अन्तर्राष्ट्रिय आईटी युवा सम्मेलन २०२५ : विश्वभरका नेपाली युवालाई भर्चुअल डिजिटल रूपमा जोड्ने अभियान
काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले विश्वभरका नेपाली युवालाई डिजिटल प्लेटफर्ममार्फत एकीकृत गर्ने उद्देश्यसहित ‘अन्तर्राष्ट्रिय आईटी युवा सम्मेलन २०२५’ आयोजना गर्ने भएको छ।
आगामी भदौ १ गते (१७ अगस्ट, २०२५) साँझ ५ बजेदेखि ९ बजेसम्म भर्चुअल माध्यमबाट हुने उक्त सम्मेलनमा एक करोडभन्दा बढी नेपाली युवाको सहभागिता अपेक्षा गरिएको छ।
संगठनका प्रवक्ता निरोज पौडेलका अनुसार ‘कनेक्टिङ नेपाली युथ ग्लोबल्ली’ नारासहितको यस वर्षको सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नेछन्। कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री माननीय पृथ्वी सुबा गुरुङ, डिजिटल पूर्वाधार विज्ञ डा. सुदन झा र साइबर सुरक्षाविद् प्रो. मोशे वाय. वार्डी (राइस विश्वविद्यालय)लगायतका प्रतिष्ठित वक्ता सहभागी हुनेछन्।
कार्यक्रममा नेपालको डिजिटल नीति, सूचना प्रविधि क्षेत्रमा सम्भावना र चुनौती, अन्तर्राष्ट्रिय अनुभव, रोजगारी तथा उद्यमशीलताको अवसरबारे छलफल हुनेछ। साथै, विश्वभर रहेका नेपाली युवा नवप्रवर्तन र प्रविधिमा आधारित सफलताका कथाहरू प्रस्तुत गरिनेछन्।
सम्मेलनमा अनलाइन दर्ता निःशुल्क हुनेछ र नेपाली तथा अंग्रेजीमा प्रत्यक्ष अनुवाद सुविधा उपलब्ध हुनेछ। सम्पूर्ण कार्यक्रम जुम, फेसबुक लाइभ र युट्युव लाइभमार्फत प्रसारण गरिनेछ। सहभागी सबैलाई ई-प्रमाणपत्र प्रदान गरिनेछ।
राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेले यो सम्मेलन डिजिटल नेपालको भविष्य निर्माणतर्फ एक महत्वपूर्ण कदम हुने बताएका छन्। उनका अनुसार यो केवल भर्चुअल कार्यक्रम मात्र होइन, विश्वव्यापी युवाको साझा आन्दोलन हो, जसले नेपालको डिजिटल भविष्यलाई युवा नेतृत्व र सहकार्यमार्फत अगाडि बढाउनेछ।







डिसी नेपाल








Facebook Comment