निबन्ध : आस्थाको धुन र शान्तिको यात्रा
काठमाडौँ उपत्यकाको एउटा महत्वपूर्ण तीर्थस्थल हो स्वयम्भूनाथ स्तुप। हरेक दिन यहाँ भक्तजनदेखि घुम्न, हेर्न आउनेहरूको भीड बाक्लै हुन्छ। यसैबीच वर्षको एक महिना सबेरै गुँला बाजाको अगुवाइमा स्वयम्भूनाथ परिक्रमाको यात्रा हुन्छ।
गुँला बाजा भन्नु वास्तवमा आस्थाको धुन र शान्तिको यात्रा हो। यसमा हाम्रा परापूर्व कालदेखिका बाजाहरूको सांगीतिक मिठास यति प्रिय हुन्छ कि त्यसले झुम्म पार्छ। आनन्दित पार्छ।
सहरका गल्लीहरूमा, जब रात्रिको मौनता पूर्ण रूपमा टुटेको हुँदैन र उज्यालो धर्तीमा खस्नुअघि नै, एक विशिष्ट धुन गुन्जिन थाल्छ। यो कुनै साधारण आवाज होइन, यो गुँला महिनाको बिहानीको सांस्कृतिक यात्राको आह्वान हो। गुँला महिनाभरि भक्तजनहरू बिहान सबेरै बाजा बजाउँदै स्वयम्भूनाथको परिक्रमा गर्छन्। यो यात्रामा कलिलो उमेरका बालबालिकादेखि वयोवृद्ध ज्येष्ठ नागरिकसम्म सहभागी हुन्छन्।
यो यस्तो यात्रा हो जहाँ हिँडाइको आफ्नै पाइला-पदचापको सौन्दर्य अभिव्यक्त भइरहेको हुन्छ। त्यहाँ जीवनको सुख अनुभूतिहरूको आकाश बनेर फैलिरहेको हुन्छ। दुःखको पहाड थिचेका थाप्लोहरू आस्थाको धुन र शान्तिको यात्रामा विश्राम लिन थाल्छ। त्यतिबेला जीवन साँच्चै आध्यात्मिक बन्छ। त्यतिबेला मन चङ्गा बनेर चरा जस्तै, बादलझैँ आकाशमा फन्को मार्न थाल्छ।
यस्तोमा कहीँ कतै हुँदैन कालो बादलका गर्जनहरू, चट्याङ पर्ने मेघ गर्जिने र पानी बरसातको भेलबाडीले बगाउने, डुबाउने कुनै त्रासको त्राहिमामको आगमन हुँदैन। यस्तो यात्रामा मन सधैँ खुसीले बुर्कुसी मार्न हतारिन्छ।
यस्तो बेला टाढाका आफन्तहरू पनि नजिक आउँछन्। भेट, भलाकुसारी र मिठोमसिनो खानपानको आनन्दमा जीवनको यात्रा हिँड्छन्। सुस्वास्थ्यको कामना गर्छन्। मिलन-मित्रताको सुखद पलहरूमा समय गुजार्छन्।
उनीहरूको हातमा रहेका परम्परागत बाजाहरूको आवाजले मिर्मिरे बिहानीको प्रहरलाई यति शीतल, शान्त र सुमधुर सांगीतिक तरङ्गहरूमा रूपान्तरण गर्छ कि सुतिरहेका मानिसहरू पनि मस्त निद्रामा संगीतको धुनमा आनन्दले मग्न हुन्छन्। यो बाजाको आवाज मात्र होइन, यो आस्थाको गुन्जन हो, भक्ति र समर्पणको अभिव्यक्ति हो। यो धुनले सहरको निद्रालाई बिथोल्दैन। बरु शान्ति र आनन्दको गहिरो अनुभूति प्रदान गर्छ।
एक महिना लामो गुँला बाजाको यो यात्रा आफैंमा एउटा सांस्कृतिक र सांगीतिक गुन्जनको अभियान हो। यस यात्रामा मनहरू आफैं उत्साहका पाइलाले अगाडि बढ्छन्। यहाँ मानिसहरू शारीरिक रूपमा हिँड्दैनन्, उनीहरू आफ्नो मन र आत्मालाई पनि शान्ति र आनन्दको यात्रामा हिँडाउँछन्।
