दुई सातामा झुम्का कारागारका चार कैदीबन्दीको मृत्यु

डिसी नेपाल
१९ भदौ २०८२ १३:३३
928
Shares

विराटनगर । झुम्का कारागारमा रहेका चार कैदीबन्दीको ज्यान गएको छ। दुई साताको अवधिमा चार कैदीको मृत्यु भएको हो।

कारागारमा भाइरल ज्वरोले धेरै कैदीबन्दी बिरामी परेका छन्। एकैपटक धेरै कैदी बिरामी भएपछि स्वास्थ्य परीक्षण सुरु गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ।

बुधबार राति चिकित्सकको टोलीले साढे ३०० भन्दा धेरै कैदीबन्दीको स्वास्थ्य परीक्षण गरेको सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बताएका छन्।

उनीहरूमा भाइरल ज्वरो र श्वासप्रश्वासको संक्रमण देखिएको छ। बिरामी पर्नेमा जबरजस्ती करणी, कर्तव्य ज्यान, ठगी, लागूऔषधलगायत विभिन्न मुद्दामा सजाय काटिरहेका कैदी छन्।

गम्भीर प्रकृतिका कैदीबन्दीलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पठाइएको छ। उनीहरूको सुरक्षाका लागि इलाका प्रहरी कार्यालय, धरानबाट प्रहरी नायब निरीक्षक भीमबहादुर बस्नेतको नेतृत्वमा १५ जना प्रहरी टोली खटाइएको छ।

यसअघि, बुधबार साँझ सप्तरीका ४६ वर्षीय जलेश्वर यादवको मृत्यु भएको थियो। उनी जबरजस्ती करणी मुद्दामा सजाय भुक्तान गरिरहेका थिए। अचेत भएपछि अस्पताल ल्याइएको यादवलाई डाक्टरले बुधबार साँझ ६:११ बजे मृत घोषणा गरेका थिए।

त्यसअघि, धरानका सागर राई, सुनसरीका रामदेव उराँव र भोजपुरका विकास राईको उपचारका क्रममा मृत्यु भइसकेको छ। उनीहरूमा श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको थियो। झुम्का कारागारको ब्लक ‘ए’ र ‘बी’मा हाल एकहजार ७९४ कैदी छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.