पाल्पाको भगवती जात्राको अवसरमा प्रदेश सरकारले दियो सार्वजनिक बिदा
तानसेन (पाल्पा)। नेपाल-अङ्ग्रेज युद्धमा विजय हासिल गरेको सम्झनामा पाल्पामा निकालिने ऐतिहासिक भगवतीको रथसहितको सिन्दुरजात्राको तयारी पूरा भएको छ। यसवर्ष आइतबार २०६औँ भगवती खट यात्राका रूपमा विजयोत्सव निकाल्न लागिएको हो।
प्रत्येक वर्ष यहाँ श्री ७ रणउजिरेश्वरी भगवती गुठी व्यवस्थापन समितिले विजयोत्सवस्वरुप ऐतिहासिक भगवती जात्रा (रथयात्रा) निकाल्ने गरेको छ। यस वर्षको भगवती जात्राको तयारी पूरा भएको समितिका अध्यक्ष अशोककुमार महर्जनले जानकारी दिए। रथयात्राले भगवतीको महिमाको प्रचारप्रसार र धार्मिक पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउने विश्वास गरिएको उनले बताए।
तत्कालीन नेपाली सेनाका पाल्पा कमाण्डर कर्णेल उजिरसिंह थापाले युद्धमा जानुअघि युद्ध जितेमा तीनतले मन्दिर बनाइ भगवतीको सिन्दुरजात्रा गर्ने भाकल गरेको किंवदन्ती छ। युद्धमा विजयी भएपछि कर्णेल थापाले विसं १८७७ देखि कृष्ण जन्माष्टमीको भोलिपल्ट विजय उत्सवस्वरुप भगवती जात्रा मनाउन थालेको र सोही परम्परा हालसम्म चल्दै आएको समितिका अध्यक्ष महर्जनले बताए।
जात्राका अवसरमा आइतबार प्रदेश सरकारले सार्वजनिक बिदासमेत दिएको छ। विसं २०८१ चैत १४ गते प्रदेश मन्त्रिपरिषद्को निर्णयअनुसार बिदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ।







डिसी नेपाल







Facebook Comment