लम्पि स्किनविरुद्धको खोप अभियान सञ्चालन गरिने

डिसी नेपाल
२८ साउन २०८२ २०:२६
52
Shares

चितवन। जिल्लामा पशुचौपायमा देखिएको लम्पि स्किनरोग नियन्त्रणका लागि खोप अभियान सुरू गरिने भएको छ। आगामी भदौ १ देखि साताव्यापी खोप अभियान सञ्चालन गर्न लागिएको हो।

बागमती प्रदेश सरकारको सहयोगमा खोप अभियान सञ्चालन गर्न लागिएको पशुसेवा कार्यालयले जनाएको छ । कार्यालयकी सूचना अधिकारी डा सविना मिश्रका अनुसार प्रदेश सरकारबाट प्राप्त खोप सातै स्थानीय तहमा वितरण गरी पशुलाई लगाइने छ। प्रदेश सरकारले १३ जिल्लामा अभियानको रूपमा लम्पि स्किनविरुद्धको खोप अभियान सञ्चालन गर्न लागेको जनाइएको छ।

जिल्लामा दुई हजार डोज खोप बाँकी छ। अभियानका लागि थप १० हजार डोज खोप प्रदेशबाट आउँदै छ। उनले भनिन्, ‘अहिले १२ हजार डोज खोप लगाउँदै छौँ।’ सातै स्थानीय तहमा गाईभैँसीमा यो खोप लगाइने छ। रोग लागिसकेका, गोठमा रोग देखिएका पशुलाई खोप नलगाइने उनले जानकारी दिइन्। स्थानीय तहमा खोपकर्ता नियुक्त गरी पठाउने तयारी गरिएको छ।

जिल्लामा हालसम्म ६१ हजार ७९९ पशुमा लम्पि स्किनविरुद्ध खोप लगाइ सकिएको छ। भरतपुर महानगरपालिकामा १४ हजार ८९६, खैरहनी नगरपालिकामा आठ हजार २००, राप्ती नगरपालिकामा १४ हजार ५००, रत्ननगरमा आठ हजार ६०० पशुमा खोप लगाइएको छ।

माडी नगरपालिकामा दुई हजार ८००, कालिका नगरपालिकामा नौ हजार ९७८, इच्छाकामना गाउँपालिकामा दुई हजार ८२५ पशु चौपायमा लम्पि स्किनविरुद्धको खोप लगाइसकिएको छ। उनका अनुसार जिल्लामा हालसम्म एक हजार ११६ गाईभैँसीमा यो रोग देखिएको छ। कार्यालयका तथ्यांक अनुसार हालसम्म ४५ गाईगोरु लम्पि स्किनका कारण मरिसकेका छन्।

गर्मीयाममा लामखुट्टे, झिङ्गालगायतका कारण यो रोगको प्रकोप देखिने गरेको मिश्रले जानकारी दिइन्। गाईभैँसीमा यो रोग देखापरेमा उच्च ज्वरो आउने, दानापानी कम खाने, दूध उत्पादन घटाउने, छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रो गोलो गिर्खा देखिने, ओठ, मुख र नाकभित्र घाउ देखिने, आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ आउने, ¥याल काढ्ने, लिम्फनोड सुक्नेजस्ता लक्षण देखा पर्दछन्।

संक्रमित गाईवस्तुको ओसारपसारबाट, सामुदायिक चरन क्षेत्र तथा दाना एवं पानी खाने ठाउँबाट, प्राकृतिक वा कृत्रिम गर्भाधानबाट यो रोग सर्ने गरेको कार्यालयले जनाएको छ। यो रोग लाग्न नदिन खोप लगाउने, विश्वसनीय स्रोतबाट गाईभैँसी खरिद गर्ने, गोठलाई झिङ्गा, लामखुट्टे तथा अन्य कीराबाटमुक्त राख्ने, सरसफाइमा ध्यान दिने र आवश्यकतानुसार कीट विकर्षकको प्रयोग गर्नुपर्ने उनले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.