बाजाको परम्परागत सुसेलीहरूसँगै, उनीहरू आफूलाई शान्तिको अभियानतिर समर्पित गर्छन्। यो यात्राले हामीलाई हाम्रो सांस्कृतिक परम्परासँग जोड्छ र सामूहिक सद्भावको भावना जगाउँछ।
गुँला पर्व एउटा महिनाको धार्मिक अनुष्ठान मात्र होइन। यो एउटा गहिरो आध्यात्मिक र सांस्कृतिक अभ्यास हो। यसले मानिसलाई एकताबद्ध गर्छ। जीवनमा शान्ति र आनन्दको महत्व बुझ्न प्रेरित गर्छ। बिहानीको यो पवित्र धुनले हामीलाई सधैँ हाम्रो आस्था र परम्पराको सम्झना गराइरहन्छ।
गुँला बाजाको यात्रा र यसमा प्रयोग हुने बाजाहरूको ध्वनिले नेपाली संस्कृतिमा एक छुट्टै जीवन्तता भर्छ। गुँला बाजाको यात्रामा बज्ने बाजाहरूको ध्वनिले मनलाई एक अलौकिक शान्ति दिन्छ। धिमेको गम्भीर र शक्तिशाली तालले वातावरणलाई नीवन ऊर्जाले भरिदिन्छ। यसको प्रत्येक गुञ्जनमा आध्यात्मिक भाव लुकेको हुन्छ।
यसले यात्रामा सहभागी सबैलाई एकै सूत्रमा बाँध्छ। धिमेको तालसँगै भुस्याको झंकारले अलग्गै उत्साह थप्छ। भुस्याको मधुर र पातलो आवाजले धिमेको भारीपनलाई सन्तुलनमा राख्छ र एक सामन्जस्यपूर्ण ध्वनि सिर्जना गर्छ।
यी तालका बीचमा जब पोङ्गाको आवाज गुञ्जिन्छ। लाग्छ, मानौँ स्वर्गबाट कुनै पवित्र आवाज पृथ्वीमा अवतरण भएको छ। पोङ्गाको लामो र तिखो स्वरले सम्पूर्ण वातावरणमा एक प्रकारको गाम्भीर्यता ल्याउँछ। यो आवाजले मानिसलाई एक क्षणका लागि मौन बनाउँछ।
उनीहरूलाई आफैंसँग जोड्न मद्दत गर्छ। यसैगरी, बासुरीको मीठो र सुमधुर धुनले मनलाई शान्त पार्छ र भक्तिभाव जगाउँछ। बाँसुरीको धुनले गुँला बाजाको यात्रालाई एक भावनात्मक स्पर्श दिन्छ। यसले सबैको हृदयमा गहिरो प्रभाव पार्छ।
गुँला बाजाको यात्रा कुनै साधारण जुलुस मात्र होइन। यो त एउटा आध्यात्मिक यात्रा हो। यस यात्रामा मानिस आफ्नो दैनिक जीवनको भागदौडबाट केही समयका लागि टाढा रहेर आफ्नो आस्था र संस्कृतिसँग जोडिन आइपुग्छन्। यी बाजाहरूको ध्वनिले धार्मिक वातावरणलाई अझ जीवन्त र शक्तिशाली बनाउँछ। यी आवाजहरूमा संगीत मात्र नभई, पुर्खाको ज्ञान, संस्कृति र परम्पराको विरासत पनि लुकेको हुन्छ।
गुँलाको यात्रामा धिमे, भुस्या, पोङ्गा र बाँसुरीको धुन एकसाथ गुन्जन्छ। लाग्छ, सम्पूर्ण सहर नै एक प्रकारको धार्मिक उत्सवमा लीन भएको हुन्छ। यी बाजाहरूको आवाजले मानिसको मनमा शान्ति, धैर्य र आस्थाको बीजारोपण गर्छ।
