मधेस प्रदेशका वनमन्त्री यादवद्वारा सिरहाका सामुदायिक वनको अनुगमन
सिरहा। मधेस प्रदेशका वन तथा वातावरणमन्त्री सञ्जय यादवले सिरहास्थित विभिन्न सामुदायिक वनहरूको अनुगमन गरेका छन्। मन्त्री यादवले आर्थिक वर्ष २०८१र८२ मा डिभिजन वन कार्यालयले गरेको तारबारसहितको वृक्षरोपणको स्थलगत निरीक्षण गरेका हुन्।
अनुगमनका क्रममा सामुदायिक वनका केही क्षेत्र अझै अतिक्रमणमा परेको पाइएको छ। सो अवस्थाप्रति चिन्ता व्यक्त गर्दै मन्त्री यादवले अतिक्रमणमा परेको जमिनमा समेत वृक्षरोपण गर्न र वन संरक्षणमा कडाइ अपनाउन यहाँका वन कार्यालयलाई निर्देशन दिए।
उनले भने, ‘वनको संरक्षणमा हामी सम्झौता गर्न सक्दैनौँ। अतिक्रमित क्षेत्रहरूमा पनि वृक्षरोपण गर्न आवश्यक छ, ताकि ती जमिन पुनः हरियाली बनून्। सामुदायिक सहभागितामा आधारित दिगो वन व्यवस्थापन हाम्रो लक्ष्य हो।’ मन्त्री यादवले कर्जन्हा नगरपालिका–१ स्थित नन्दबाबा सामुदायिक वन, गोलबजार नगरपालिका–१० स्थित घुर्मिकिनार सामुदायिक वन, चुरे चौफाल सामुदायिक वनलगायत सामुदायिक वनहरूको निरीक्षण गरेका थिए।
उनले सामुदायिक वनहरूको संरक्षण तथा व्यवस्थापनमा स्थानीय समुदायको सक्रियता अपरिहार्य रहेको धारणा राख्दै प्रदेश सरकार जनताका साथमा रही वातावरण संरक्षणमा प्रतिबद्ध रहेको बताए। अनुगमनमा डिभिजन वन कार्यालय सिरहा, लहान तथा अन्य सबडिभिजन वन कार्यालयका कर्मचारीहरूको पनि सहभागिता रहेको थियो।







डिसी नेपाल







Facebook Comment