‘प्रधानमन्त्री ओलीको चीन भ्रमणले मुलुकको प्रतिष्ठामा थप अभिवृद्धि गर्न योगदान पुगेको छ’

डिसी नेपाल
१८ भदौ २०८२ २३:३४
96
Shares

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणले अन्तरराष्ट्रियजगत्मा नेपालको प्रतिष्ठालाई थप अभिवृद्धि गर्न उल्लेखनीय योगदान पुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्री ओली जनवादी गणतन्त्र चीनको पाँचदिने औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कनुभएपछि परराष्ट्र सचिव अमृतबहादुर राईले भ्रमणका क्रममा भएका उच्चस्तरीय भेटवार्ता र भ्रमण उपलब्धिबारे जानकारी दिँदै यस्तो बताएका हुन्। चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधामन्त्री ओली भदौ १४ मा त्यसतर्फ प्रस्थान गरेका थिए।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सञ्चारकर्मीलाई जानकारी दिँदै भ्रमण टोलीमा सँगै रहेका सचिव राईले भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति एवं उपराष्ट्रपतिसँग द्विपक्षीय भेटवार्ता तथा अन्य विभिन्न राष्ट्रका राष्ट्र र सरकार प्रमुखसँग भेटवार्ता भएको जानकारी दिए।

प्रधानमन्त्री ओलीको भ्रमणको मूल उद्देश्य चीनको थियानजिन सहरमा आयोजित सांघाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनमा भाग लिई सो संगठनमा नेपालको सहभागिताको स्तर अभिवृद्धि गर्नाका साथै त्यसमार्फत नेपालको राष्ट्रिय हित प्रवर्द्धन गर्नु रहेको थियो।

प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा भदौ १४ गते चीनका राष्ट्रपति सीसँग थियानजिनमा भेट गरी द्विपक्षीय सम्बन्ध, सहयोग र प्राथमिकताका विषयमा खुला र हार्दिकतापूर्ण छलफल गरेको मन्त्रालयले जनाएको छ ।

शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तमा आधारित नेपाल–चीन सम्बन्ध समस्यारहित रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले नेपालको विकास प्रयासमा पुर्‍याउँदै आएको निरन्तर सहयोगका लागि चीन सरकारलाई धन्यवाद व्यक्त गरेको सचिव राईले बताए। प्रधानमन्त्री ओलीले सांघाई सहयोग संगठनको शिखर सम्मेलनको सफलताको कामना गर्दै सो संस्थामा नेपालको पूर्ण सदस्यताको समर्थनका लागि चिनियाँ राष्ट्रपतिसँग अनुरोध गरेका थिए।

बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) अन्तर्गत सहमति भएकालगायत विभिन्न परियोजनाको शीघ्र कार्यान्वयन हुनेमा आशा व्यक्त गर्दै प्रधानमन्त्री ओलीले रासायनिक मल, पेट्रोलियम अन्वेषण, मानव संसाधन विकास, जलवायु परिवर्तनको प्रभावसँग जुध्ने क्षमता अभिवृद्धि तथा जनस्तरको सम्बन्ध सुदृढीकरण जस्ता क्षेत्रमा सहयोगका लागि अनुरोध गरेका थिए।

भारत र चीनबीच भएको लिपुलेक सहमतिप्रति आपत्ति

प्रधानमन्त्री ओलीले नेपालको भूभाग लिपुलेक नाकामार्फत सीमा व्यापार गर्नेसम्बन्धी भारत र चीनबीच हालै भएको समझदारीप्रति आपत्ति जनाउँदै उक्त समझदारी कार्यान्वयन नगर्न चीनका राष्ट्रपतिलाई अनुरोध गरेको सचिव राईले वाचन गरेको प्रेस नोटमा उल्लेख छ। चीनका राष्ट्रपति सीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्ने कार्यमा चीनको सहयोग रहने अभिव्यक्ति दिएका थिए। साथै उनले चीनले संयुक्त राष्ट्रसंघ र सांघाई सहयोग संगठनलगायत बहुपक्षीय मञ्चहरूमा नेपालसँग सहकार्य गर्ने उल्लेख गरेका थिए।

