नकारात्मक भाष्य निर्माण गरी समाजलाई दिग्भ्रमित पार्ने कोसिस भइरहेका छन्ः सभापति देउवा
पाटन (ललितपुर)। नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पुराना पार्टीहरूले केही गर्न सकेनन् भन्ने अतिरञ्जित र नकारात्मक भाष्य निर्माण गरी समाजलाई दिग्भ्रमित पार्ने कोसिस भइरहेको बताएका छन्।
पार्टीको शुभेच्छुक संस्था समन्वय विभागद्वारा आज केन्द्रीय कार्यालय सानेपामा आयोजित अन्तरक्रिया तथा तीजको शुभकामना आदानप्रदान कार्यक्रममा उनले यस्ता भाष्य र चुनौतीहरूलाई चिर्दै अझ बढी सशक्त र क्रियाशील हुन आवश्यक रहेको बताए।
सभापति देउवाले कुनै पनि भ्रममा नपरी आगामी दिनमा पार्टीलाई बलियो बनाउन लाग्नुपर्नेमा जोड दिए। ‘कांग्रेसले लामो संघर्ष, बलिदान र आन्दोलनमार्फत नेपालमा बहुदलीय लोकतन्त्र, मानव अधिकार, प्रेस स्वतन्त्रता र नागरिक स्वतन्त्रताको जग बसाएको छ’, उनले भने, ‘शुभेच्छुक संस्थाहरू पार्टीको मूल्य, मान्यता, आदर्श, नीति तथा कार्यक्रमहरूलाई जनस्तरसम्म पुर्याउने आधारशिला हुन्। समाजका विविध क्षेत्र र पेसामा क्रियाशील व्यक्तिहरूको श्रम र योगदानकै कारण कांग्रेसलाई सशक्त बनाउन सम्भव भएको छ। यसलाई थप बलियो बनाउन यहाँहरूको भूमिका महत्त्वपूर्ण हुनेछ।’
सभापति देउवाले पार्टीका सबै भ्रातृ एवं शुभेच्छुक संस्थाहरूलाई क्रियाशील र गतिशील बनाउँदै पार्टीभित्र बृहत् एकता कायम गरी आगामी निर्वाचनमा बहुमत ल्याई स्थिरता दिनुपर्ने बताए।
देशमा रहेका विभिन्न पर्वहरूमध्ये हरितालिका तीज नेपाली महिलाहरूको विशेष पर्व भएको उल्लेख गर्दै उनले चेलीहरू माइत आउने र पारिवारिक सम्बन्धलाई हार्दिक बनाउन भूमिका निर्वाह गर्ने दृष्टिले पनि यस पर्वको विशेष महत्त्व रहेको धारणा राखे।







डिसी नेपाल







Facebook Comment