तीजको आत्मा बनेको गीत : ‘तीजको रहर आयो बरी लै’

डिसी नेपाल
१० भदौ २०८२ १४:१२
56
Shares

काठमाडौं। तीजको रौनक आउनासाथ युट्युबमा नयाँ-नयाँ गीतहरूको बाढी आउँछ। कतिपय गीतहरू ट्रेन्डिङको शिखर चुम्छन्, केही त जनजीवनमा गुञ्जिन्छन् पनि। तर, अधिकांश तीज गीतहरू समयको भेलसँगै हराउँछन््। तर एउटा गीत छ जुन वर्षौँदेखि, पुस्तौँदेखि तीजमा गुञ्जिरहन्छ, ‘तीजको रहर आयो बरी लै’।

चालिसको दशकमा रिलिज भएको नेपाली चलचित्र कन्यादानको यो गीत आज पनि तीजको पर्याय बनिसकेको छ। चाहे सहर होस् या गाउँ, रेडियो होस् या युट्युब- यो गीत बिना तीज अधुरो लाग्छ।

२०७० सालतिर, गायिका मञ्जु थापाले यो सदाबहार गीतलाई नयाँ स्वादमा ल्याउने सपना देखिन् र त्यही सपना बन्यो उनको तीज रिमेकको यात्रा सुरु गर्ने प्रेरणा।

‘तीज गीत त पहिलेदेखि गाइरहेकी थिएँ,’ मञ्जु थापा भन्छिन्, ‘तर सबैतिर रिमेकको हल्ला थियो। रिमेक गर्ने जमाना आयो भनेजस्तो लाग्थ्यो। हामी साथीहरूसँग कार्यक्रमको तयारी गर्दै थियौँ। त्यही बेलामा यो ‘तीजको रहर’ रिमेक गर्न पाए कस्तो हुन्थ्यो भन्ने सोच आयो।’

तर सोचेजस्तो सजिलो थिएन। पुरानो गीतलाई रिमेक गर्न कानुनी प्रक्रिया र नैतिक जिम्मेवारी दुबै थियो।

‘यो त कन्यादान चलचित्रको गीत हो नि त !’ उनले सम्झिइन्। अनि सुरू भयो सम्बन्धित व्यक्तिहरूसँग सम्पर्क गर्ने दौड।

मञ्जु थापाले रिसर्च गर्न थालिन्, यो गीतको रचनाकार, संगीतकार को अनि अधिकार कसको हो ?

‘त्यो बेलामा थाहा भयो, रचना चेतन कार्की सरको, संगीत मनोहर सिंह सरको, र प्रोड्युसर बिनोद सेरचन दाई हुनुहुँदो रहेछ,’ उनले भनिन्।

उनले सबैसँग व्यक्तिगत रूपमा भेटिन्। अनुमतिका लागि आग्रह गरिन् र सबैले न्यानो साथ दिए। ‘मैंले जे होस् सबैलाई भेटेँ, आशिर्वाद मागें। उहाँहरूले भने‘- हुन्छ नानी, राम्रोसँग गर।’

त्यसपछिको यात्रा सरल भएन तर प्रेरणादायी थियो। मञ्जु थापाले गीतलाई नयाँ ढंगले, नयाँ संगीत संयोजनसहित प्रस्तुत गरिन्। सन्देश पूरानै, मिठास झनै बढेको। गीत बजारमा आयो-र, मन जित्यो। पुरानो पुस्ताले सम्झियो अतित, नयाँ पुस्ताले गुनगुनायो नयाँ ढंगमा।

चालिसको दशकमा सार्वजनिक भएको यस गीतले नेपाली तीजको सांगीतिक माहोलमा गहिरो छाप बनाएको छ। आधुनिकता र पाश्चात्य प्रभावबीच हराउँदै गएका मौलिक तीज गीतहरूको भीडमा यो गीत आज पनि उत्तिकै सानसँग बजिरहेको छ।

‘जब मैले रिमेक गरेँ नि, त्यसपछि चाहीं एकदमै बज्न थाल्यो,’ मञ्जु थापा भन्छिन्, ‘यो रिमेकको जुन भिजुअल कन्सेप्ट हो, त्यो चाहीं संगीत सम्राट समृद्ध सरको हो। हामीले अलिकति फास्ट बिटमा र भिजुअलसहित प्रस्तुत ग¥यौँ, जसले गर्दा अझ बढी जनप्रिय भयो।’

गीतले सफलता पाएपछि आफूलाई अझ ऊर्जा थपिएको बताउने थापा भन्छिन्, ‘देश–विदेशका नेपालीले हरेक वर्ष बजाउँदा एकदम खुसी लाग्छ। गीत मौलिक छ, भावनात्मक छ। बाबा, आमा, माइती, दिदीबहिनीको सम्झना गर्ने गीत हो। त्यही मौलिकताका कारणले यो गीत हरेक वर्ष बज्छ।’

उनले यस गीतपछि पनि दर्जनौं तीज गीतहरू बजारमा ल्याइसकेकी छन्-‘यो तीजमा नजाने माइती’, ‘ढकनी र कुराउनी, खाउली राती दरैमा’, ‘हर हर महादेव’, ‘ए आमा तिमीलाई आउँदैछु भेट्न यसपाली तीजैमा’ जस्ता गीतहरूले पनि दर्शक–स्रोतामाझ राम्रो स्थान बनाएका छन्।

मञ्जु थापा तीजको बदलिंदो स्वरूपप्रति पनि चिन्तित छिन्। ‘पहिलाको तीज मौलिक हुन्थ्यो,’ उनी नेपाल न्यूज बैंकसँग कुरा गर्दै भन्छिन्, ‘शब्दमा गहिरो भाव, लयमा मधुरता, संस्कृति र परम्पराको सुगन्ध हुन्थ्यो। अहिले तीज एक महिनाअगाडि नै सुरु हुन्छ। पार्टी प्यालेसहरूमा कार्यक्रम, गीतमा द्विअर्थी शब्द, भिजुअलमा अश्लीलता- यी सबै मौलिक तीजको विपरित लाग्छ।’

उनले थपिन्, ‘पहिला-पहिलाको तीजमा चेलीबेटी माइती घर फर्किने, बाबा, दाजुभाइ चेली लिन आउने संस्कार हुन्थ्यो। त्यो आत्मीयता अहिले कम हुँदै गएको देखिन्छ।’

यद्यपि उनी सकारात्मक परिवर्तनको पक्षमा पनि छन्। ‘समय अनुसार परिवर्तन त भइ नै रहन्छ,’उनी भन्छिन्, ‘तर परिवर्तन मौलिकताको हानी गरेर होइन, मौलिकता जोगाएर हुनुपर्छ।’

मञ्जु थापा तीज गीतहरूमा मात्र सीमित छैनन्। उनले दर्जनौं गीतहरू गाइसकेकी छन् र आफ्ना गीतमार्फत नेपाली लोकसंस्कृति जोगाउने प्रयासमा लागिरहेकी छन्।

‘रमाइलो लाग्छ, बाटोमा हिँड्दा आफ्नो गीत बजेको सुन्दा इनर्जेटिक महसुस गर्छु। अझै गीतहरू गर्न मन लाग्छ,’ उनी भन्छिन्।

साँच्चिकै, ‘तीजको रहर आयो बरी लै’ गीत नेपाली तीज पर्वको आत्मा बनेको छ। मौलिकता, भावनात्मक गहिराइ र सांगीतिक मिठासले भरिएको यो गीतले तीजको सांगीतिक पहिचान जोगाइरहेको छ-हरेक वर्ष, हरेक पुस्तासँग।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.