घुम्ती शिविरबाट सिलिचोङवासी लाभान्वित
किमाथाङ्का (सङ्खुवासभा)। सङ्खुवासभाको दुर्गम सिलिचोङ गाउँपालिकाले विभिन्न सहरमा घुम्ती शिविर सञ्चालन गरेर एक सय ५० भन्दा बढी सर्वसाधारणलाई सेवाप्रवाह गरेको छ।
सिलिचोङ गाउँपालिकाले काठमाडौं, इटहरी र सदरमुकाम खाँदबारीमा सञ्चालन गरेको घुम्ती शिविर एक सय बढीले सेवा लिएका छन्। सिलिचोङ सडक सञ्जालले नछोएको विकट र दुर्गम क्षेत्रमा अवस्थित छ। सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको नामावली नवीकरण, जन्मदर्ता, नाता प्रमाणित, सिफारिसलगायत सेवा उपलब्ध गराउन घुम्ती शिविर आयोजना गरिएको हो।
ज्येष्ठ नागरिक, अशक्त र असहायलाई लक्षित गरेर उनीहरू बसेकै ठाउँमा पुगेर सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको नामावली नवीकरण, जन्मदर्ता, नाता प्रमाणित र नागरिकताको सिफारिससम्बन्धी सेवा दिएको सिलिचोङ गाउँपालिका प्रशासकीय अधिकृत भद्र कुलुङले जानकारी दिए।
घुम्ती शिविरबाट एक सय ५० जनाले सेवा लिएका छन्। सिलिचोङले काठमाडौंमा भदौ ६ र ७ गते, इटहरीमा भदौ ९ र १० गते तथा खाँदबारीमा आज घुम्ती शिविर सञ्चालन गरेको हो। काठमाडौं र तराईका विभिन्न जिल्लामा बसोबास गर्ने ज्येष्ठ नागरिक, अशक्त र असहायलाई लक्षित गरी इटहरीमा शिविर केन्द्र तोकिएको थियो। विभिन्न कारणले आफ्नो पालिका आइपुग्न नसक्नेलाई सेवा पुर्याउने उद्देश्यले शिविर आयोजना गरिएको गाउँपालिकाले जनाएको छ।







डिसी नेपाल








Facebook Comment