७ वर्षदेखि सुनुवाइ टारिरहेका गाउँपालिका उपाध्यक्षविरुद्धको मुद्दाको आज सुनुवाइ

डिसी नेपाल
१ भदौ २०८२ ११:१४
208
Shares

काठमाडौं । उच्च अदालतबाट दोषी ठहर भएर सर्वोच्च अदालतमा पुनरावेदनका लागि गएका लागूऔषध कारोबारका आरोपी दावा लामा भनिने जितेन्द्रमान तामाङको मुद्दामा आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ ।

उच्च अदालतबाट दोषी ठहर भइसकेपछि सर्वोच्चमा पुनरावेदन गरेर मुद्दा ‘विचाराधीन रहेको’ लुपहोल प्रयोग गरेर उनी यसबीचमा गाउँपालिका उपाध्यक्ष निर्वाचित भइसकेका छन् । सर्वोच्च अदालतमा सुनुवाइ भएर उनी दोषी ठहर भए भने उनी गाउँपालिका उपाध्यक्षबाट बर्खास्त हुनेछन् ।

स्रोतका अनुसार उनको मुद्दा निकै कमजोर छ र उनी दोषी ठहरिने सम्भावना उच्च छ । दोषी ठहरिए बर्खास्त भएर जेल जानुपर्ने अवस्थामा उनले मुद्दा स्थगित गराउने वा राजनैतिक शक्ति प्रयोग गरेर मुद्दालाई इजलासको पछिल्लो क्रममा पारेर हेर्न नभ्याइने अवस्था सिर्जना गर्ने गरेको आरोप लाग्ने गरेको छ । विगत ७ वर्षमा उनको मुद्दा पटक पटक पेशी तोकिएर पनि सुनुवाइ हुन सकेको छैन ।

दावा लामा काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाका उपाध्यक्ष हुन् । उनी नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार भएर निर्वाचित भएका हुन् । उनी २०७९ मा निर्वाचित भएका हुन् जतिबेला उनको मुद्दा सर्वोच्चमा विचाराधीन अवस्थामा रहेको ३ वर्षभन्दा धेरै भइसकेको थियो । यसबीचमा सुनुवाइ भएर उनी दोषी ठहरिएको भए उनी उम्मेदवार नै बन्न पाउने थिएनन् ।

लामा पहिले ‘गुण्डानाइके’ रहेको र पछि राजनीतिमा लागेको बताइन्छ । उनीविरुद्ध लागूऔषध कारोबार गरेको आरोप छ । लामालाई २०७१ मा प्रहरीले काठमाडौंबाट १४.८० ग्राम अवैध लागूऔषध खैरो हेरोइनसहित पक्राउ गरेको थियो । उच्च अदालतमा उनको साथबाट लागूऔषध बरामद भएको पुष्टि भएपछि उनलाई ५ वर्ष कैद र ५ हजार जरिवानाको सजाय सुनाएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.