सौर्य एयरलाइन्सको दुर्घटनाबारे संसदीय समितिमा छलफल

डिसी नेपाल
२९ साउन २०८२ १३:३१
48
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २०८१ साउन ९ गते दुर्घटना भएको सौर्य एयरलाइन्सको (नाइनएन–एमइ, सिआरजे २००) विमानको विषयमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा छलफल भएको छ। समितिमा वायुयान दुर्घटनाको जाँचबुझ प्रतिवेदनमाथि विस्तृत समीक्षा भएको हो।

छलफलका क्रममा सौर्य एयरलाइन्स दुर्घटना छानबिन समिति अध्यक्ष रतिशचन्द्र लाल समुनले दुर्घटनाका प्रमुख कारणहरूमाथि प्रकाश पारे। उनले दुर्घटनाग्रस्त जहाज मर्मतसम्भार (मेन्टिनेन्स) को लागि उडाइएको थियो र त्यस क्रममा अत्यधिक सामग्री लोड गरिएको बताए।

उनका अनुसार, ‘टुल्स र स्पेयर पाट्र्ससहितका भारी सामग्रीहरू इन्जिनियरिङ फ्लाइटको क्रममा जहाजमा लोड गरिएको थियो। लोडिङको जिम्मेवारी ग्राउण्डह्यान्ड र डिपार्टमेन्टको हो भने पनि, यो कार्य इन्जिनियरका सहायकहरूले आफैंले गरेका थिए। जसरी पायो, त्यसरी लोड गरिएको देखिन्छ। कार्गो कम्पार्टमेन्टमा नअटाउने सामग्री यात्रु क्याविनमै राखिएको थियो,’ उनले भने।

उनले थपे, ‘फ्लाइट इन्ट्रल (आन्तरिक) भएकाले यात्रुहरूले आफ्नो समान आफैं लोड गरेकाले पनि चेकजाँचमा कमजोरी देखिएको छ। मौसमसम्बन्धी अवस्था भने काठमाडौं र पोखरामा सामान्य नै थियो।

छलफलका क्रममा दुर्घटनामा आफ्ना तीन सन्तति गुमाएका प्रकाश खतिवडाले छानबिन प्रतिवेदनप्रति गम्भीर असन्तुष्टि जनाए।

उनले भने, ‘नेपालको १०९ वटा विमान दुर्घटनाको इतिहासमा सौर्य एयरलाइन्सको यो दुर्घटना छुट्टै प्रकृतिको हो। प्रतिवेदनले ह्युमन फ्याक्टरलाई जिम्मेवार देखाए तापनि, यसमा अवैधानिक गतिविधिहरू समेत भएको पाइएको छ।’

खतिवडाका अनुसार, सौर्य एयरलाइन्सले ४ वर्षको नातिलाई कर्मचारीका रूपमा जहाजमा राखेको थियो भने ऊर्जा मन्त्रालयमा कार्यरत उनकी छोरीलाई पनि कम्पनीको कर्मचारी बनाएर जहाजमा उडाइएको थियो।

उनले भने, ‘उक्त उडान, यात्रुहरू र एयरलाइन्स कम्पनीको हर्कत पनि अवैधानिक छ। ४ वर्षको नातिलाई किन सौर्य एयरलाइन्सको कर्मचारी बनाइयो ? ऊर्जा मन्त्रालयमा कार्यरत आफ्नी छोरीलाई समेत सौर्य एयरलाइन्सको कर्मचारी बनाएर जहाज उडाइयो। किन कर्मचारी बनाइयो ? न्यायिक जाँच आयोग बनाएर अनुसन्धान गर्नुपर्छ। न्याय र क्षतिपूर्तिको सुनिश्चित गर्न पनि जाँच आयोगको आवश्यक छ।’

साउन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको उक्त दुर्घटनामा १८ जनाको ज्यान गएको थियो। मृतकमध्ये प्रकाश खतिवडाका ज्वाइँ, छोरी र नाति पनि थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.