न्यायको पर्खाइमा दोरम्बा हत्याकाण्डका पीडित परिवार

डिसी नेपाल
१ भदौ २०८२ १६:५९
116
Shares

रामेछाप । २०६० साल साउन ३२ गते दोरम्बाको खरिढुंगामा नेपाली सेनाले माओवादीका नेता कार्यकर्तालाई नियन्त्रणमा लिएर डाँडाकटेरीमा लगेर बीभत्स हत्या गर्‍यो।

सामूहिक हत्या गरेको २२ वर्ष भयो, तर पीडित परिवारले अहिलेसम्म न्याय पाएको छैन। दोरम्बा घटनामा २१ जनाको हत्या भएको थियो। जसमध्ये १९ जनाको एकै ठाउँमा सामूहिक हत्या भएको थियो भने दुई जना घटनास्थलमा मानै मारिएका थिए।

तत्कालीन शाही नेपाली सेनाका मेजर मेजर राममणि पोख्रेलको नेतृत्वमा गएको सेनाको टोलीले युद्धविरामको बेला मिटिङ बसिरहेका माओवादी नेताहरूको सामूहिक हत्या गरेको थियो।

सरकार र माओवादीबिच दाङको हापुरेमा वार्ता चलिरहेको बेला रामेछाप स्थित नारायण दल गुल्मबाट गएको सेनाको टोलीले तत्कालीन दोरम्बा गाविस‍-२ का युवराज मोक्तानको घरमा माओवादीहरू बैठकमा बसी रहेको बेला नियन्त्रणमा लिई एक जनालाई घटनास्थलमा नै र बाँकी १९ जनालाई तत्कालीन डडुवा गाविस-९ को डाँडाकटेरीमा मा पुर्‍याएर गोली हानी सामूहिक हत्या गरेको थियो।

अर्की एक माओवादी कार्यकर्ताको शव घटनास्थलभन्दा केही तल फेला परेको थियो। सोही घटनापछि माओवादीहरू वार्ता भङ्ग गरी पुनः सशस्त्र युद्धमा फर्किएका थिए।
माओवादीहरू सो ठाउँमा जम्मा हुँदै छन् भन्ने थाहा पाएपछि नारायण दल गुल्म रामेछापका गुल्मपति मेजर राममणि पोख्रेल आफैं ०६० साउन ३१ गते राति सेनाको एउटा टोली लिएर दोरम्बा पुगेका थिए।

सेनाको ब्यारेकबाट १४ घण्टा भन्दा टाढाको पैदल दुरीमा रहेको सो स्थानमा युद्धविरामको समयमा सेना पुग्छ भन्ने माओवादीहरूले पनि सोचेका थिएनन्। रामेछाप बजारबाट राति हिँडेको सेनाको टोली बिहान खाँडादेवी र दिमिपोखरी गाविसको सिमानामा पर्ने गाल्बा बजारमा पुग्यो। त्यहाँबाट एक घण्टा टाढा पर्ने दोरम्बा बजार तर्फ लागेको सेना दोरम्बामा युवराजको घर खोज्दै गएका स्थानीय बताउँछन्।

सेनाको टोली घटनास्थलमा पुग्दा माओवादीहरू बैठकमा थिए। बैठक स्थलको सुरक्षाको लागि माओवादी कार्यकर्ता दोरम्बा गाविस–१ का टेकबहादुर थापा घरको बाहिर खटिएका थिए। सेनाले घरमा घेरा हाल्ने बित्तिकै उनलाई त्यहीँ गोली हानेर ढाल्यो। बाहिर गोली चलेको थाहा पाए पछि भित्र खैलाबैला मच्चियो।

पार्टीका जिल्ला इञ्चार्ज ललितपुर जिल्ला निवासी ललित भनिने हरिप्रसाद दाहाल र रामेछापका मैनकुमार मोक्तान मदन हामफालेर भागे भने बाँकी सबै घर भित्रै थिए। युद्धविरामको बेला भएकाले हातहतियार विना जम्मा भएका माओवादीहरूले सेनाको प्रतिकार गर्न सकेनन्। उनीहरूले गिरफ्तारी दिए।

