पहिलो पटक अपि हिमाल आरोहणका लागि १५ सदस्यीय टोली प्रस्थान

डिसी नेपाल
१३ भदौ २०८२ १८:०६
36
Shares

काठमाडौं। सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लामा अवस्थित अपि हिमालको पहिलो पटक आरोहण हुने भएको छ।

उक्त प्रयोजनका लागि १५ सदस्यीय टोली आज त्यसतर्फ प्रस्थान गरेको हो। नेपाल पर्वतारोहण संघ (एनएमए)द्वारा आयोजित बिदाइ कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आरोही टोलीलाई बिदाइ गरे। उनले पहिलो आरोहण सुदूरपश्चिम प्रदेशका लागि ऐतिहासिक र सुखद क्षण भएको उल्लेख गरे।

नेपाल सरकारले हालैमात्र राजपत्रमार्फत सुदूरपश्चिम र कर्णाली प्रदेशका ९७ वटा हिमालको दुई वर्षका लागि आरोहण शुल्क छुट दिने निर्णय गरेसँगै अपी हिमालको आरोहण प्रारम्भ भएको हो।

बिदाइ कार्यक्रममा मन्त्री पाण्डेले पर्वतारोहण क्षेत्र नेपाललाई चिनाउने महत्त्वपूर्ण क्षेत्र रहेको बताउँदै शेर्पा तथा गैर–शेर्पा आरोहीको संयुक्त प्रयासले हिमालारोहणका क्षेत्रमा नयाँयुगको सुरुआत हुने विश्वास व्यक्त गरे।

‘यो अभियानले स्थानीयस्तरमा समन्वय र सहकार्यलाई प्रवर्द्धन गर्नुका साथै सुदूरपश्चिम र कर्णाली प्रदेशको पर्यटन विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ’, मन्त्री पाण्डेले भने।

अपि गाउँपालिकाबाट संलग्न टोलीमा १५ जना आरोही सहभागी छन्। आरोहण अभियानमा जोखिम रहे पनि स्थानीयलाई समेट्दै अघि बढाइएको यो पहल सुदूरपश्चिम पर्यटन र पर्वतारोहणका क्षेत्रमा नयाँ अवसरका रूपमा हेरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.