नेपाली इतिहासको संवर्द्धनमा ‘ज्ञानगुनका कुरा’
इतिहासले सदैव भावी पुस्ताका लागि विगतमा मानिसले गरेका कार्य तथा उपलब्धिहरूलाई संरक्षित गरिदिन्छ। इतिहास मानवीय प्रगतिको द्योतक पनि हो। विगतको अध्ययनविना वर्तमानलाई सही अर्थमा बुझ्न सकिँदैन।
यसैले आज पनि इतिहासको अध्ययन मानव ज्ञानका लागि अत्यावश्यक मानिन्छ। इतिहासको उपेक्षा गर्नु भनेको आफ्नो पहिचानलाई नै बिर्सनु हो। आज भौतिकवादी सोच र चिन्तनले नेपालमा इतिहासको अध्ययन उपेक्षित हुँदै गए पनि कतिपय व्यक्ति र संस्थाहरू इतिहासको अध्ययन तथा संवर्द्धनमा निरन्तर लागिरहेका छन्।
यसरी इतिहासको संवद्र्धनमा लाग्नेहरूमध्ये एक हुन् पेसाले कानुन व्यवसायी शेषराज शिवाकोटी। शेषराज शिवाकोटीको इतिहास प्रेम र इतिहासप्रतिको सचेतनाले उनलाई आफ्नो प्रकाशन ‘ज्ञानगुनका कुरा’ मार्फत निरन्तर नेपाली इतिहासको सेवामा समर्पित हुन प्रेरित गरिरहेको पाइन्छ।
नेपाली इतिहास लेखन विधामा केही संस्थागत प्रयास पनि नभएका हैनन् तर पनि कुनै पनि संस्थागत प्रयास चिरस्थायी भने हुन सकेका छैनन्। संशोधन मण्डलले इतिहास लेखन र प्रसारमा उल्लेखनीय भूमिका खेले पनि कालान्तरमा यो निष्क्रिय हुन पुग्यो।
प्रज्ञा प्रतिष्ठानले बेला बेलामा इतिहाससम्बन्धी ग्रन्थहरू प्रकाशन गर्ने गरे पनि यसले कुनै ठोस योगदान भने दिन सकेको छैन। यस्तै अन्य संघसस्थाहरूले पनि छिटपुट ऐतिहासिक लेखन कार्यमा हात हाले पनि पानीको फोका सरह देखिए। यस पृष्ठभूमिमा शेषराज शिवाकोटीको इतिहास क्षेत्रमा योगदानलाई पनि सराहना गर्नुपर्ने हुन्छ।
वि.सं. २०४५ देखि प्रारम्भ भएको ज्ञानगुन प्रकाशनले हालसम्म कुल २४८ अंक प्रकाशन गरेको छ। यीमध्ये अधिकांश अंक नेपाली इतिहास र संस्कृतिसँग नै सम्बन्धित हुनु निश्चय नै महत्वपूर्ण कार्य हो।
इतिहास र संस्कृति सम्बद्ध ती अंकहरूमा नेपाली इतिहास तथा संस्कृतिका क्षेत्रमा कलम चलाउने पं. नयराज पन्त, धनवज्र वज्राचार्य, दिनेशराज पन्त, ज्ञानमणि नेपाल, नयनाथ पौडेल, तुलसीराम वैद्यजस्ता अघिल्लो पुस्ताका इतिहासकार तथा संस्कृतिविदहरूदेखि पछिल्लो पुस्ताका इतिहासकारसम्मको कृति र योगदानमाथि प्रकाश पारिएको छ।
इतिहास र संस्कृतिसँग सम्बन्धित यी प्रकाशनहरूमा पनि नेपाली इतिहास तथा ज्योतिषशास्त्रका प्रकाण्ड विद्वान् प. नयराज पन्तका कृति र योगदानसँग सम्बन्धित अंक धेरै रहेका छन्। तीमध्ये १० वटा अंक पन्तको जीवनकालमै प्रकाशनमा आएका थिए भने बाँकी २२ अंक उनको मृत्युपछि प्रकाशित भएका थिए।
ती अंकमा विभिन्न लेखकहरूले स्व. पन्तका विविध आयामहरूमाथि प्रकाश पारेका थिए। उक्त अंकहरूको अध्ययनबाट नेपालको प्राचीन तथा मध्यकालीन इतिहास, गणित तथा ज्योतिष शास्त्रका विविध पक्षमा राम्रो ज्ञान प्राप्त गर्न सकिन्छ। वास्तवमा यी सामग्रीहरू एकातिर इतिहासका स्रोत हुन् भने अर्कातिर पं. नयराज पन्तको योगदानको सम्मान पनि हो।
