आवतजावत रोकिएका ८ सडक खुलाउन तिव्र गतिमा काम गर्न कार्यवाहक प्रधानमन्त्री सिंहको निर्देशन
काठमाडौं । बाढीपहिरोका कारण अवरुद्ध ८ सडक सरकारले तत्काल खुलाउने भएको छ ।
कार्यवाहक प्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले बाढी पहिरोका कारण अवरुद्ध बनेका सडक खुलाएर तत्काल आवतजावत सहज बनाउन निर्देशन दिएका हुन्।
आज सहरी विकास मन्त्रालयमा कार्यवाहक प्रधानमन्त्री सिंहको अध्यक्षतामा बसेको बैठकमा उनले सडक अवरुद्ध हुँदा नागरिकलाई समस्या हुने भन्दै तत्कालै समस्या आएका ठाउँमा समाधान गर्नेगरि काम गर्नुपर्ने बताए।
बैठकमा गृहमन्त्रालयअन्तर्गतको विपद् पूर्वतयारी प्रतिकार्य शाखाले वर्षाका कारण अवरुद्ध हुन पुगेका सडकहरुबारे तयार गरेको विवरण कार्यवाहक प्रधानमन्त्री सिंहलाई जानकारी गराइएको थियो।
हाल पासाङ ल्हामु राजमार्ग अन्तर्गत रसुवा गोसाइकुण्ड गाउँपालिका २ टिमुरे,अरनीको राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका-२कोदारी र घट्टेखोला, बेनिजोमसोम सडक खण्ड अन्तर्गत रघुगंगा गाउँपालिका दुई खोलीमा सडक अवरुद्ध छ । त्यस्तै, घोराही थवाङ शहिद मार्गअन्तर्गत त्रिवेणी गाउँपालिका, भेरि करिडोरअन्तर्गत त्रिपुरासुन्दरी नगरपालिका छलघाट,कर्णाली राजमार्गअन्तर्गत शुभकालिन गाउँपालिका र भेरि करिडोर अन्तर्गत आठविसकोट नगरपालिकामा सडक अवरुद्ध छ।
त्यस्तै, कार्यवाहक प्रधानमन्त्री सिंहले विपद्सम्बन्धि पूर्व शतर्कताका लागि यसअघि म्यासेज पठाउने गरिएकोमा अवदेखि भ्वइस कल पनि गर्ने व्यवस्थाका लागि आवश्यक व्यवस्था मिलाउन निर्देशन दिए।








डिसी नेपाल








Facebook Comment