एनआरएनए महासचिव पदमा सचिव पोखरेलको उम्मेदवारी घोषणा
काठमाडाैं। गैरआवासीय नेपाली संघ (एनआरएनए)को आगामी २५/२७ कार्यकालका लागि महासचिव पदमा वर्तमान सचिव पारस मणि पोखरेलले उम्मेदवारी दिने घोषणा गरेका छन्। संघभित्र लामो समयदेखिको सक्रियता र अनुभवलाई आधार बनाउँदै उनले यसपटक ‘परिवर्तन अनि परिस्कृत एनआरएनए’ भन्ने अभियान अघि सारेका छन्।
पोखरेलले सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणा गर्दै भनेका छन् “पदसँगै पर्फर्मेन्स पनि चाहिन्छ। राजनीति र पैसाले मात्र संगठन चल्दैन। एनआरएनएलाई प्रवासी नेपाली र मातृभूमिबीचको पुलको रूपमा अझ सबल बनाउन मेरो उम्मेदवारी हो।”
एनआरएनएमा स्पष्टवक्ता र नविनतम काम गर्ने व्यक्तिकारुपमा पोखरेल चिनिन्छन् । उनी एनआरएनए अभियानमा लामो समयदेखि लागेर सबैको मन जित्दै आएका छन् ।
संसारको पहिलो क्षेत्रीय समिति जापानको नागोया क्षेत्रका संस्थापक संयोजक रहेका पोखरेल हाल एनआरएनएको केन्द्रिय सचिव हुन्। उनले १२ वर्षअघि एनआरएनए जापानको अध्यक्ष पद सम्हालेका थिए। हालै अमेरिका र क्यानाडाको भ्रमण गरेर फर्किएका पोखरेलले यसले आफूलाई अझ उत्साहित बनाएको र अब निकटमा मलेसिया र मध्यपूर्वमा समेत भ्रमण गर्ने योजना रहेको बताएका छन्।
उनले एनआरएनएलाई विश्वभरका नेपालीको साझा घर बनाउनुपर्ने आवश्यकता औंल्याउँदै पारदर्शी, जिम्मेवार र प्रभावकारी संस्था निर्माणमा जोड दिने बताएका छन्। उनका अनुसार परिवर्तन र परिस्कृत संगठन निर्माण नै आफ्नो अभियानको मूल आधार हो। पारदर्शिता र जवाफदेहितालाई पहिलो प्राथमिकतामा राख्दै उनले संगठनका सबै निर्णय र खर्च सार्वजनिक गर्ने प्रतिबद्धता जनाएका छन्। साथै, नेतृत्व तहमा कम्तीमा ३० प्रतिशत युवाहरू र महिलाको सहभागिता सुनिश्चित गर्ने, अनलाइन सदस्यता, डिजिटल मतदान र ई–गभर्नेन्स प्रणालीमार्फत प्रविधि–मैत्री संगठन निर्माण गर्ने योजना प्रस्तुत गरेका छन्।
पोखरेलले एनआरएनएराजनीतिबाट टाढा राख्नु पर्नेमा जोड दिएका छन्। उनका अनुसार कुनै दल विशेष होइन, सम्पूर्ण प्रवासी नेपालीको साझा संस्था बन्ने दिशामा संस्थागत सुधार आवश्यक छ। विधान र नीतिलाई समयानुकूल परिमार्जन गर्दै आधुनिक संरचना विकास गर्ने र सम्मेलन, सेमिनार तथा परियोजनालाई परिणाममुखी र प्रभावकारी बनाउनुपर्ने उनको तर्क छ।
उनले अघि सारेका प्राथमिक कार्यक्रमहरूमा प्रवासी सीप र ज्ञानलाई मातृभूमिसँग जोड्ने, नेपालीको अधिकार र सुरक्षामा प्राथमिकता दिने, प्रवासी लगानीमार्फत नेपालमा रोजगारी र विकास प्रवर्द्धन गर्ने, समाजसेवा र मानवीय सहयोगलाई संस्थागत बनाउने, शिक्षा तथा युवा नेतृत्व विकासमा जोड दिने समावेश छन्। पोखरेलले भने, “एनआरएनएलाई कुनै व्यक्तिको होइन, सम्पूर्ण प्रवासी नेपालीको साझा संस्थाको रूपमा अघि बढाउनुपर्छ। सीप, ज्ञान र लगानीलाई मातृभूमिसँग जोडेर मात्र प्रवासी र नेपालबीचको सम्बन्ध अझ प्रगाढ हुन्छ।”
“सशक्त प्रवासी, सम्पन्न नेपाल — परिवर्तन अनि परिस्कृत एनआरएनए” भन्ने नारासहित पोखरेलले आफ्नो उम्मेदवारी प्रस्तुत गरेका छन्।







डिसी नेपाल








Facebook Comment