डेउडा प्रतिष्ठानद्वारा प्रदेश सरकारलाई ओल्को

डिसी नेपाल
१ भदौ २०८२ २०:५१
44
Shares

काठमाडौं । डेउडा प्रतिष्ठानले आज सुदूरपश्चिमको मौलिक पर्व ओल्केको अवसरमा आज सुदूरपश्चिमका सामाजिक विकासमन्त्री मेघराज खड्का मार्फत प्रदेश सरकारलाई ‘ओल्को’ प्रदान गरेको छ।

डेउडा प्रतिष्ठानका अध्यक्ष सुरत रावत ‘डोटेली कान्छा’को नेतृत्व प्रतिष्ठानका पदाधिकारीसहितको टोलीले शाब्दिक शब्दसहितको ओल्को प्रदान गरेको हो। ओल्कोका रुपमा गाभा,पिडालुलगायत फलफूलसहित प्रदेश सरकारलाई ५ बुँदे मागसहितको शाब्दिक ओल्को हस्तान्तरण गरिएको संस्थाका उपमहासचिव प्रेमबिबश चन्दले बताए।

श्रष्टाको हकहितका निम्ति श्रष्टा कल्याणकारी कोषको स्थापना, प्रादेशिय संगीत सेन्सरबोर्डको स्थापना, प्रादेशिय भाषा आयोगको स्थापना, प्रादेशिय प्रज्ञा प्रतिष्ठानमा संशोधित ऐन बमोजिम तत्काल पदाधिकारी चयन, सांस्कृतिक संग्रहालयको स्थापनालगायतका बुदाँसहितको शाब्दिक ओल्को हस्तान्तरण गरिएको संस्थाका सचिव बिष्णु भक्त खैरले बताए।

प्रदेश सरकारलाई शाब्दिक ओल्को हस्तान्तरणका क्रममा संस्थाका अध्यक्ष डोटेली कान्छाले ओल्को सहित ५ बुँदे माग पनि पढेर सुनाएका थिए। ‘प्रदेश सरकारले यी कार्यान्वयन गरिदिएको खण्डमा हामी हाम्रा सम्पूर्ण स्रष्टाहरूलाई हाम्रा अभिभावकले दिनुभएको प्रत्युपहार सम्झने छौं,’ उनले भने।

ओल्के पर्वमा ‘ओल्को’ बोकेर मान्यजनको दर्शनभेट, आशीर्वाद ग्रहण तथा विपद्कालमा बाँचेको खुसियालीमा शुभकामना आदानप्रदान गर्ने चलन छ। विपद्कालमा बाँचेकै खुसियालीमा परापूर्वकालदेखि नै हरेक वर्ष भदौ एक गतेको सुदूरपश्चिमेलीले ओल्के पर्व मनाउँदै आएका छन्।

जानकारका अनुसार परापूर्वकालमा वैशाखदेखि साउनसम्मको समयलाई विपत्तिको समय मानिन्थ्यो। जुन समयमा बाढीपहिरो, आँधीबेहरी आउने, अनेक किसिमका रोगव्याधी तथा महामारी फैलने सम्भावना उच्च हुन्छ। यस्तो संकटग्रस्त समयमा मरिन्छ कि भनेर वैशाख सक्रान्तिमा बिशु मनाउने र बाँचेको खुसियालीमा भदौ सक्रान्तिमा ओल्के मनाउने प्रचलन रहिआएको छ।




प्रतिक्रिया

One thought on “डेउडा प्रतिष्ठानद्वारा प्रदेश सरकारलाई ओल्को

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.