जलविद्युत आयोजनाको ड्यामसाइडमा पहिरो खस्दा दुईको मृत्यु
म्याग्दी। म्याग्दीको रघुगंगा गाउँपालिका-४, दग्नामको महभीरस्थित रघुगंगा जेपिए निर्माणाधीन जलविद्युत आयोजनाको ड्याम नम्बर १ मा पहिरो खस्दा दुईजना कामदारको घटनास्थलमै मृत्यु भएको छ।
सोमबार दिउँसो एक्कासी महभीरबाट पहिरो खस्दा ड्याम नम्बर १ मा काम गरिरहेका दुई जनाको मृत्यु हुनुका साथै पाँचजना घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।
पहिरोमा पुरिएर मृत्यु हुनेमा बागलुङको तमानखोला गाउँपालिका-१, बुङ्गादोभानका २२ वर्षीय सुजन बुढामगर र चितवन घर भएका अन्दाजी ४६ वर्षीय लालबहादुर सुनारको मृत्यु भएको म्याग्दीका प्रहरी नायव उपरीक्षक सुर्यबहादुर थापाले बताए।
यसैगरी पहिरोमा पुरिएर गम्भीर घाइते हुनेहरुमा भारतको गोपालगञ्जका ५३ वर्षीय धरम कुसवाहा, सोही ठाउँका ५५ वर्षीय भैयाराम चौधरी र रोल्पाको सुनछहरी गाउँपालिका-३, पाङवाङका ३३ वर्षीय सुमान पुनमगर रहेको प्रहरी नायव उपरीक्षक थापाले बताए।
गम्भीर घाइते भएका तीनजना कुसवाहा, चौधरी र पुनलाई प्रदेश अस्पताल बेनीमा प्राथमिक उपचार गरी थप उपचारको लागि पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा रिफर गरिएको प्रहरीले जनाएको छ।
त्यस्तै सर्लाहीको बागमती नगरपालिका-५, राजघाटका ५५ वर्षीय गणेशबहादुर मगर तथा बारा जिल्लाको निजगढ नगरपालिका घर भएका ४० वर्षीय कुमार थापामगर सामान्य घाइते हुनुभएको छ । सामान्य घाइते भएका मगरद्वयको प्रदेश अस्पताल बेनीमा उपचार भैरहेको छ।
घाइतेहरुको टाउको, हातखुट्टा, मेरुदण्ड र शरिरको भित्री भागमा चोटपटक लागेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन्।







डिसी नेपाल







Facebook Comment