वर्षा र उर्वरताका देवता इन्द्रको आराधना गर्नुको रहस्य

डिसी नेपाल
२१ भदौ २०८२ ७:२९
28
Shares

काठमाडौं। काठमाडौं उपत्यकाको सांस्कृतिक पहिचानसँग गाँसिएको इन्द्रजात्रा केवल ऐतिहासिक वा सांस्कृतिक पर्व मात्र होइन, यसमा गहिरो धार्मिक मान्यता पनि जोडिएको छ। हरेक वर्ष भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोकामा ३६ हात लामो लिङ्गो ठड्याएर यस पर्वको सुरुवात गरिन्छ।

यसै दिनदेखि आश्विन कृष्ण चतुर्थीसम्म मनाइने यस पर्वलाई नेवारी भाषामा ‘येँया पुन्ही’ भनिन्छ, जसको अर्थ काठमाडौंको पर्व भन्ने हुन्छ। लिङ्गो ठड्याएर सुरु हुने जात्राले काठमाडौं, भक्तपुर र ललितपुर मात्र नभई आसपासका बस्तीहरूमा पनि धार्मिक र सांस्कृतिक चेतना जगाउने संस्कृतविद् क्षत्र बहादुर कायस्थले बताएका छन्।

उनको अनुसार भक्तपुरमा दोबाटोमा छोटो लिङ्ग ठड्याउने चलन छ, जसलाई ‘यम्बोःद्यो’ भनिन्छ र यसलाई इन्द्रका छोरा जयन्तको प्रतीकका रूपमा व्याख्या गरिन्छ।

उनका अनुसार इन्द्रजात्राको मूल विधि भनेको वसन्तपुर दरबार क्षेत्रमा कालभैरव अगाडि लिङ्गो ठड्याउनु हो। जसलाई स्थानीय भाषामा ‘यः सिं’ भनिन्छ र यो लिङ्गो कुनै साधारण तरिकाले नभइ तान्त्रिक विधिबाट ठड्याइन्छ भन्ने विश्वास छ। यस लिङ्गोमा अंकित पाताहरूमा सुनको जलप राख्ने गरिन्छ र इन्द्र विराजमान ऐरावत हात्तीको प्रतिमा पनि तयार पारिन्छ। यसै दिन श्वेत भैरवको मन्दिर सर्वसाधारणका लागि खुला गरिन्छ। जसलाई वर्षमा एकपटक मात्र हेर्ने अवसर पाइन्छ भन्ने धार्मिक मान्यता छ।

उनले आफूले गरेको अभिलेख अध्ययन अनुसार इन्द्रजात्रा आठ दिन मनाउने भन्ने कुरा उल्लेख गरिएको छ तर आठ दिन भनेको जात्रा १० दिन पुग्ने भन्दै इन्द्र जात्रा पहिले पहिले टोल टोलमा, काठमाडौँको इन्द्रचोकमा खट राखेर मनाउने गरेको बताए।

इन्द्रजात्रासँग विभिन्न किंवदन्तीहरू पनि जोडिएका छन्। जनश्रुति अनुसार स्वर्गका राजा इन्द्र आफ्नी आमा वसुन्धराको व्रत पूरा गर्न पारिजातको फूल खोज्दै पृथ्वीमा आएका थिए।

उनले वर्तमान भीमसेनस्थान नजिकै रहेको एक बगैंचाबाट कसैको अनुमतिविना फूल टिप्न खोजेपछि तान्त्रिक विद्या जाने मालीले उनलाई समाते। त्यसपछि इन्द्रलाई राजा समक्ष पेश गरियो र चोकमा लिङ्गोमा बाँधेर सबैले देख्ने गरी राखियो। यसरी फूल खोज्न पृथ्वीमा आएका इन्द्र मानव समुदायकै हातबाट सजाय पाइरहेका थिए।

