भेनेजुएलाको डुङ्गामाथि अमेरिकी आक्रमण, ११ जनाको मृत्यु
काठमाडौं । अमेरिकी सेनाले मंगलबार भेनेजुएलाको डुङ्गामा आक्रमण गर्दा ११ जनाको मृत्यु भएको छ। अब अमेरिकी विदेशमन्त्री मार्को रुबियोले ट्रम्प आफैंले डुङ्गामा आक्रमणको आदेश दिएको खुलासा गरेका छन्।
यो आक्रमण मंगलबार क्यारिबियन सागरमा भएको थियो। रुबियोले भनेअनुसार उनले चाहेको भए डुङ्गा कब्जा गर्न सक्थे, तर ट्रम्पले त्यसलाई उडाउन आदेश दिए।
रुबियोले भने – ‘लागूऔषध ढुवानीहरू मात्र जफत गर्दा कार्टेलहरूमा कुनै असर पर्ने छैन। यदि हामी तिनीहरूलाई समाप्त गर्न चाहन्छौं भने, हामीले तिनीहरूलाई विस्फोट गराउनु पर्छ।’
रुबियोले भनेअनुसार डुङ्गामा ‘कोकेन वा फेन्टानिल’ जस्ता लागूपदार्थहरू लोड गरिएको हुनाले त्यहाँ रहेका मानिसहरूलाई कुनै चेतावनी दिइएको थिएन। यो अमेरिकाको लागि प्रत्यक्ष खतरा थियो।
यसअघि राष्ट्रपति ट्रम्पले जहाजमा ‘ट्रेन डे अरागुआ गिरोह’ का सदस्यहरू रहेको दाबी गरेका थिए। अमेरिकाले यसलाई आतंकवादी संगठन घोषणा गरेको छ। ट्रम्पले डुङ्गामा ठूलो मात्रामा लागूऔषध रहेको दाबी गरेका थिए।
ट्रम्पले पत्रकारहरूलाई भने- ‘हामीसँग उनीहरूको कुराकानीको टेप छ। हाम्रो देशमा ठूलो मात्रामा लागूऔषध आउँदै थियो, जसले धेरै मानिसहरूको ज्यान लिन सक्थ्यो। यो कुरा सबैले बुझेका छन्। तपाईं आफैंले देख्न सक्नुहुन्छ कि डुङ्गामा लागूऔषधका प्याकेटहरू थिए र त्यहीँ आक्रमण भएको थियो। अब उनीहरूले फेरि यस्तो गर्ने छैनन्।’
ट्रम्पले सामाजिक सञ्जालमा फुटेज पनि सेयर गरेका छन्, जसमा पानीमा स्पीडबोट दौडिरहेको र त्यसपछि विस्फोट भएको देखाइएको छ। भिडियो प्रायः कालो र सेतो छ र डुङ्गामा कति जना छन् वा लागूपदार्थहरू छन् कि छैनन् भनेर स्पष्ट रूपमा देखाइएको छैन।







डिसी नेपाल








Facebook Comment