माग गरेबमोजिम कारागारमा स्थानान्तरण गरेर कैदीबन्दीको व्यवस्थापन गरिँदै

डिसी नेपाल
३१ साउन २०८२ २१:२२
80
Shares

सुदूरपश्चिम। कैलाली कारागारमा भएको झडपको घटनापछि कैदीहरूले माग गरेअनुसार स्थानान्तरण गरेर व्यवस्थापन गरिने भएको छ। घाइतेहरूभई उपचार गरेर फर्किएपछि कैदीहरूले मागबमोजिमका कारागारमा स्थानान्तरण गरेर व्यवस्थापन गर्ने काम भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

अस्पतालबाट उपचार गरी फर्किए पनि थप समय स्वास्थ्यलाभ गर्नुपर्ने अवस्थालाई दृष्टिगत गरी तत्कालका लागि कैदीबन्दीले रोजेअनुसार अन्य कारागारमा पठाएर व्यवस्थापन गर्ने काम भइरहेको प्रशासकीय अधिकृत शिवराज जोशीले जानकारी दिए।

उनले भने, ‘डिस्चार्ज भए पनि उहाँहरूलाई स्वास्थ्यलाभ गर्न थप समय चाहिने भएकाले त्यस पक्षलाई ध्यान दिएर तत्कालका लागि रोजेको कारागारमा पठाएर व्यवस्थापन गरिरहेका छौँ, कतिपयलाई कञ्चनपुर र डडेल्धुरा कारागारमा पठाएर व्यवस्थापन गरिरहेका छौँ।’ हालसम्म अस्पतालबाट उपचार गरेर फर्किएकामध्ये छ जनालाई अन्य जिल्लामा पठाइसकिएको जोशीले जानकारी दिए।

यही साउन २३ गते राति कैदीबन्दीबीच भएको झडपका एक जनाको मृत्यु र ४९ जना घाइते भएका थिए। तीमध्ये गम्भीर घाइते कर्ण सलामी मगर, कल्पेस विष्ट र आयुस भट्टको काठमाडौंमा उपचार भइरहेको छ।

सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररतमध्ये नौ जनाबाहेक सबै फर्किइसकेका छन्।

घटनाको छानबिन गर्न गठित समितिका सदस्यसचिव जोशीले घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिए। घटनाको छानबिनका लागि सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो। सुदूरपश्चिम प्रदेश सरकारले घटनामा मृत्यु भएका चौधरीका परिवारलाई रु पाँच लाख सहयोग गर्ने निर्णय गरिसकेको छ।

घटनापछि सरकारले कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाललाई फिर्ता गरेर कृष्णप्रसाद लम्साललाई जिम्मेवारी तोकेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.