पाँच सचिवको सरुवा, को कहाँ?
मकवानपुर । बामगती प्रदेश सरकारअन्तर्गत विभिन्न मन्त्रालयका पाँच सचिवको सरुवा गरिएको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७२ सहसचिवहरूको सरुवा गर्दा बागमती प्रदेश सरकारअन्तर्गतका मन्त्रालयका पाँच सचिवको सरुवा गरेको हो।
संघीय मन्त्रिपरिषद्को निर्णयअनुसार साउन २६ मा राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) वा सो सरहका ७२ जना कर्मचारीको सरुवा तथा पदस्थापन गरिएको थियो। जसअनुसार बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव उदयबहादुर राना मगर, आर्थिक मामिला तथा कानुन मन्त्रालयका सचिव कृष्णप्रसाद मैनाली, सामाजिक विकास मन्त्रालयकी सचिव विनु बज्राचार्य, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव अमृत श्रेष्ठ र खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालयका सचिव मोहन शाक्यको सरुवा गरिएको छ।
राना गत २०८१ फागुनमा मात्र बागमती प्रदेशमा सरुवा भएर आएका थिए। उनको प्रधानमन्त्री कार्यालय अन्तर्गत सरुवा भएको छ।
करिब १५ महिनादेखि बागमतीमा कार्यरत सचिव मैनालीको संघीय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा भएको छ भने २०८० भदौबाट कार्यरत सचिव श्रेष्ठको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सिंहदरबारमा सरुवा भएको छ।
त्यस्तै गत फागुन १५ मा सरुवा भइ बागमती प्रदेशमा हाजिर भएकी सचिव बज्राचार्यको गृह मन्त्रालय अन्तर्गत सरुवा गरिएको छ। उनको ५ महिनामै सरुवा भएको हो।
गत २०८१ असोजमा बागमती प्रदेशमा हाजिर भएका सचिव शाक्यको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय कर्णाली प्रदेशमा सरुवा भएको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अन्य चार जना सहसचिवलाई बागमतीको सचिवमा सरुवा गरेर पठाएको छ। जसमा प्रमुख कर प्रशासकका रूपमा मध्यमस्तरीय करदाता कार्यालय काठमाडौंमा कार्यरत पार्वती शर्मा, युवा तथा खेलकुद मन्त्रालय लुम्बिनीमा कार्यरत बलराम ढकाल, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय कर्णालीमा कार्यरत इन्द्रदेव भट्ट, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय कर्णाली प्रदेशमा कार्यरत इश्वरचन्द्र मरहठ्ठा बागमती प्रदेश आउने भएका छन्।







डिसी नेपाल







Facebook Comment