गुल हुन्छ-हुनुपर्छ।
३२ विद्या भित्र:
क. ४ वेद ऋक, यजु, साम, अथर्व!
ख. ४उपवेद धनुर्वेद, आयुर्वेद, गन्धर्ववेद, स्थापत्यवेद अर्थात् निर्माण र अभियान्त्रिकी
ग. ६ अंग- शिक्षा, व्याकरण, साहित्य, कल्प, ज्योतिष, छन्द!
घ. ६ दर्शन – न्याय, वैशेषिक, योग, साङ्ख्य, मिमांसा र वेदान त्यसैले हिन्दू संस्कृति अत्यन्तै पुरातन, वैदिक र परम्परामा रहेको छ। प्रत्येक चाडपर्व केवल धार्मिक आस्था र विश्वाससँग जोडिएको हुन्छ, त्यो समाजका मूलभूत मूल्य, जीवनशैली र दार्शनिक चिन्तनसँग पनि नजिकका सम्बन्ध राख्छ। यस्तै महत्वपूर्ण पर्व हो -जनै पूर्णिमा।
रक्षा बन्धनः आत्मीय सम्बन्धको प्रतीक
जनै पूर्णिमा हिन्दू समाजमा रक्षा बन्धनको पर्वका रूपमा पनि मनाइन्छ। विशेष गरी ब्राह्मण वा पुरोहितले यजमानलाई रक्षा सूत्र (डोरो) बाँधिदिन्छन् र उनीहरूको दीर्घायु, सुख-समृद्धिका लागि मन्त्र उच्चारण गर्छन्।
क्वाँटी खाने परम्पराः यस दिन वर्षाको खेतीपाती सम्पन्न गरेर पौष्टिक आहार गेडागुडि खाने चलन पनि छ।
नवधाने (नौथरी अन्न) को अंकुरितलाई क्वाँटी भन्ने चलन छ। यसदिन झोलयुक्त परिकार क्वाँटीमा मुग, मस्यौरा, चना, बोडी, राजमा, भटमास, सेम, मास र गेहूँजस्ता अन्न मिसाइन्छ। क्वाँटीले शरीरमा शक्ति, रोगप्रतिरोधक क्षमता र उर्जा प्रदान गर्छ।
आयुर्वेदिक दृष्टिले पनि क्वाँटी ‘सत्वगुण’ प्रदान गर्ने आहार मानिन्छ। यसले देखाउँछ कि हाम्रो परम्परा केवल धार्मिक पक्षमा सीमित छैन यसमा गहिरो वैज्ञानिक चेतना पनि लुकेको छ। जनै पूर्णिमाको दिन गोसाइँकुण्ड, पशुपतीनाथ ,बद्रीनाथ, अमरनाथ, जनकपुर, जस्ता थुप्रै तीर्थस्थलमा विशेष मेला लाग्ने गर्दछ।
जनै पूर्णिमा र ऋषि तर्पणीले केवल धार्मिक अनुष्ठान मात्र होइन, ज्ञान, कर्तव्य, सेवा र परोपकारको मार्गप्रति प्रतिबद्धता प्रकट गर्छ। यो पर्वले हामीलाई भौतिकभन्दा पर, आध्यात्मिक र नैतिक चेतनाको महत्त्व सम्झाइरहेको हुन्छ। रक्षा बन्धनले सम्बन्धलाई बलियो बनाउँछ भने क्वाँटीले शरीरलाई बलियो बनाउँछ। यसरी, यो पर्व जीवनका सबै पक्षलाई स्पर्श गर्ने अद्वितीय सांस्कृतिक पर्व हो।
Facebook Comment