ज्ञानगुन प्रकाशनले सातवटा अंकमा नेपालको प्राचीन तथा मध्यकालीन इतिहासका मूर्धन्य इतिहासकार धनवज्र वज्राचार्यका कृति र व्यक्तित्वका बारेमा वर्णन गरेको छ। वास्तवमा वज्राचार्य नेपालको प्राचीन इतिहासका सिद्धहस्त व्याख्याता थिए। उनको लिच्छविकालको अभिलेख र मध्यकालको अभिलेख आजसम्म उक्त दुवै कालको इतिहास जान्ने प्रमुख स्रोतका रुपमा रहिआएको छ।
स्वं वज्राचार्यले गरेको लिच्छविकालीन अभिलेखहरूको व्याख्यालाई आजसम्म कसैले पनि चुनौती दिन सकेका छैनन्। ज्ञानगुन प्रकाशनले स्व. धनवज्र वज्राचार्य विशेष अंक प्रकाशन गरेर उनले नेपालको इतिहासमा दिएको योगदानको कदर गर्नुका साथै उनको योगदानलाई जनमानससम्म पुर्याउने महत्वपूर्ण कार्य गरेको छ।
नेपाली इतिहासका गहन अध्येता एवम् लेखक दिनेशराज पन्त इतिहास लेखनमा चिनिएको नाम हो। उनले लेखेका खोजमूलक दर्जनौँ ऐतिहासिक लेखहरूले संसोधन मण्डलबाट प्रकाशित हुने पूर्णिमा पत्रिका भरिएको पाइन्छ। उनी पूर्णिमाजस्तो एक खोजमूलक ऐतिहासिक पत्रिकाका एक प्रमुख आर्किटेक्ट पनि हुन्।
स्व. नयराज पन्तका पुत्ररत्न पन्तले पिताको प्राज्ञिक बिरासतलाई अगाडि बढाउँदै ल्याएका छन्। शाहवंशको मूल थलो गोरखा राज्यको इतिहासलाई उनले चार भागमा प्रकाशन गरेर शाहकालीन नेपालको इतिहासलाई पाठकसामु प्रस्तुत गरिदिनु उनको मत्वपूर्ण योगदान मानिन्छ। यिनै पन्तका विविध ऐतिहासिक देनलाई उजागर गर्दै ज्ञानगुनले ५ वटा विशेष अंक नै प्रकाशन गरेको थियो।
संशोधन मण्डलसँग सम्बद्ध प्रमुख व्यक्तित्वद्वेय ज्ञानमणि नेपाल तथा नयनाथ पौडेलको योगदान पनि नेपाली इतिहाससम्बन्धी अध्ययन तथा खोजमा उल्लेखनीय रहेको पाइन्छ। खासगरी ज्ञानमणि नेपाल नेपाली इतिहास तथा ऐतिहासिक ज्ञानका लागि धरोहर नै थिए।
’नेपाल निरुक्त’, ’नेपालको महाभारत’, ’नेपाल सुखिम सम्बन्ध’, ’मध्यकालीन नेपालको इतिहास’लगायतका थुप्रै ऐतिहासिक ग्रन्थका सर्जक नेपाल अध्ययनशील र आलोचनात्मक विश्लेषणका लागि पनि परिचित छन्।
ज्ञानगुन प्रकाशनले उनको इतिहासप्रतिको प्रेम र चिरन्तन खोज तथा अनुसन्धानको प्रवृत्तिको सम्मान गर्दै दुई अंक प्रकाशन गरेको छ। त्यस्तै संसोधन मण्डलमा आबद्ध रहेर ऐतिहासिक दस्तावेजहरूको प्रकाशन, ऐतिहासिक तथ्यहरूको सम्पुष्टि एव भ्रमपूर्ण तथ्यहरूको सप्रमाण खण्डन र आवश्यक मण्डन गरी नेपाली इतिहासलाई प्रामाणिक बनाउने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरेका पं. नयनाथ पौडेलप्रति समर्पण गर्दै एक अंक प्रकाशन गरेको छ।
