एमालेले पार्टीमा फर्किन प्रतिबन्ध लगाएसँगै देश दौडाहामा विद्या भण्डारी

डिसी नेपाल
२ भदौ २०८२ ७:३९
304
Shares

काठमाडौं। दुई कार्यकाल राष्ट्रप्रमुखको भूमिका निर्वाह गरेकी पूर्वराष्ट्रपति विद्या भण्डारी सक्रिय राजनीतिमा फर्किएसँगै देश दौडाहामा लाग्ने भएकी छिन्।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेभित्र छिर्न नै प्रतिबन्ध लगाएपछि झन् आक्रामक बनेकी विद्या अब प्रदेशहरुमा राजनीतिक गतिविधि अघि बढाउने तयारीमा रहेकी छिन्।

उनी आफ्नो जननी पार्टी एमालेमा फर्कनका लागि पूर्वराष्ट्रपतिको हैसियतमा पाइने सरकारी सेवा सुविधा सबै त्याग गरेकी भण्डारीलाई एमालेले पार्टी राजनीतिमा फर्किनबाट रोकेपछि भण्डारी देश दौडाहामा जाने भएकी हुन्।

विद्याका पति मदन भण्डारीको जनताको बहुदलीय जनवाद (जबज) को सिद्धान्तलाई टेकेर ओली यहाँसम्म आए पनि अहिले आएर आफ्नो पद असुरक्षित हुने भएसँगै अध्यक्ष ओलीले भण्डारीलाई पार्टी राजनीतिमा आउनबाट रोकपछि उनी देश दौडाहामा जाने तयारीमा जुटेकी हुन्।

आफूलाई साथ दिने नेतालाई पार्टीले कारवाही गर्न थालेपछि क्रुद्ध बनेकी भण्डारी मदन भण्डारी फाउनण्डेशनको व्यानरमा राजनीतिमा सक्रिय भएकी छन्। आफूले जतिसुकै त्याग गरेर आएपनि ओलीले पार्टी सदस्यता नै निष्क्रिय बनाइदिएपछि भण्डारीको पार्टीमा औपचारिक रुपले सक्रिय हुने अवस्थाको अन्त्य भएको छ।

मदन भण्डारीले दिएको पार्टीे सदस्यता कसैले खान नसक्ने र आफू सक्रिय रहने उद्घोष गरेकी विद्याले राजनीतिक गतिविधिलाई अघि बढाउने भएकी हुन्। भण्डारी निकट स्रोतका अनुसार भण्डारी आज सोमबारदेखि नै प्रदेश स्तरीय कार्यक्रममा सरिक हुँदैछिन्।

सोमबार कोशी प्रदेशको विराटनगरमा जाने तयारीमा छिन्। त्यहाँ उद्घोष दैनिक पत्रिकाले आयोजना गरेको कायक्रममा जाने भण्डारीले एमालेका नेता तथा कायकर्तासँग भेटघाट गर्ने छिन्। उनले कोशीमा केही दिन बिताउने तयारी गरेकी छिन्।

त्यस्तै भदौ १४ गते मधेस प्रदेशको वीरगञ्जमा पनि भण्डारी जान भएकी छिन्। वीरगञ्ज उद्योग वाणिज्य संघले आयोजना गरको कार्यक्रममा सहभागीतासँगै उनले त्यहाँ पनि राजनीतिक भटघाट गर्ने छिन्।

यसैगरी  भण्डारीले भदौ पाँच गते थापा गाउँमा मदन भण्डारी ७५ औं जन्म जयन्ती मुल व्यवस्थापनि समितिको कार्यालयको उद्घाटन गर्ने कार्यक्रम छ।

राष्ट्रपति बन्नु अघिसम्म विद्या भण्डारीको एमालेभित्र बलियो पकड थियो। पति मदन भण्डारीको निधनपछि दुई दशकमा उनलाई एमालेले पाँच पटक टिकट दियो।

मदनको निधनपछि २०५० सालमा काठमाडौं-१ मा भएको उपनिर्वाचन, २०५१ को मध्यावधि निर्वाचन, २०५६ सालको आमनिर्वाचनमा विद्या निवार्चित भइन्। २०६४ सालमा उनी पराजित भइन्। २०७० सालमा सविधानसभाको समानुपातिक सांसद भइन्।

राजकीय जिम्मवारीतर्फ पनि छोटो समयमा भण्डारील धेरै उपलब्धि हासिल गरेकी छिन्। २०५३ सालमा उनलाई पार्टीले स्वास्थ्य तथा जनसंख्यामन्त्री बनायो। २०६६ सालमा सांसद नहुँदा पनि उनलाइ एमाले रक्षामन्त्री बनायो।

२०५४ सालमा एमालेको केन्द्रीय सदस्य भएकी भण्डारी २०६५ सालमा उपाध्यक्ष भइन्। २०७१ मा दोस्रो पटक उपाध्यक्ष भइन्। २०५५ सालदेखि निरन्तर तीन कार्यकाल उनलाई एमालेले अखिल नेपाल महिला संघका केन्द्रीय अध्यक्ष बनायो।

अनि २०७२ सालमा पार्टीकै अरू कैयन् आकांक्षीलाई पन्छाएर उनलाइ राष्ट्रपति बनायो। २०७४ मा फरि सोही पदमा दोहो¥यायो। यसरी हेर्दा भण्डारीलाई पार्टीले अन्याय ग¥यो भन्ने ठाउँ कतै पनि नरहेको एमालेका एक नेताले बताए।

‘त्यसैले शिखरमा पुगिसकेकी उनल अब ओरालो यात्रा गर्न सुहाँदैन, ती नेताले भने, ‘बरु आफ्नोसँगै गणतन्त्र र राष्ट्रपति पदको गरिमा उचो राख्ने दायित्वमा उहाँमा छ।’

राष्ट्रपति पदबाट बाहिरिने अघिल्लो साँझ २०७९ फागुन २८ गते भण्डारीले दलका शीर्ष नेताहरूलाई बोलाएर धन्यवाद दिनुका साथै राजनीतिमा फर्कने संकेत गरकी थिइन्। त्यसै बेला केही नेताले राजनीतिमा फर्किने भण्डारीको संकेतलाई सकारात्मक भनेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.