चीनका राष्ट्रपतिले एक चीन सिद्धान्तप्रति नेपालको दृढ प्रतिबद्धताका लागि धन्यवाद व्यक्त गर्दै दुई देशबीच सहमति भएका उच्च–गुणस्तरीय बिआरआई परियोजनाको कार्यान्वयनमार्फत नेपालको विकासमा चीनको निरन्तर सहयोग रहने कुरा दोहोर्‍याएको प्रेस नोटमा उल्लेख छ।

प्रधानमन्त्री ओली भदौ १६ गते थियानजिनमा आयोजित सांघाई सहयोग संगठन प्लस शिखर सम्मेलनमा सहभागी भएका थिए। उनले सांघाई सहयोग संगठनका सदस्य राष्ट्रहरू, पर्यवेक्षक राष्ट्र, संवाद साझेदारहरू तथा अन्य अतिथिसमेत गरी २४ मुलुकका राष्ट्र÷सरकार प्रमुखहरू उपस्थित शिखर सम्मेलनलाई सम्बोधन गरेका थिए।

प्रधानमन्त्री ओलीले बहुपक्षीयताको सुदृढीकरण, क्षेत्रीय सहयोग प्रवर्द्धन तथा दिगो विकास हासिल गर्नेलगायत विषयमा विचारहरू प्रस्तुत गर्दै सांघाई सहयोग संगठनमा नेपालको आकांक्षा संवाद साझेदार मात्र नभई पूर्ण सदस्यको रहेको धारणा व्यक्त गरेका थिए। उनले नियममा आधारित बहुपक्षीयताको भविष्य विस्तारित सम्पर्क सञ्जाल, परामर्श र सहकार्यमा आधारित हुनुपर्ने मार्गचित्र प्रस्तुत गरेको मन्त्रालयले जनाएको छ।

सांघाई सहयोग संगठनको शिखर सम्मेलनका क्रममा प्रधानमन्त्री ओलीले विभिन्न मुलुकका राष्ट्रप्रमुख र सरकार प्रमुखहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए। रुसी महासंघका राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटवार्तामा दुवै नेताहरूले नेपाल–रुस सम्बन्धलाई अझ सुदृढ तुल्याउने र व्यापार, लगानी, शिक्षा तथा संस्कृतिका साथै हवाई सम्पर्कका क्षेत्रमा परस्पर लाभदायक सहयोग प्रवद्र्धन गर्ने विषयमा छलफल गरेका थिए। साथै, सम्माननीय प्रधानमन्त्री ओलीले रुसी महासंघका राष्ट्रपतिलाई नेपाल भ्रमणका लागि निमन्त्रणा गरेका थिए।

यसैगरी, प्रधानमन्त्री ओली र लाओ जनवादी प्रजातान्त्रिक गणतन्त्रका राष्ट्रपति, गणतन्त्र माल्दिभ्सका राष्ट्रपति, समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री, कम्बोडिया अधिराज्यका प्रधानमन्त्रीसँग भएको छुट्टाछुट्टै भेटमा द्विपक्षीय आपसी हितका विविध विषयमा विचार–विमर्श भएको प्रेस नोटमा उल्लेख छ।

थियानजिनमा रहँदा प्रधानमन्त्री ओलीले थियानजिन नगरपालिकाको हुयिगुआन गाउँमा रहेको धानको पकेट क्षेत्रको भ्रमण गर्नाका साथै थियानजिनको प्रसिद्ध सियाओझान धानको ऐतिहासिक विकास र आधुनिक युगमा यसलाई कसरी पुनर्जीवित गरियो भन्नेबारे जानकारी हासिल गरेका थिए। यसैगरी, उनले चाउ एनलाई र डेंग यिङ्चाओ स्मारक सङ्ग्रहालयको पनि भ्रमण गरेका थिए।

थियानजिनमा आयोजित सांघाई सहयोग संगठन शिखर सम्मेलनमा सहभागितापश्चात् प्रधानमन्त्री ओलीले बेइजिङको भ्रमण गरी बेइजिङमा चीनका उपराष्ट्रपति हान चङ्गसँग मंगलबार द्विपक्षीय भेट गरी नेपाल–चीन सम्बन्धका विविध विषयमा छलफल गरेका थिए। यस्तै, प्रधानमन्त्री ओली बुधबार (आज)ते चीन सरकारद्वारा बेइजिङमा आयोजित ८०औँ विजयोत्सव तथा विशेष सैनिक परेडमा समारोहमा सहभागी भएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.