ज्ञानगुन प्रकाशनले प्राचीन नेपालको इतिहासमा कलम चलाउने जगदीशचन्द्र रेग्मी तथा इतिहास लेखनविधिअनुसार आधुनिक नेपाली इतिहासको लेखनमा क्रियाशील प्रा.डा. तुलसीराम वैद्यको योगदानमाथि प्रकाश पार्दै एक एक अंक प्रकाशन गरेको छ। त्यसैगरी एक अंक नेपाली इतिहासका विविध पक्ष तथा नेपाली साहित्य क्षेत्रमा समेत कलम चलाउने कमल दीक्षित अंकका रुपमा प्रकाशन गरेको छ।
ऐतिहासिक घटनाका साथै संस्कृति पनि नेपाली इतिहासको एक अभिन्न पक्ष हो। इतिहास र संस्कृति दुवै परिपूरक हुन्। इतिहासको अध्ययनविना संस्कृतिको ज्ञान अधुरो हुन्छ भने संस्कृतिविना मानव समाजको इतिहासको अध्ययन अपूर्ण हुन्छ। यसैले पनि होला ज्ञानगुन प्रकाशनले इतिहासकार र संस्कृतिविद् दुवैलाई आफ्नो प्रकाशनमा स्थान दिँदै आएको छ।
विशेषतः जगदीशचन्द्र रेग्मी, वीणा पौडेल, तेजेश्वरबाबु ग्वंग, स्वामी प्रपन्नाचार्य आदिको व्यक्तित्व र योगदानबारे प्रकाश पार्दै एक एक विशेष अंक प्रकाशन गरेर ज्ञानगुनले संस्कृतिप्रतिको आफ्नो चासो र लगावलाई पनि उद्घाटित गरेको छ।
प्रकाशनका दृष्टिले ज्ञानगुन प्रकाशनले स्थापित एक विशिष्ट इतिहासकार तथा संस्कृतिविद्को मात्र नभई समाजशास्त्रीय दृष्टिले नेपाली समाज र सामाजिक इतिहासलाई अध्ययन गर्ने जनकलाल शर्मा, प्रकाश ए. राज, डा तीर्थबहादुर श्रेष्ठ, डा मुकेश चालिसे, प्रा शंकर ….. , बालकृष्ण पोखरेल, जगमान गुरुङ जस्ता लेखकहरूलाई पनि आफ्ना प्रकाशनको माध्यमबाट आम पाठकसमक्ष परिचित गराउने कार्य गरेको छ।
यसबाहेक कतिपय उदीयमान इतिहासकार तथा संस्कृतिविदहरूलाई पनि ज्ञानगुन प्रकाशनले स्थान दिएको छ। न्यायसेवा क्षेत्रमा टोपबहादुर सिंह, हरिप्रसाद प्रधान, प्रकाश बस्तीलगायत धेरैको योगदान स्मरण गरी अक्षरको अभिवादनसहित धेरै अङ्क प्रकाशित छन्।
वास्तवमा ज्ञानगुन प्रकाशनले एकातिर प्रकाशनको माध्यमबाट इतिहासकारहरूलाई चिनाउने र उनीहरूको योगदानलाई प्रचारप्रसार गराउने कार्य गरेको छ भने अर्कातिर इतिहास तथा संस्कृतिको महŒवलाई उजागर गर्ने मत्वपूर्ण कार्य गरेको छ।
प्रकाशित यी विशेष अंकहरूमा सम्बन्धित इतिहासकारप्रति लेखकहरूको विविध दृष्टिकोण प्रस्तुत गरिएको छ। यस्ता विशेष अंकहरूको प्रकाशनले निश्चय नै सम्बन्धित इतिहासकारलाई आफ्ना खोज तथा अनुसन्धानले सामाजिक मान्यता पाएको अनुभूति हुन जान्छ।
तर, महत्वपूर्ण कुरा के छ भने व्यक्ति विशेषप्रति केन्द्रित यस्ता विशेषाङ्कहरूमा जति पनि लेखहरू प्रकाशन मा आएका छन्, ती अधिकांशतः स्तुति र प्रशंशाले भरिएका पाइन्छन्। इतिहासकारहरूको योगदानको वस्तुनिष्ठ मूल्यांकनको साटो निजको अति प्रशंसाले भने व्यक्तिविशेषप्रति केन्द्रित यस्ता विशेषांकहरूमा जति पनि लेखहरू प्रकाशन भएका छन् ती अति प्रशंसाले कतिपय अवस्थामा समाजलाई दिगभ्रमित पनि तुल्याउने सम्भावना रहन्छ। कनै पनि व्यक्ति कमजोरीरहित (लेखकीय कमजोरी) हुँदैन तर उसका कमजोरीहरूलाई ढाकछोप गरिनु कदापि उचित मान्न सकिन्न।
