चितवनका तीन जनामा जापानिज इन्सेफलाइटिस
चितवन। सन् २०२५ मा हालसम्म चितवनका तीन जनामा जापानिज इन्सेफ्लाइटिस (जेई) को संक्रमण देखिएको छ। जुलाइमा एक र अगष्टमा दुई जनामा यो रोगको संक्रमण देखिएको हो।
स्वास्थ्य निर्देशनालय हेटौँडाका कीट नियन्त्रक उत्तम प्याकुरेलका अनुसार सन् २०२५ यता बागमती प्रदेशमा चार जनामा जापानिज इन्सेफ्लाइटिसको संक्रमण देखिएको छ। जसमध्ये एकजना सिन्धुली र तीनजना चितवनका छन्। यो रोगको संक्रमण फेब्रुअरीदेखि देखिने भए पनि हाल संक्रमणको जोखिमको समय सुरु भएको उनले बताए।
सन् २०२४ मा बागमती प्रदेशका सात जनामा यो रोगको संक्रमण देखिएको थियो । जसमा चिवनका तीन, सिन्धुलीका दुई र काठमाडौंका दुई जना थिए। अहिले यो रोगको संकमण देखिने समय भएकाले सबैलाई सजग रहन उनले आग्रह गरेका छन्। यो रोग क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने कीटजन्य सरुवा रोग हो। यो लामखुट्टेले सुङ्गुर, बङ्गुर, हाँस जस्ता पशुपक्षीलाई टोक्यो भने सर्दछ। मानिसबाट मानिसमा यो रोग नसर्ने उनले बताए।
यस रोगको संक्रमण भएमा अचानक उच्च ज्वरो आउने, टाउको दुख्ने, वान्ता हुने, शरीर काम्ने, घाँटी अररो हुने, बेहोस हुने लक्षण देखा पर्छ। यो रोग लागेपछि पक्षघात हुने, अपाङ्गता हुने र अन्त्यमा मृत्युसमेत हुन सक्दछ। यो रोग लागेको कुनै लक्षण देखिनासाथ बिरामीलाई नजिकको अस्पतालमा लगेर उपचार सुरू गर्न जनस्वास्थ्य कार्यालय चितवनले आग्रह गरेको छ।
जापानिज इन्सेफ्लाइटिसबाट बच्न लामखुट्टेको टोकाइबाट बच्ने, घरवरिपरी पानी जम्ने खाल्डाखुल्डी पुर्ने, बालबालिकालाई यो रोगविरुद्धको खोप लगाउने, सुङ्गुर, बङ्गुर, हाँस जस्ता घरपालुवा पशुपक्षीलाई व्यवस्थित तरिकाले घरदेखि टाढा पाल्ने, सम्भव भएसम्म घरको झ्याल ढोकामा मसिनो जाली हाल्ने गर्नुपर्छ।







डिसी नेपाल








Facebook Comment