अमेरिका पुगेका डाक्टरले जिम्मेवारीबाट दिए राजीनामा
काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीमा कार्यरत कार्डियोभास्कुलर विभागका प्रमुख तथा वरिष्ठ कन्सल्टेन्ट कार्डियाक सर्जन डा. रामेश कोइरालाले पदबाट राजीनामा दिएका छन्। उनले मंगलबार बिहान अमेरिकामा रहेको अवस्थामा सामाजिक सञ्जाल ‘एक्स’मार्फत राजीनामा पत्र सार्वजनिक गरेका हुन्।
डा. कोइरालाले २८ साउन २०८२ मा कार्यकारी निर्देशकलाई सम्बोधन गर्दै राजीनामा पत्र पठाएको छन्। ‘म हाल व्यक्तिगत कारणले अमेरिकामा छु। त्यसैले विभागीय प्रमुख र वरिष्ठ कन्सल्टेन्ट कार्डियाक सर्जनका पदमा निरन्तरता दिन असमर्थ छु। हाल विदेशमा रहेकाले विद्युतीय इमेल वा हस्ताक्षर प्रमाणिकरण गर्न असमर्थ रहेको र १६ अक्टोबर २०२५ अघि केन्द्रमा उपस्थित हुन नसक्ने भएकाले ३० असोज २०८२ देखि लागू हुने गरी राजीनामा स्वीकृत गर्न र सोबारे सञ्चालक समितिलाई समेत अवगत गराउन आग्रह गर्दछु,’ उनले भनेका छन्।
सो अवधिबीच आफूले उपयोग गर्दै आएको कार्यकक्षमा आफ्नो व्यक्तिगत सामान तथा कागजातबाहेक केन्द्रका कुनै जरुरी वा गोप्य कागजात नरहेकाले हस्तान्तरणसम्म पर्खिदिन उनको आग्रह छ।
उनले केन्द्रमा कार्यरत नरहे पनि यसको प्रगतिमा गगन थापा, प्रदीप पौडेल, केन्द्रका अधिकारी तथा शुभेच्छुकको सपना बमोजिम संघीय सरकारले यस केन्द्रलाई ‘मुटुबाट बिस्तार गरी’ यसै वर्षदेखि ‘शहीद गंगालाल राष्ट्रिय हृदय तथा स्नायु केन्द्र’का रूपमा देशलाई गौरवान्वित हुने मौका दिनेमा आफू विश्वस्त रहेको बताएका छन्। उनले यस्ता हरेक कार्यमा सल्लाह–सुझावका लागि आफू सधैँ उपलब्ध रहने प्रतिबद्धता जनाएका छन्।
२५ वर्षको सेवाकाललाई स्मरण गर्दै उनले केन्द्रमा बिताएको समय र प्राप्त सद्भावको सदा सम्झना रहने उल्लेख गरेका छन्।







डिसी नेपाल








Facebook Comment