सेनाले १९ जनालाई एकै ठाउँबाट गिरफ्तार गर्‍यो। घरबेटी युवराज मोक्तान र उनका छोरा लीला मोक्तान तथा माओवादीका तत्कालीन जिल्ला जनसरकार प्रमुख बेथान गाविस निवासी पुष्प भनिने बाबुराम तामाङ, सोही पार्टीकी ललितपुर जिल्ला इकुडोल गाविस–६ निवासी ललिता भनिने अम्बिका दाहाल, रामेछापको बेथान गाविस–५ का रक्तिम भनिने प्रदीप दोङ, डडुवा गाविस–४ की सङ्गीता थामी, फुलासी गाविस –८ का यथार्थ भनिने हर्कबहादुर तामाङ, गेलु गाविस-५ का समीर भनिने रवि चौहान, चनखु गाविस–३ की सहारा भनिने उमा कार्की, चनखु गाविस–९ इन्क्लाव भनिने श्याम तामाङ, पुरानागाउँ–८ का असल भनिने पदमराज गिरी, दोरम्बा–१ की विमा भनिने विष्णुमाया थापा, दोरम्बा गाविस –३ का छोक्पा भनिने ठुलोराम तामाङ, तारा भनिने सानोराम तामाङ, छाया भनिने लक्ष्मण तामाङ, धनुषा जिल्ला घर भएका जमिन, सोलु जिल्ला घर भएकी विमला भनिने हर्कलक्ष्मी राई, काभ्रे जिल्ला चौबासका सोम, डडुवा–५ का समीर भनिने चतुरमान थामी सेनाको गिरफ्तारीमा परे।

गिरफ्तार गरिएकाहरूलाई दोरम्बा बजारमा पुर्‍याएर डोरी लिई दुवैहात पछाडि बाँधेर डोर्‍याउँदै लगियो। दोरम्बा बजारका मानीहरू सबैलाई ढोका थुनेर भित्र बस्न सेनाले निर्देशन दियो। हात बाँधिएका १९ जनालाई डोर्‍याउँदै त्यहाँबाट १ घण्टा टाढा पर्ने डडुवा गाविस–९ को डाँडाकटेरी भन्ने ठाउँमा पुर्‍याइ बाटो छेउको चौरमा लाइन लगाएर हात बाँधेकै अवस्थामा एक एक गर्दै गोली हानेर सबैको हत्या गरी छाडिएको थियो।

सेनाले हत्या गरेर त्यतिकै छाडेका ती लासहरूलाई माओवादीहरूले आएर गाडेर गएकामा डाक्टर हरिहर बस्तीसहितको राष्ट्रिय मानवअधिकार आयोगको टोलीले चिहान खोतलेर पोष्टमार्टम गरेको थियो। सो घटनामा हराएकी एकजना महिला उषाको शवपछि घटना भएको घर अगाडि खोल्सामा मृत अवस्थामा फेला परेको थियो।

राष्ट्रिय मानवअधिकारले सो घटनामा राष्ट्रिय र अन्तराष्ट्रिय सबै खाले कानुनको उल्लङ्घन गरेको ठहर गरेको थियो। घटनामा सेना दोषी भएको ठहर भई सक्दा पनि पीडितका परिवारले भने न्याय पाउन सकेका छैनन्। सो घटनामा मारिएका पदमराज गरीका छोरा मन्थली–८ का कपिलराज गिरीको मानसपटलमा अहिले पनि सो घटना जस्ताको तस्तै छ।

पीडित परिवारले न्यायको माग गर्दै उजुरी गर्न मिल्ने जति सबै ठाउँमा उजुरी गरिसक्दा पनि न्याय नपाएको गुनासो गरेका छन्। माओवादी नेता टङ्कलाल घिसिङको सहजिकरणमा उजुरी गरेको भए पनि पीडकलाई हालसम्म कारबाही नभएको गिरीको गुनासो छ।

दोरम्बा हत्याकाण्डपछि केही समयपछि शान्ति सम्झौता भयो। २०६४ को निर्वाचनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार बन्यो। त्यस पछि पनि पटक पटक माओवादी नेतृत्वमा सरकार बन्यो। तर दोरम्बा घटनाका पीडितले न्याय पाएनन्। ‘सरकारमा पुगे पनि आफ्नै पार्टीले आफ्नै सहिद र परिवारलाई सम्झेन’, कपिलको गुनासो छ।

यस वर्ष पनि २२ औँ दोरम्बा स्मृति दिवसको अवसरमा रामेछाप सदरमुकाम मन्थलीमा अन्तरक्रिया कार्यक्रम आयोजना भयो। नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समितिको आयोजनामा भएको कार्यक्रममा विभिन्न दलका प्रतिनिधि, मानवअधिकारकर्मी र पीडित परिवार सहभागी भए। हत्यारालाई कारबाही हुनुपर्ने कुरा उठाएर तर दोषी माथि कारबाहीको कुनै प्रक्रिया अघि बढेको छैन।

मृतकको सम्मानमा हत्या गरिएको स्थान दोरम्बाको डाँडाकटेरीमा डोरमणि पौडेले मुख्यमन्त्री र रामेछापकै कैलाशप्रसाद ढुङ्गेल वाग्मती प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री हुँदा सालिक बनाइएको छ। मृतकलाई सहिद घोषणा गरिएको छ। पीडित परिवारले केही राहत पाएका छन्। तर उनीहरूले २२ वर्ष बित्दा पनि न्याय भने पाउन सकेका छैनन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.