किसानका समस्या समाधानमा सरकार गम्भीर: मन्त्री अधिकारी
पाटन (ललितपुर)। कृषि तथा पशुपंछी विकासमन्त्री रामनाथ अधिकारीले किसानका समस्या समाधानमा सरकार गम्भीर रहेको बताएका छन्।
नेपाली कांग्रेसको भातृसंस्था नेपाल किसान महासंघको आज यहाँ आयोजित चौथो केन्द्रीय महाधिवेशनलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले किसानको उन्नति र प्रगतिका लागि यान्त्रिकरण, औद्योगिकीकरण आवश्यक रहेको बताए।
‘आफ्नै देशमा उत्पादन बढाउँदै आत्मनिर्भर हुन आवश्यक छ, त्यसका लागि किसानले खेतीयोग्य जमिनको उपयोग गर्न सकौँ’, उनले भने।
नेपाली कांग्रेस ललितपुर जिल्ला सभापति जीतेन्द्रकुमार श्रेष्ठले १८ वर्षपछि वडा तहदेखि गाउँनगर, क्षेत्र, जिल्ला र प्रदेश हुँदै केन्द्रीय तहसम्म अधिवेशनमार्फत नेतृत्व चयन हुँदा संगठन चलायमान बन्दै गएको बताए।
नेपाल किसान महासंघका पूर्वअध्यक्ष भानु सिग्देलले संगठनलाई सबल, सुदृढ र गतिशील बनाएर अगाडि बढाउनुपर्नेमा जोड दिए। नेपाली कांग्रेसको व्यावसायिक सीप विकास विभागका संयोजक डा गङ्गालक्ष्मी अवालले किसानहरू संसारको सम्पूर्ण प्राणीहरुको संरक्षक भएकाले किसानले उत्पादनको वास्तविक मूल्य प्राप्त गर्न सक्ने वातावरण तयार गर्नुपर्नेमा जोड दिए।
अखिल नेपाल किसान महासंघका अध्यक्ष प्रेम दंगालले महाधिवेशनले किसानका हकहितका मुद्दामा प्रभावकारी सन्देश दिन सक्ने आशा व्यक्त गरे। क्रान्तिकारी किसान महासंघका अध्यक्ष चित्रबहादुर श्रेष्ठले सामाजिक आर्थिक समानता र वर्गीय शोषणको अन्त्य गर्दै नेपालको किसान आन्दोलनलाई सफलतातिर लैजानुपर्नेमा जोड दिए।







डिसी नेपाल







Facebook Comment