इन्जिनियरबाट फोटो पत्रकारसम्म : संयोगले बदलिदिएको सुशीलको जीवन
काठमाडौं। प्रविधिको विकासले नेपालमा फोटो पत्रकारिता र फोटोग्राफी बन्दै गएको छ। एन्ड्रोइड मोबाइल सेटमा हाइ मेगापिक्सलको क्यामेराका कारण सजिलै तस्विर खिच्ने सुविधा दिएपछि सामान्य व्यक्तिहरु पनि फोटोग्राफीप्रति अभ्यस्त बन्दै गइरहेका छन्।
तर सुशील श्रेष्ठले रिलवाला क्यामेराबाटै आफ्नो यात्रा सुरु गरे। प्रविधिको विकाससँगै क्यामेरा पनि एडभान्स फिचरका बजारमा आए। सुशीलले रिलदेखि चिपसम्मको क्यामेराबाट सयौं तस्विरहरु कैद गरिरहेका छन्। ‘मैंले क्यामेरा चलाउन सुरु गर्दा क्यामेरा दुर्लभ र कम क्षमताका हुन्थे। फिल्म(रिल) हालेर फोटो खिच्नुपर्ने र धुलाएर मात्र परिणाम देख्न पाइने प्रक्रिया निकै खर्चिलो र समयसापेक्ष हुन्थ्यो,’उनले विगत स्मरण गर्दै भने।
यही कठिन समयमै एउटा संयोगले एक व्यक्तिको जीवन नै परिवर्तन गरिदियो। इन्जिनियरिङ पृष्ठभूमि भएका सिराहा मिर्चैयाका श्रेष्ठ फोटोग्राफी हुँदै फोटो पत्रकारितामा सक्रिय छन्। ‘लामो समय केयर इन्टरनेसनल नेपालमा काम गरें। पछि युनिसेफलगायत अन्तर्राष्ट्रिय संस्थामा समेत काम गरें। १९९५ सालतिर बाजुरामा खटिएका बेला एक सहकर्मीको फिल्म क्यामेरा हातमा पर्यो। त्यसपछि मैंले क्यामेरामा रोमान्चक तस्विरहरु कैद गर्न सुरु गरेको हुँ,’ उनले भने।
सहकर्मीको क्यामेराले खिचिएका केही तस्विरहरूले उनलाई आकर्षित गरे। त्यसपछि उनले सेकेन्ड ह्यान्ड ‘यासिका एफएक्स थ्री’ क्यामेरा खरिद गरे र नियमित अभ्यास सुरु गरे। जसले उनलाई निखार्दै लग्यो र फोटोमा अभ्यस्त गरायो।
केयर नेपालमै खिचिएका उनका तस्विरहरू संस्थाको केयरको प्रतिबिम्ब नामक प्रकाशनमा प्रकाशित हुन थाले। सुरुमा रुचिका लागि गरिएको काम विस्तारै पेशागत यात्रामा परिणत भयो।
चुनौतीपूर्ण अनुभव
फोटोग्राफी यात्रामा उनले धेरै आरोहअवरोह पार गरे। करिब १५ वर्षअघि डब्लुडब्लुएफको तर्फबाट ताप्लेजुङको घुन्सामा स्नो लेपर्ड(हिउँ चितुवा) संरक्षणसम्बन्धी तालिम दिन पुगेका बेला पाँच हजार मिटर उचाइमा ठूलो भूकम्प आयो। उनी बस्ने घरकै पर्खाल ढलेको थियो तर संयोगले उनी सकुशल रहे।
त्यस्तै नेपाल पर्यटन बोर्डको काममा खप्तड–रामारोशनतर्फ जाँदा ज्यान जोगाए। भीषण वर्षामा खोला पार गर्ने क्रममा चिप्लिएर बग्ने अवस्था आयो। तर भरियाको सहयोग र भाग्यको कारण उनी त्यहाँपनि जोगिए र बाँचे।
उनले भने, ‘नेपाल टुरिजम बोर्डले मलाई लगभग एक वर्षको लागि काम दिएको थियो। टुरिजम प्रमोसनका लागि फोटो खिच्न भनेर सक्रिय थिएँ। सोहीबेलाको समयमा अर्थात साउन-भदौतिर भरियाको साथमा खप्तड पुगेको थिए। खप्तडको फोटो खिचेर रामारोशन जानुपर्ने थियो। भीषण पानी परिरहेको थियो। एउटा सानो खोला तर्नुपर्ने थियो, तल झरना थियो। त्यसक्रममा म चिप्लिए। रुखको हाँगामा अड्किए। तर भरियाले तुरुन्तै डोरीले तानेर बचाउनुभयो। यि दुईवटा घटना त म कहिल्यै पनि बिर्सिन सक्दिन। जस्तोसुकै जोखिम मोलेर पनि फोटोका लागि दौडिरहन्थें। यो प्यासन पनि रहेछ। आज यो उमेरमा पनि दौडिरहेको छु।’
