सुत्केरीलाई घर घरमा औषधी उपचार

डिसी नेपाल
१ भदौ २०८२ १६:१०
172
Shares

बर्दिया । बर्दियाको बारबर्दिया नगरपालिकाले घर घरमा सुत्केरी चेकजाँचको सुविधा दिएको छ। गत आर्थिक बर्ष २०८१/८२ मा सुत्केरी भएका ८७३ जना सुत्केरी आमालाई चेकजाँच र औषधी उपचार सेवा लिएका छन्।

सुत्केरी भइसकेपछि नगरपालिकाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीबाट कम्तीमा दुई पटक सुत्केरी आमा र बच्चाको चेकजाँच गरिन्छ।

सुत्केरी भएर घर गई सकेपछि सुत्केरी भएको तीन दिनमा र सात देखि १४ दिनमा चेकजाँच गरिन्छ। आमा र बच्चाको स्वास्थ्यमा समस्या देखिएमा सामान्य उपचार घरमै गरिन्छ भने थप उपचारका लागि नगर अस्पतालमा पठाउने गरिएको छ।

सुत्केरी हुँदा घरमा नै सेवा पाउँदा सहज भएको बारबर्दिया नगरपालिका वडा नं ३ खुरखुरेकी सोनिया बान्तवाले बताए। उनले तीन पटकसम्म स्वास्थ्यकर्मी चेकजाँच गर्न आएको भन्दै आमा र बच्चालाई समस्या परेको समयमा चेकजाँच भएको हुँदा सहज भएको बताए।

बारबर्दिया नगरपालिका वडा ३ बेलवावज्जाकी रेश्मा थारूलाई पनि सुत्केरी चेकजाँच गर्दा सहज भएको बताए। आमा र बच्चालाई चेकजाँच गरि सल्लाह सुझाव दिएको हुनाले सहज भएको उनले बताए।

आमा र बच्चालाई समस्या देखिएमा औषधी उपचार गर्ने र नजिकको स्वास्थ्य संस्थामा जानका लागि सल्लाह दिने गरिएको सिनियर अनमी सुनिता कँडेलले बताइन। उनले कतिपय आमा र बच्चा त नर्मल अवस्था रहेका हुन्छन् भने कतिपयमा त विभिन्न समस्या देखिने गरेको बताइन्।

सिनियर अनमी कँडेलका अनुसार घरमा सामान्य कुराहरू नजान्दा र ख्याल नगर्दा आमा र बच्चालाई समस्या पर्ने गरेको छ। गर्मीमा समेत बच्चालाई कपडामा गुम्स्याएर राख्ने, अँध्यारो र धुँवा भएको कोठामा राख्ने, आमा र बच्चालाई ननुहाइदिने गरेको पाइन्छ। त्यसैगरी आमालाई खाना बारेर पर्याप्त पोषिलो खानेकुरा खान नदिने, आमाको टाँका फुस्केने वा पाक्ने, बच्चाको नाभि पाक्ने, बच्चा घाममा नराखेको कारण पहेलो देखिने गरेको समेत पाइएको उनले बताए। सिनियर अनमी कँडेलका अनुसार सुत्केरी मध्ये ४० प्रतिशतमा विभिन्न समस्या देखिने गरेको र १० प्रतिशत नगरअस्पतालमा रेफर गर्नुपर्ने पाइने गरेको छ।

बारबर्दिया नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गोविन्द पौडेलले विगत ३ बर्ष यता सुत्केरी र नवजात शिशुको चेकजाँचका लागि सबै ठाउँमा स्वास्थ्यकर्मी पठाउने गरेको बताए।

गत बर्षदेखि थप कडाइका साथ लागु गरेको हुनाले ८ सय ७३ जना सुत्केरीले सेवा पाएको बताए। आमा र बच्चाको स्वास्थ्यलाई मध्येनजर गर्दै सेवा थप गर्दै जाने योजना रहेको उनले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.