गुँला बाजाले हामीलाई हाम्रो जरासँग जोड्ने काम गर्छ। हाम्रो समृद्ध सांस्कृतिक परम्पराको महत्व बुझाउँछ। वास्तवमा यो एक संगीत मात्र होइन, यो हाम्रो पहिचान र हाम्रो आत्मिक यात्राको एक अविभाज्य हिस्सा पनि हो।
गुँला बाजाको पहिलो सन्देश शान्ति र निर्वाणको खोजी हो। बुद्ध धर्ममा आधारित यस पर्वले मानव जीवनको दुःखबाट मुक्ति र शान्तिको मार्ग देखाउँछ। बाजाको धुनमा पाइने गम्भीर र शान्त लयले मनलाई स्थिर बनाउँछ। जसरी पानीको बगिरहेको धाराले चट्टानलाई पनि चम्किलो बनाउँछ।
यो बाजा बजाउनेहरू बाहिरको संसारबाट आफूलाई विच्छेद गरेर एउटा आध्यात्मिक यात्रामा निस्किएका हुन्छन्। त्यहाँ उनीहरूका प्रत्येक कदम पवित्र स्थानतिर अग्रसर भइरहेको हुन्छ। गुँला बाजाको गुञ्जनले हामीलाई पनि त्यही शान्तिको मार्गमा हिँड्न प्रेरित गर्छ। यसले जीवनका सबै द्वन्द्वलाई पार गरेर एउटा अनन्त आनन्दको अनुभूति दिन्छ।
गुँला बाजाको अर्काे सन्देश सामाजिक एकता र सामुदायिक भावना हो। यो पर्व कुनै व्यक्ति विशेषको नभई समाजको साझा सम्पत्ति हो। बाजा बजाउन टोलका सबै स्थानीय एकै ठाउँमा भेला हुन्छन्। यो समयमा जात, धर्म र उमेरको कुनै भेद्भाव हुँदैन। सबै मिलेर एउटै लयमा बाजा बजाउँछन्। यस्तो कार्य सामाजिक सद्भावको सुन्दर प्रतीक हो।
बाजाको तालमा हिँड्दै बौद्ध चैत्य र स्तुपाको परिक्रमा गर्दा मानिसहरू एकअर्काको नजिक आउँछन्, आपसी सम्बन्ध बलियो हुन्छ र समाजको भावना जीवन्त रहन्छ। गुँला बाजाको प्रत्येक धुनमा ‘हामी’ भन्ने सामूहिक भावना लुकेको हुन्छ। यसले समाजलाई एक धागोमा बाँध्न मद्दत गर्छ।
गुँला बाजाको अभिप्राय परम्पराको जगेर्ना र भविष्य पुस्तालाई यसको महत्वबारे जानकारी गराउनु हो। बाजा बजाउनेहरूले आफ्नो पुर्खाबाट पाएको यो अमूल्य कलालाई अर्को पुस्तामा हस्तान्तरण गर्छन्।
यो सङ्गीत मात्र होइन, यो इतिहासको एउटा अंश हो, जसले हामीलाई हाम्रो जरोसँग जोड्छ। नयाँ पुस्ताका बालकहरूले बूढापाकाहरूसँगै बाजा बजाउँछन्, यो परम्पराको निरन्तरता सुनिश्चित हुन्छ।
गुँला बाजा प्रदर्शनले हाम्रो संस्कृति किताबमा मात्र सीमित छैन, यो हामीले जिउँदै आएको एउटा सुन्दर जीवनशैली हो, जसलाई हामीले हरेक धुनमा अनुभव गर्न सक्छौँ।
यसरी, गुँला बाजा एउटा पर्वको सङ्गीत नभई, यो हाम्रो जीवनको लय हो।
यसले शान्तिको खोज, सामाजिक एकता र सांस्कृतिक निरन्तरताको गहिरो सन्देश बोकेको छ। गुँला बाजाको प्रत्येक धुनले हामीलाई सम्झाउँछ कि जीवनको असली सुन्दरता अरूसँग मिलेर, आफ्नो परम्परालाई अँगालेर र मनभित्रको शान्तिलाई खोजेर मात्र प्राप्त हुन्छ।
















Facebook Comment