गोकर्णेश्वरमा धुमधाम मेला : चार लाख भक्तजन आउने, अन्तरवार्ताबाट छानिए पुरोहीत
काठमाडौं। काठमाडौंको गोकर्णेश्वर महादेव मन्दिरमा यस वर्षको कुशे औंसी अर्थात पितृऔँसीका अवसरमा लाग्ने मेलालाई भब्य र व्यवस्थित बनाउनेगरी तयारी गरिएको छ। भक्तजनलाई सहज र सुरक्षित वातावरणमा श्राद्ध गर्नेगरी वातावरण मिलाइएको व्यवस्थापन समितिको दाबी छ।
गोकर्णेश्वर नगरपालिका-४ भित्र पर्ने मन्दिर क्षेत्रमा गोकर्णेश्वर महादेव क्षेत्र व्यवस्थापन समितिले शान्ति सुरक्षा, यातायात, फोहोर व्यवस्थापन, खोजतलास र आर्थिक व्यवस्थापनजस्ता उपसमितिहरू गठन गरी विगत १५ दिनदेखि निरन्तर तयारी गरिरहेको उक्त वडाका अध्यक्ष जयराम महतले जानकारी दिएका छन्।
उनले भने, ‘मन्दिर गोकर्ण नगरपालिका वडा नम्बर ४ भित्र पर्छ। हामीले लगभग १५ दिन अगाडिदेखि नै तयारी गरिरहेका थियौं। विभिन्न चरणमा बैठकहरू बस्ने, संघसंस्थालाई बोलाएर जिम्मेवारी तोक्ने कामहरु गरेका थियौं। यसपाली दुई दिन औँसी परेकाले भक्तजनहरुको उल्लेख्य सहभागिता रहनेभएकाले पनि तयारीलाई भब्य बनाएका हौं।’
यस्तै, उनले नेपाल प्रहरी, ट्राफिक प्रहरी, स्काउट, ग्रीन आर्मी, विभिन्न संघसंस्था र स्थानीय युवाको सक्रियतासहित भक्तजनलाई सहज सेवासुविधा उपलब्ध गराउन खटाइएको पनि बताए।
साथै, यात्रु खोजतलास समिति पनि गठन गरिएको उनले जानकारी दिए। भक्तजनलाई सुरक्षित रूपमा श्राद्ध सम्पन्न गर्न यातायात र ट्राफिक व्यवस्थापनमा विशेष ध्यान दिइएको उनले बताए।
ट्राफिक एवम यातायात व्यवस्थापन, फोहोर व्यवस्थापन समितिहरू खडा गरेरै काम अघि बढाएको पनि उनले जानकारी दिए।
मन्दिरको चारैवटा ढोका खुला गरेर भीड व्यवस्थापनका लागि लाइन प्रणाली लागू गरिएको भन्दै स्वास्थ्य समस्या वा अन्य आपतकालीन अवस्थामा तत्काल सहयोग पुगोस् भन्ने उद्देश्यले फोकल पर्सन तोकिएको बताए।
उनका अनुसार भक्तजनहरूले गर्ने श्राद्ध कर्मका लागि समितिमा दर्ता भएका २१ जना पुरोहित स्थायी रूपमा खटाइएका छन्।
यसबाहेक स्थानीय ब्राह्मण पुरोहीतहरू समेत सहयोगमा छन्। कतिपय भक्तजन आफ्नै पुरोहीतहरु लिएर आउने तर नल्याउने भक्तजनका लागि समितिका पुरोहितहरूले सेवा दिने व्यवस्था गरिएको छ। पुरोहीतहरूको छनोट धार्मिक प्रक्रिया र अन्तर्वार्तामार्फत गरिएको छ।
व्यवस्थापन खर्चका लागि भक्तजनबाट प्रति व्यक्ति डेढ सय रुपैयाँ संकलन गरिनुको साथै बजार क्षेत्रमा राखिएका स्टल भाडाबाट पनि रकम संकलन गरिएको पनि उनको भनाई छ।
उनले विगत वर्षको हिसाबमा मात्रै दैनिक खर्च करिब चार लाख ४० हजार रुपैयाँ पुगेको हुनाले खर्च धान्न आन्तरिक स्रोत पर्याप्त नभएकाले थप सहयोग आवश्यक रहेको बताए। स्टल, पुरोहित र भक्तजनहरुबाट संकलित रकमले मेलामा केही सहयोग हुने बताए।
गोकर्णेश्वर महादेव मन्दिर प्राचीन कालदेखि पितृमोक्षका लागि प्रसिद्ध छ। धार्मिक ग्रन्थमा यसलाई उत्तरगया र उत्तर वाहिनी क्षेत्रका रूपमा वर्णन गरिएको छ।
मान्यताअनुसार गोकर्णमा श्राद्ध गरेपछि मात्र काशी वा गया गएर श्राद्ध गर्दाको जस्तै पुण्य प्राप्त हुन्छ भन्ने मान्यता रही आएको छ।
जसका कारण ७७ वटै जिल्लाबाट भक्तजनहरू आफ्ना पितृहरूको उद्धारको निम्ति यहाँ उपस्थित हुने गरेका छन्। गत वर्ष झण्डै चार लाख भक्तजन उपस्थित भएका थिए भने यस वर्ष पनि त्यही हाराहारीको भीड हुने अपेक्षा गरिएको छ।
तर, व्यवस्थापनका चुनौतीहरू प्रशस्त देखिएका छन्। मन्दिर क्षेत्र पुरातात्त्विक सम्पदा अन्तर्गत पर्ने र आसपासको क्षेत्र साँघुरो साथै बढ्दो बसोबास र साना संरचनाले व्यवस्थापन कठिन देखिएको छ।
निजी जग्गा खरिद वा क्षतिपूर्ति दिएर थप क्षेत्र व्यवस्थापन गर्ने प्रयास भएपनि तत्काल सफल हुन नसकेको समितिको भनाइ छ। भीड, सरसफाइ र संरचनागत अभावलाई चुनौतीका रूपमा लिई व्यवस्थापन समिति, स्थानीय बासिन्दा, बुद्धिजीवी, संघसंस्था, सञ्चारकर्मी तथा सुरक्षाकर्मीहरू निरन्तर खटिएका छन्।
मन्दिरमा पितृऔँसीका दिन हुने यस ठूलो धार्मिक भेलालाई भक्तजनहरूको विश्वास र आस्थासँग जोडिएको गौरवको अवसरका रूपमा लिइएको छ।







डिसी नेपाल








Facebook Comment