ठाकुरबाबा नगरपालिकाद्वारा बेपत्ताका श्रीमतीलाई मासिक भत्ता सुरु
बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिकाले १० वर्षे द्वन्द्व क्रममा बेपत्ता पारिएका व्यक्तिका श्रीमतीलाई जीवन निर्वाह भत्ता दिने भएको छ।
नगरपालिकाले बेपत्ता पारिएका व्यक्तिका श्रीमतीलाई जिवनयापन गर्न सहज होस् भन्ने उद्देश्यले मासिक दुई हजार पाँच सय रुपैयाँ जीवन निर्वाह भत्ता दिन थालेको हो।
द्वन्द्वमा शहिद भएका व्यक्तिका श्रीमतीले सरकारबाट एक महिला भत्ता पाउने तर बेपत्ता पारिएका व्यक्तिको श्रीमतीले एकल महिला भत्ता नपाउने हुँदा नगरपालिकाले नै कार्यविधि बनाइ जीवननिर्वाह भत्ता दिन थालेको हो।
नगरपालिकाले हाल आठ जना महिलालाई भत्ता दिन सुरु गरेको ठाकुरबाबा नगरपालिकाकी उपप्रमुख बिना भट्टराईले बताइन्। उनले बेपत्ताका श्रीमतीलाई थोरै भएपनि घर चलाउन सहज हुने बताइन्।
तीन वर्ष यता राजापुर नगरपालिकाले पनि बेपत्ता पारिएका व्यक्तिको श्रीमतीलाई मासिक दुई हजार जिवन निर्वाह भत्ता दिँदै आएको थियो। ठाकुरबाबा नगरपालिकाले जिवननिर्वाह भत्ता दिएसँगै बर्दियाका आठ ओटा पालिका मध्ये दुई ओटा पालिकाले बेपत्ताका श्रीमतीलाई जिवननिर्वाह भत्ता दिन थालेका हुन्। सरकारले बेपत्ताका श्रीमतीलाई जीवन निर्वाहका लागि व्यवस्था नगरेको हुनाले नगरपालिका आफैले दिनु परेको ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख तिलकराम लम्सालले बताए।
सरकारले द्वन्द्वमा बेपत्ता पारिएका व्यक्तीका परिवारलाई जिविकोपार्जनका लागि नयाँ कार्यक्रम र स्पष्ट नीति बनाउनुपर्ने उनको भनाई छ।
बेपत्ता पारिएका व्यक्तिहरूको छानविन आयोगका अनुसार बर्दिया जिल्लामा दुई सय ६१ जना व्यक्ती बेपत्ता पारिएको भन्दै परिवारले उजुरी दिएका छन्। नेपाल भरीमा २६ सय भन्दा बढि व्यक्ति बेपत्ता पारिएको उजुरी दर्ता भएको आयोगको भनाइ छ।







डिसी नेपाल







Facebook Comment