देशका पुराना विद्यालय र पुस्तकालय संरक्षणमा आवश्यक छ : अध्यक्ष बिजुक्छेँ
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले देशका पुराना विद्यालय र पुस्तकालय व्यवस्थापन तथा संरक्षणमा स्थानीय पालिकाहरूले विशेष ध्यान दिनुपर्ने बताएका छन्।
अठारौँ पुस्तकालय दिवसका अवसरमा भक्तपुर नगरपालिकाले आज यहाँ आयोजना गरेको प्रवचन कार्यक्रममा उहाँले पुस्तक आफैँमा एउटा इतिहास भएको बताए।
अध्ययनविना कोही पनि बौद्धिक रूपले अगाडि बढ्न नसक्ने भन्दै अध्यक्ष बिजुक्छेँले नेपालका पुस्तकालयको उचित व्यवस्थापनले नागरिकको बौद्धिकस्तर माथि उठ्ने बताए।
उनले कम्युनिष्ट साहित्य प्रगतिशील हुने विचार राख्दै आफूले के पुस्तक अध्ययन गर्ने भन्ने विषयमा स्पष्ट हुनुपर्ने औंल्याए।
कार्यक्रमका सभापति एवं भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले विद्यार्थीमा पठन संस्कृतिको विकास गर्न भक्तपुर नगरपालिकाले पुस्तकालयको व्यवस्था गरी दिवस मनाउँदै आएको बताए।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले पुस्तकालय र वाचनालय सञ्चालनको अधिकार पालिकाहरुलाई दिएपछि नगरपालिकाले नगरका पुस्तकालय तथा वाचनालयको अभिलेख राखी आवश्यकताका आधारमा सुधार र व्यवस्थापनको काम गरिरहेको उनको भनाइ थियो।
नेपालमा विसं २०६५ देखि प्रत्येक वर्ष भदौ १५ गते विभिन्न कार्यक्रम आयोजना गरी पुस्तकालय दिवस मनाउन थालिएको हो।







डिसी नेपाल








Facebook Comment