लामो समयसम्म छोरा नफर्किएपछि आमा वसुन्धराले ऐरावत हात्तीलाई इन्द्र खोज्न पठाइन्। हात्तीले भिडभाडबीचमा परेका इन्द्रलाई भेट्यो। पछि वसुन्धरा पनि बौलाहीको भेषमा आफ्ना छोरालाई खोज्दै आइन्।

केही किंवदन्ती अनुसार उनले धानबाली समयमै पाक्ने र मरेकालाई स्वर्ग पुर्‍याउने बाचा गरेर इन्द्रलाई छुटाइन्। अर्का केही विश्वासअनुसार उनले एक्कासी तुवालो खडा गरेर कसैले कसैलाई नदेख्ने बनाएर इन्द्रलाई भगाइन्। यसरी छुटेपछि इन्द्र र वसुन्धराले थानकोटमा रहेको इन्द्रदहमा स्नान गरेर स्वर्ग गएका थिए भन्ने भनाइ छ।

यस बाचाअनुसार नै त्यसपछि काठमाडौंका खेतबारीहरूमा अन्नबाली राम्रो हुन थाले र दिवंगत आत्माहरू स्वर्ग पुग्ने मार्ग खुलेको विश्वास गरिन्छ। त्यसैले जात्राको पहिलो दिन दागिं निकाल्ने परम्परा छ। दागिं निकालिएपछि दिवंगत आत्माहरू स्वर्ग जान्छन् भन्ने धार्मिक मान्यता छ।

संस्कृतिविद् कायस्थका अनुसार केही किंवदन्तीहरूले इन्द्रजात्रालाई देवता र दानवबीचको युद्धसँग पनि जोड्छन्। युद्धमा इन्द्र विजयी भएपछि पृथ्वीका राजा उपरिचर वसु अत्यन्त प्रसन्न भई इन्द्रको आराधना गर्न थाले, इन्द्रले खुशी भएर उनलाई इन्द्रध्वज प्रदान गरे। त्यसपछि इन्द्रध्वजलाई सम्मानका साथ पूजा गर्ने परम्परा बस्यो, जसलाई हरेक वर्ष दोहोर्याइन्छ। यही कारण लिङ्गो ठड्याउने र त्यसलाई इन्द्रध्वजका रूपमा पूज्ने परम्परा इन्द्रजात्राको प्रमुख अंश मानिन्छ।

उनले भने, ‘अब यसको मुख्य रुपमा उपरिचर भन्ने राजाको बारेमा छ। उनले इन्द्रको खूब भक्ति गर्छ, अनि, इन्द्रले उनलाई इन्द्रध्वज दिन्छन्। उनले त्यो इन्द्र ध्वजलाई सम्मान स्वरूप पूजा गरेर राख्छन्। त्यही भएर हामीले इन्द्रध्वज उठाएर इन्द्र जात्राको सुरुवात गर्छौै। सबैले आफ्नो आफ्नो तरिकाले यसलाई मनाएको देखिन्छ।’

काठमाडौंका अन्तिम मल्लराजा जयप्रकाश मल्लको पालासम्म इन्द्रजात्रा सानो लिङ्गो ठड्याएर मात्र मनाइन्थ्यो। तर उनले कुमारी जात्रा र इन्द्रजात्रालाई संयोजन गरेर यसलाई अझै भव्य रूपमा मनाउने चलन शुरु गरे।

उनीभन्दा अघि लिङ्गो प्रतिकात्मक रूपमा ठड्याएर पूज्ने गरिन्थ्यो भने जयप्रकाश मल्लको पालादेखि यसलाई ठूलो उत्सवका रूपमा स्थापना गरियो। यसरी मल्लकालदेखि हालसम्म इन्द्रजात्रा केवल राजपरम्परा नभई सम्पूर्ण उपत्यकावासीको धार्मिक आस्था बनेको छ।

