आहा! मनमोहक दामोदरकुण्ड

डिसी नेपाल
२९ साउन २०८२ १३:१०
28
Shares

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङको ४ हजार ८८० मिटर उचाइमा अवस्थित एक पवित्र कुण्ड दामोदरकुण्ड। काली गण्डकी र शालीग्रामको उद्धमस्थल मानिने दामोदरकुण्ड हिन्दु धर्मावलम्बीका लागि निकै महत्त्वपूर्ण रहेको छ।

दामोदरकुण्डमा जनैपूर्णिमा पर्वका अवसरमा मेला लाग्ने गर्छ। धार्मिक पर्यटनका हिसाबले प्रशस्त सम्भावना भए पनि भौगोलिक विकटताका कारण दामोदरकुण्डमा राज्यको नजर पर्न सकेको छैन।

कालीगण्डकी नदीको उद्गमस्थल दामोदरकुण्ड मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाको–४ को भूगोलमा पर्छ। यहाँ स्नान गर्नाले आध्यात्मिक सन्तुष्टि मिल्नुका साथै मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ।

कालीगण्डकीमा मात्र पाइने शालिग्राम शिलालाई हिन्दू धर्मावलम्बीले भगवान् विष्णुका रूपमा पुज्ने गर्दछन्। दामोदर हिमशृङ्खलाको फेदीमा रहेको यस स्थल धार्मिक र प्रकृतिको मनोरम सङ्गम हो।

मौसम र वातावरणीय हिसाबले जेठदेखि साउनसम्म दामोदरकुण्ड जान उपयुक्त हुन्छ। पाँचवटा कुण्ड रहेको दामोदरकुण्ड स्नानका लागि जनैपूर्णिमा र चैतेदसैंका दिन भक्तजन बढी सङ्ख्यामा जान्छन्।

भक्तजनले दुईवटा ठूला कुण्डमा स्नान गर्ने गर्दछन्। कुण्ड वरिपरि कुशको हरियाली छ। उच्च भूभागमा पाइने यहाँको कुशको विशेष धार्मिक महत्व छ।

कालीगण्डकी करिडोरको जोमसोम–कोरला सडक हुँदै अपर मुस्ताङको चराङसम्म पुगेपछि त्यहाँबाट दुई घण्टाको सवारीसाधनको यात्रापछि यारागाउँ पुग्न सकिन्छ। यारा गाउँबाट माथि झुमा ठाटीसम्म सडक पुगे पनि राम्रो नभएकाले भक्तजन याराबाट नै घोडाको यात्रा गर्दछन्।

याराबाट करिब नौ घण्टा घोडाको यात्रापछि दामोदरकुण्ड पुग्न सकिन्छ। सडक यातायात, सञ्चार र बसोबासको राम्रो व्यवस्था नभएका कारण दामोदरकुण्डको यात्रा जोखिमयुक्त र कठिन हुने गरेको छ।

भक्तजनको सुविधाका लागि लोघेकर दामोदरकुण्ड गाउँपालिकाले धर्मशाला र पिउने पानीको व्यवस्था मिलाएको छ। असारदेखि साउनसम्म धर्मशालामा निःशुल्क भोजनको व्यवस्था मिलाइएको हुन्छ।

वरपरका सेता हिमचुचुराले घेरिएको दामोदरकुण्डको उपत्यका सुन्दर र मनमोहक देखिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.