लम्पी स्किन नियन्त्रणको लागि प्रदेशव्यापी खोप अभियान सञ्चालन
मकवानपु। बागमती प्रदेश सरकारले लम्पी स्किन रोग नियन्त्रण तथा रोकथामका लागि भाद्र १ देखि ७ गतेसम्म प्रदेशव्यापी खोप अभियान सञ्चालन गर्ने भएको छ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलनमार्फत उक्त जानकारी दिएको हो।
अभियानको उद्घाटन ललितपुरको कोञ्ज्योसोम गाउँपालिका–१ मा कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसुदन पौडेलले गर्ने कार्यक्रम तय भएको छ।
यस वर्षको अभियानअन्तर्गत प्रदेशका १३ वटै जिल्लाका १ लाख २० हजार पशुलाई खोप लगाइने लक्ष्य राखिएको मन्त्रालयका वरिष्ठ पशु विकास अधिकृत डा. राम प्रकाश प्रधानले बताएका छन्।
सबैभन्दा बढी चितवनमा ३० हजार, मकवानपुरमा २५ हजार, काभ्रेपलाञ्चोकमा १४ हजार, नुवाकोट र सिन्धुलीमा १२–१२ हजार, धादिङमा ११ हजार, ललितपुरमा १० हजार र दोलखामा ६ हजार डोज खोप पठाइने भएको छ। खोपको आपूर्ति संघीय सरकारले गर्नेछ भने खोप लगाउने खर्च बागमती प्रदेश सरकारले व्यहोर्नेछ।
असार र साउन महिनामा मात्रै लम्पी स्किन रोगका कारण प्रदेशमा ७४ पशुचौपायाको मृत्यु भएको छ भने १ हजार ६३३ पशुमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। विशेष गरी मकवानपुर, सिन्धुली, काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकमा रोगको संक्रमण बढी देखिएको छ।
यो रोग लागेपछि पशुको दुध उत्पादन २५ देखि ६५ प्रतिशतसम्म घट्ने गरेको छ। मन्त्रालयका अनुसार गत आर्थिक वर्षमा ७१ हजार ९७७ पशुलाई र आर्थिक वर्ष २०८०-८१ मा ४८ हजार ३६४ पशुलाई लम्पी स्किन रोगविरुद्ध खोप लगाइएको थियो। बागमती प्रदेशमा वार्षिक ४ लाख ८१ हजार ७ सय मेट्रिक टन दूध उत्पादन हुने गरेको छ।
पत्रकार सम्मेलनमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव वैकुण्ठ अधिकारी पशु निर्देशनालयका निर्देशक गौरीमान श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।







डिसी नेपाल







Facebook Comment