आधुनिक बाजाले बादी समुदायको पुर्ख्यौली पेसा सङ्कटमा

डिसी नेपाल
४ भदौ २०८२ ९:३२
48
Shares

लम्की-कैलाली। बल्चौरका तीर्थ बादीलाई मादल बनाउने चटारो छ । सखारै उनी काठ काट्ने औजार लिएर घर बाहिर मादल बनाउन राखिएको काठको घार मिलाउँछन्। त्यसपछि तयार भएको मादलमा खरी लगाउने, सुकाउने र डोरी कस्ने काम गर्छन्।

नारीहरूले सौभाग्य र समृद्धिका निम्ति धार्मिक परम्परानुसार शिवपार्वतीको उपासना एवं पूरा गर्ने तीज नजिकिएसँगै उनको व्यस्तता बढेको हो । मादलको मौस मादल बनाउने र बेच्ने फुर्सद हुँदैन ।

शिल्पी तीर्थको सानो कच्ची घर छ । समीपको अर्को कटेरोलाई उनले मादलको गोदाम बनाउँछन् । उनले त्यो गोदाममा बेच्नका लागि ठिक्क पारेका एक दर्जनबढी मादल राखेका छन्। मादल बनाउनको लागि तयार पारेका काठका घार पनि भण्डार गरेका छन्। “एउटा मादल साधारणतया तयार गर्न ४ दिने लाग्ने गर्दछ । मादल बनाउदा एक दिन घार तयार पार्ने, अर्को दिने कस्ने र खरी लगाउने गरिन्छ । खरी लगाएको मादललाई सुकाएर ‘फिनिसिङ’ गर्नुपर्छ”, उनले भने।

मादल बनाउने काठ अभाव भएको उनको गुनसो छ । रिट्ठा र आँपको काठमा कला भर्नुहुने उनी बाख्रा, राँगाको छाला र खरीढुङ्गाबाट मादल उत्पादन गर्ने गरेको बताउँछन्। “मादल बेचेर वार्षिक छ लाखसम्म आम्दानी हुनेगरेको छ ।

सात जनाको परिवार यसैले पालेको छु”, एउटा मादले रु। तीन हजार देखि रु।१५ हजार सम्ममा बिक्री हुने गरेको जानकारी दिँदै १६ वर्षदेखि मादल बनाउँदै आउनुभएका तीर्थले भने । स्थानीय सरकारको सहयोग पाएमा मासिक ५० वटा मादल उत्पादन गर्न सकिने बताउँदै उनले आधुनिक बाजाले आफूहरूको पेसा सङ्कटमा परेको सुनाए।

हाल बल्चौरका कृष्ण बादी पनि मादल बनाउन व्यस्त छन्। तीजमा मादलको माग अधिक हुने भएकोले उहाँलाई पनि कामको चटारो छ। एक दशकदेखि मादल बनाउँदै आउनुभएका उहाँ वार्षिक चार लाखसम्म आम्दानी हुने गरेको बताउँछन्।

बादी समुदायले लामो समयदेखि मादल, दमाहा ठेकी, सुल्फा, हुक्का बनाएर जीविकोपार्जन गर्दै आएको भए पनि हाल आफ्नो पेसा सङ्कटमा परेको दुखेसो उनले गरे । उनले आफ्नो पीडा सुनाउँदै भने, “हिजोआज वनबाट मादल बनाउने काठ ल्याउन पाइँदैन ।”

बादी समुदायले परम्परागत पेसाका रूपमा मादल बनाउँदै आएकामा समाजमा आधुनिक बाजाको प्रचलन बढ्दै जाँदा परम्परागत बाजाको प्रयोग घट्न थालेपछि बादी समुदायको बाजा बनाउने पेसा सङ्कटमा परेको लम्कीचुहा नगरपालिका –३ बल्चौरका रमेश बादीले बताए।

लम्कीचुहा नगरपालिका– ३ बल्चौरमा बादी समुदायका एक सय ७१ घर छन् । विगतमा घुमन्ते जीवन बिताउदै आएको उक्त समुदायले स्थायी रूपमा बसोबासको सुनिश्चितता भए पनि रोजगारीको अभावमा छिमेकी मुलुक भारतलाई रोजीरोटी आर्जनको थलो बनाएका छन् ।

यद्यपि यो समुदायका केही सदस्य मादललगायत बाजाका साथै घरेलु हतियार हँसिया, खुकुरी, बन्चरो, खुर्पा तथा कृषि औजार बनाएर परम्परागत पेसालाई निरन्तरता दिइरहेका छन् । बजार अभावमा आफूहरूलाई टिक्न कठिन भएको उनीहरूको गुनासो छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.