पेशागत मोड
२००६-०७ तिर पहिलो पटक डीएसएलआर क्यामेरा किनेपछि उनले पूर्ण रूपमा पेशागत फोटोग्राफी र फोटो पत्रकारिता सुरु गरे। यस अवधिमा उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सयौं अवार्ड हात पारिसकेका छन्। आफूले पाएका सबै अवार्डको गणना गर्न नसकिने उनी बताउँछन्।
हालै मात्र विश्वकै सबैभन्दा ठूलो धनराशि (दुई लाख अमेरिकी डलर) पुरस्कार हुने फोटोग्राफी प्रतियोगितामा उनको तस्बिर शर्टलिस्टमा परेको छ।
सम्झनामा रहने फोटो
उनले खिचेका असंख्य तस्विरमध्ये सबैभन्दा सम्झनलायक असार महिनाको वर्षामा खिचिएको भ्यागुताको तस्विर हो। उक्त तस्विर धेरै चर्चित पनि भयो। बिरामी अवस्थामा श्रीमतीले रोक्दारोक्दै पनि उनी क्यामेरा बोकेर निस्किने गरेको सुनाउँछन्। सोही ढिपी र संघर्षले करिब दुई सय फोटोमध्ये एउटा उत्कृष्ट फोटो बनेको थियो। उक्त फोटो अन्तर्राष्ट्रिय म्यागजिनमा छापियो। पुस्तकहरूमा प्रयोग भयो र पाँचसय अमेरिकी डलरसम्ममा बिक्रीसमेत भयो।
फोटो र प्रकृति
हाल उनी फोटो पत्रकारितामा क्रियाशील छन्। समाचार, रिपोर्ट र तथ्याङ्कका लागि तस्विर खिच्ने गर्छन्। तर उनी प्रकृति, चराचुरुङ्गी र जीव जनावरको तस्विर खिच्न औधि मन पराउँछन्। उनको विचारमा तस्विरको महत्व सयौं शब्दहरुले व्याख्या गर्न नसक्ने बताउछन्। ‘लेख पढ्नेभन्दा पहिले मानिसको नजर फोटोमा जान्छ। त्यसैले फोटोले बोलेन भने लेख पूर्ण हुँदैन,’ उनले भने।
व्यावसायिक कामबाहेक उनको व्यक्तिगत रुचि चराचुरुङ्गी, फूल र बोटबिरुवाको फोटोग्राफीमा केन्द्रित छ। शनिबार–आइतबार वा फुर्सदको समयमा उनी प्रकृतिसँग रमाउँदै नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने तस्विर खिच्छन्।
नयाँ पुस्तालाई सन्देश
आजको पुस्तामा फोटोग्राफीप्रतिको बढ्दो आकर्षण देखेर उनी उत्साहित छन्। तर सन्देश पनि दिन्छन् ः ‘फोटोग्राफी केवल स्किलमा सीमित हुँदैन। केही महिनाको तालिम र अभ्यासले प्राविधिक सीप त दिन्छ तर त्यो पर्याप्त हुँदैन। वास्तविक फोटोग्राफीका लागि धैर्यता चाहिन्छ। पैसालाई मात्रै लक्ष्य बनाउन मिल्दैन । प्रकृति, संस्कृति र समाजलाई अभिलेख गर्ने तस्विरहरू खिच्नुपर्छ, जसले देशलाई चिनाओस्।’
फिल्म युगको संयोगदेखि डिजिटल युगको सफलता, प्राकृतिक विपत्तिबाट बचेसम्मका घटनाले उनको जीवनलाई फोटोग्राफीमै केन्द्रित गराएको छ। पेशा र रुचि दुवै बनेको यो यात्राको मूल आधार भनेको निरन्तर अभ्यास र नछोडिने चाहना हो। ‘फोटोग्राफी भनेको मेरो आत्माको आवाज हो। फोटोले बोल्नुपर्छ र त्यो साँचो फोटोग्राफी हो,’ उनले भने।
कुराकानीमा आधारित







डिसी नेपाल







Facebook Comment