बालबिवाहको चपेटामा मुगुका किशोरी: बाल्य अवस्था मै विहे, जीवनभर पीडा

खड्क सुनार
४ भदौ २०८२ १४:४६
48
Shares

मुगु । मुगुको छायानाथ रारा नगरपालिका-१४ बाम गाउँकी माघी बुढा ३० वर्षकी पुगिन्।

उनले १७ वर्षकै कलिलो उमेरमा बिवाह गरेकी थिइन्। ३० वर्ष पुग्दै गर्दा उनका छोरा र दुई छोरी गरी चार सन्तान छन्।

ग्रामीण क्षेत्र भएकाले यहाँ पहिले छोरीलाई स्कुल पढाउथेनन्। त्यसैले माघीले पनि स्कुल जान पाइनन्। मनमा रहर हुँदाहुँदै पनि माघीको स्कुल पढ्ने सपना अधुरै रह्यो।

अशिक्षित समाज। सानैमा बिहे गर्दा उनले विभिन्न प्रकारका शारीरिक तथा मानसिक समस्यासमेत झेल्दै आएकी छन्। उनी त प्रतिनिधि पात्र मात्र हुन्। जिल्ला यस्ता थुप्रै महिला छन्।

उमेर नपुग्दै आमा बन्नेको संख्यामा जिल्लामा ठूलो छ। १६ वर्षको उमेरमा बिवाह गरेकी छायाँनाथ रारा नगरपालिका-१४ की जसमा बढुवाल तीन सन्तानकी आमा भइसकेकी छन्।

देशले थुप्रै कुरामा फड्को मारेको छ। तर, मुगुमा भने अझै पनि बालबिवाहको अवस्था उस्तै जरजर छ।

आधुनिकीकरणको नाममा सामाजिक सञ्जालको दुरुपयोग हुँदा जिल्लामा घट्नुको साटो बालबिवाह बढ्दै गएको छ। सानैमा सामाजिक सञ्जालमार्फत प्रेममा परेर आफू खुसी बिवाह गर्दा बालबिवाह घट्नुको साटो बढ्दै गएको जानकारहरू बताउँछन्।

सानै उमेरमा विवाह गर्दा विभिन्न प्रकारका रोग संक्रमणले बेलाबेला च्याप्ने गरेको उनी जसमाको दुखेसो छ। ‘सानै उमेरमा बिवाह भयो। अहिले त्यसैको सजाय शारीरिक समस्या भोग्दै आएकी छु,’ उनले भनिन्।

उनी १६ वर्षको उमेरमै विवाह बन्धनमा बाँधिएकी थिइन्। अहिले २९ वर्ष पुग्दा उनका तीन सन्तान भइसकेका छन्। ‘त्यतिबेला अल्लारे कच्चा दिमाग थियो, भागेर बिहे गरेँ। अहिले उमेर बढ्दै जाँदा थाहा हुँदैछ कति ठूलो गल्ती गरेकी रहिछु,’ उनले भनिन्।

उनले तल्लो पेट दुख्ने, हातघुँडा दुख्ने, झमझमाउने, सेतो पानी बग्ने र हिँड्दा पेट दुख्ने गरेको बताइन्।

‘त्यतिबेला बुवाआमाले भनेको मानिनँ। सानैमा बिहे गरेँ। अहिले पछुतो लाग्छ। बुवाआमाले भनेको मानेको भए आज मैले यति धेरै समस्या झेल्नु पर्ने थिएन,’ उनले भनिन्।

बालविवाह गरेकै कारण उनले बालअधिकार, शिक्षा र भविष्यका सपना सबै गुमाइन्। सानैमा बिहे गरेका कारण बच्चा जन्माउन नसक्दा पनि कयौंले ज्यान गुमाउने गरेका छन्।

छायाँनाथ रारा नगरपालिका-१४ नगरपालिकाकै ठूलो वडा हो। वडाध्यक्ष जुन बहादुर खड्काका अनुसार विगत तीन वर्षमा ६२ जनाले बालबिवाह गरेको तथ्यांक रहेको बताउँछन्।

बालबिवाह न्यूनीकरण गर्नका लागि वडा कार्यालयमा अनिवार्य रुपमा वडाको सिफारिस बिना बिवाह गर्न नपाउने रणनीति बनाइएको उनले बताए। बालबिवाह रोक्न यो कदम चाल्नु परेको उनी बताउँछन्।

लामो समयदेखि कर्णालीका जिल्लामा कर्णाली ग्रामिण उत्थान तथा समाज विकास केन्द्र (सिडिएस पार्क) नामक संस्थाले युवा, महिला, बालबालिकालाई लक्षित गर्दै समुदाय र विद्यालयमा यौन तथा प्रजनन स्वास्थ्य अधिकार, पाठेघर खस्ने समस्या, बालबिवाह, छाउपडी प्रथाबारेमा सचेतना दिन विभिन्न कार्यक्रम तथा अभियान सञ्चालन गरिरहेको छ।

बालबिवाह, छाउपडी प्रथाको भूमरीबाट बालबालिका, महिला र विशेष गरी युवायुवतीलाई बाहिर निकाली उनीहरूको स्वास्थ्य, शिक्षा र बानी व्यवहारमा परिवर्तन ल्याइ देश तथा समाजका लागि सबल, सक्षम र स्वस्थ नागरिक बनाउनु अभियानको लक्ष्य रहेको सिडिएस–पार्कका कार्यकारी निर्देशक अज बहादुर शाही बताउँछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.