कुनै पनि इतिहासकार तबसम्म समाजमा स्थापित हुँदैन जबसम्म उसका कृतिहरूले सामाजिक मान्यता पाउँदैन। सामाजिक मान्यता पाउन ऐतिहासिक कृतिहरूको विशिष्टता, तथ्यपूर्ण विश्लेषण, अध्ययन विधि र नवीन तथ्यको खोज वा उद्घाटनमा इतिहासकारको योगदान आदिको महŒवपूर्ण भूमिका रहन्छ।
समाजमा स्थापित नभइसकेका व्यक्तिहरूका बारेमा विशेषाङ्क प्रकाशन गर्नु भनेको नितान्त प्रशंसा र स्तुति गर्नुबाहेक गुणगान गाइएका लेखहरूको संग्रहले न त इतिहासकारको गरिमा बढदछ न त प्रकाशनकै।
माथि उल्लेख गरिएका कतिपय विशेष अंकहरूमाथि दृष्टि दिँदा एउटा स्वाभाविक प्रश्न उठ्छ- के कति आधारमा ती व्यक्तित्वहरूलाई ज्ञानगुनले विशेष अंक नै प्रकाशन गर्न आवश्यक र उपयुक्त ठान्यो ? ती अंकमा संग्रहित लेख के साँच्चै नै वस्तुपरक थिए त ? यस कोणबाट हेर्दा कहिलेकाहीँ तत् तत् अंकहरू कतै प्रायोजित नै त थिएनन् भन्ने शंकासमेत उठ्न सक्दछ। यसतर्फ ज्ञानगुण प्रकाशन सचेत हुनुपर्ने देखिन्छ।
नेपाली इतिहासका कतिपय मूर्धन्य इतिहासकारहरू जस्तो स्व. बाबुराम आचार्य, हितनारायण झा, माधवराज पाण्डेय, डिल्लीरमण रेग्मी, महेशचन्द्र रेग्मी, रामनिवास पाण्डे, त्रिरत्न मानन्धर, प्रेमरमण उप्रेती आदिले ज्ञानगुनमा स्थान पाउन नसक्नु तर इतिहास लेखनमा स्थापित भइनसकेका वा स्थापित हुन अझै मिहिनेत गर्नुपर्ने इतिहासका लेखकहरूले स्थान पाउनुले माथि उठाइएको शंकालाई नै बल पुग्दछ। यसतर्फ ज्ञानगुन प्रकाशनले ध्यान दिन सके कालान्तरमा यस्ता विशेष अंकहरू नेपाली इतिहास तथा संस्कृतिको अध्ययनमा महत्वपूर्ण सामग्री बन्न पुग्नेछन्।
इतिहास राष्ट्र र समाजको अमूल्य निधि हो। इतिहासको ज्ञानविना कुनै पनि मुलुकको विकास सही दिशामा अगाडि बढ्न सक्दैन। यसैले इतिहासको ज्ञान बाँड्ने कार्यमा ज्ञानगुन प्रकाशनले गरेको योगदान निसन्देह उल्लेखनीय र सराहनीय छ।
तर, यो कार्य व्यक्ति केन्द्रित हुनुभन्दा कृति र योगदान केन्द्रित हुन सक्दा यसले अझ ठूलो महत्व राख्दछ। प्रकाशित सामग्री स्तुति र प्रशंशामा भन्दा तथ्य र वस्तुनिष्ठ विश्लेषणमा आधारित हुँदा त्यसको विश्वसनीयता समेत बढ्ने हुन्छ।
यसैले स्वप्रयासमा ज्ञानगुन प्रकाशन र यसका प्रकाशक शेषराज शिवाकोटीले नेपाली इतिहासप्रति देखाएको अभिरुचिले अझ फैलने अवसर पाओस् साथै यसबाट राज्य सञ्चालित संस्थाहरूलाई समेत इतिहासकारलाई अझ गहनतापूर्वक इतिहासको खोज र अध्ययनमा उत्प्रेरित गर्ने र इतिहासकै अध्ययनको मत्वलाई प्रसार गर्ने कार्यमा लाग्न प्रेरणा देओस् भन्ने शुभेच्छाका साथ यो आलेख समाप्त गर्दछु।
















Facebook Comment