बस्तीमा बाढी पस्दा १० घर डुबानमा

डिसी नेपाल
३१ साउन २०८२ १९:५३
96
Shares

सिन्धुली् यहाँको दुधौली नगरपालिका– १ गिचिहानीको बस्तीमा बाढी पसेपछि १० घर डुबानमा परेका छन्। त्यसक्रममा ५९ वर्षीया भन्द्राकुमारी दनुवार घाइते भएकी छन्।

आज दिउँसो अविरल वर्षापछि विचित्रा खोलामा आएको बाढी बस्तीमा पसेको थियो। अचानक घरमा बाढी पसेपछि भाग्ने क्रममा घाइते भएकी दनुवारलाई उद्धार गरी उपचारको लागि दुधौली नगर अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए।

डुबानले दनुवारको घर, गाईगोठ, ध्यानवतीकुमारी दनुवार, बुद्धलाल कुमार, आशा अधिकारी दनुवार, लक्ष्मीकुमारी दनुवार, संगीता थापा, शिवनाथ दनुवार, निसा दनुवार, बृर्जलालकुमार दनुवार र केदार गिरीको एक तले घरमा बाढी पसेको उनले जानकारी दिए। बस्तीमा बाढी पसे पनि मानवीय क्षति भने नभएको र पीडितहरूका लागि अस्थायी आवासको व्यवस्थापन गर्ने कार्य भइरहेको प्रहरी उपरीक्षक सुवेदीले बताए।

यसैबीच जिल्ला प्रशासन कार्यालयले जिल्लामा मनसुन सक्रिय रहेकाले वर्षातका कारण विपद्को अवस्था सिर्जना हुनसक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले बिपी राजमार्गको सिन्धुली खुर्कोट सडक खण्डमा सञ्चालन हुने सवारीसाधनलाई भदौ १ गते देखि १५ गतेसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालनमा पुनः रोक लगाइएको जानकारी दिए।

स्थानीय प्रशासनले गत साउन १ गतेदेखि रातिको समयमा सवारी सञ्चालन गर्न रोक लगाउँदै आएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.