इन्द्रजात्रामा कुमारीको रथयात्रा विशेष महत्व राख्छ। रथयात्रा मंगलबारबाट सुरु हुन्छ र यसमा जीवित देवीका रूपमा मानिने कुमारीलाई विभिन्न मार्ग हुँदै परिक्रमा गराइन्छ। यसलाई राजनीतिक, धार्मिक र सांस्कृतिक शक्ति एकैसाथ प्रदर्शन गर्ने अवसरका रूपमा पनि लिइन्छ। कुमारीलाई इन्द्रको आशीर्वादसहित उपत्यकाको रक्षक मानिन्छ।

यो पर्व आठ दिन विशेष रूपमा मनाइने भनिए पनि वास्तवमा दस दिनसम्म जारी रहन्छ। प्रत्येक दिनका आफ्नै विधि छन्। पहिलो दिन दागिं निकालेर मृत आत्माहरूलाई स्वर्ग पठाउने विश्वास गरिएको छ भने अन्तिम दिन नानीचा याः सम्पन्न गरिन्छ।

स दिन वसन्तपुरदेखि प्याफल, नरदेवी, किलागल, असन, इन्द्रचोक हुँदै पुनः वसन्तपुर फर्किन्छ। राति भने इन्द्रध्वजा फहराइएको लिङ्गो ढालेर वाग्मतीमा पुर्‍याएर सेलाउने गरिन्छ। यससँगै इन्द्रजात्रा विधिवत् रूपमा समाप्त हुन्छ।

धार्मिक दृष्टिले इन्द्रलाई वर्षा, अन्न र उर्वरता दिने देवता मानिन्छ। ऋग्वेदमा समेत इन्द्रलाई बारम्बार आह्वान गरिएको छ।

संस्कृतविद् कायस्थका अनुसार ऋग्वेदमा इन्द्र, वरुणलगायतका देवतालाई पानी पार्न, अन्न फलाउन वा अनुकूल परिस्थिति ल्याउन पूजा गर्ने उल्लेख छ। यसै कारण इन्द्रको पूजा गर्ने परम्परा रहँदै आएको हो।

उनले भनेझैं उपरिचर वसु नामक राजा इन्द्रको महान् भक्त थिए र इन्द्रले उनलाई इन्द्रध्वज प्रदान गरेका थिए। यसैलाई आधार मानेर हामी आजसम्म इन्द्रध्वज उठाएर इन्द्रजात्रा मनाउँदै आएका छौं।

इन्द्रजात्रामा प्रदर्शित हुने लाखे नाच, पुककुकिसी, महाकाली नाच जस्ता सांस्कृतिक पक्षहरूलाई पनि धार्मिक विश्वाससँग जोडिन्छ। लाखेलाई असुर वा राक्षसको प्रतीक मानिन्छ जसलाई देवत्वको पक्षले नियन्त्रण गरेको कथा सुनाइन्छ।

पुककुकिसीलाई इन्द्रको ऐरावत हात्तीको प्रतिरूप मानिन्छ, जसले इन्द्रलाई खोज्ने धार्मिक कथा सम्झाउँछ। यसरी नाच, रथयात्रा, देवपूजा र सांस्कृतिक प्रदर्शन सबैलाई जोडेर मनाइने इन्द्रजात्राले उपत्यकावासीलाई धार्मिक आस्था मात्र होइन, सामुदायिक ऐक्यबद्धताको सन्देश पनि दिएको छ।

यस पर्वमा मृतक आत्माको उद्धार, अन्नबालीको समृद्धि, वर्षा देवताको आराधना, देवता र दानवबीचको शक्ति सन्तुलन, देवी कुमारीको महिमा, र इन्द्रको सम्मान-यी सबै पक्ष मिसिएका छन्। त्यसैले इन्द्रजात्रा केवल एक जात्रा होइन, यो उपत्यकावासीको जीवनशैली, विश्वास र सांस्कृतिक सम्पदा हो।

वर्षेनी हजारौँ भक्तजन यसमा सहभागी भएर आस्थाको बल र परम्पराको निरन्तरतामा एकाकार हुन्छन्। धार्मिक मान्यताले भरिएको यो पर्व आजसम्म निरन्तर चलिरहनुको मूल कारण पनि यही सामूहिक आस्था र श्रद्धा हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.