फापरखेतीमा कृषकको आकर्षण बढ्दो
मुगु । यहाँका गाउँघरमा फापरखेतीतर्फ किसानको आकर्षण बढ्दै गएको छ। तरकारी र नगदे बालीले केही वर्ष ओझेलमा पारेको फापरखेतीमा हाल पुनः कृषकहरू आकर्षित भएका हुन्।
विशेषगरी यहाँका मुर्मा, पिना, रारा र आसपासका बस्तीहरूमा किसानहरूले फापरखेती गर्न थालेका छन्। स्वास्थ्यका दृष्टिले लाभदायी मात्र नभई राम्रो मूल्य पाइने भएकाले किसान यसतर्फ आकर्षित भएका हुन्।
स्थानीय शिक्षक नन्दसिंह रोकायाका अनुसार फापरखेती पहिले जस्तै लोकप्रिय हुन थालेको छ। उनले भने, ‘हाम्रो पुरानो र मुख्य खेती नै फापर हो। अहिले बजारमा चामल र गहुँले ठाउँ लिए पनि फापरखेती फाइदाजनक भएकाले यसप्रति आकर्षण बढ्दै गएको छ।’
वडा नं ९ मुर्मा गाउँकै अर्का कृषक झुपुकला रोकायाले फापरखेतीले आम्दानी दिने सम्भावना बढेको बताए। उनले भने, ‘पहिले फापरलाई गरिबको अन्न भनेर हेपिन्थ्यो। तर अहिले यसको पीठो र परिकार बजारमा महँगोमा बिक्री हुने गर्छ। यसले हामीलाई आत्मनिर्भरतासँगै आयस्रोत वृद्धि गरेको छ।’
मुगु–रारा पर्यटकीय क्षेत्रमा आउने पर्यटकले स्थानीय उत्पादन खोजी गर्ने भएकाले फापरको माग दिनानुदिन बढ्दो छ। होटल व्यवसायीहरूका अनुसार, पर्यटकले विशेषगरी फापरका ढिँडो, रोटी, लड्डु, तथा विविध परिकार माग गर्छन्। यसले किसानलाई उत्पादन बढाउन थप हौसला मिलेको छ।
फापरमा कार्बोहाइड्रेट, प्रोटिन, फाइबर, आइरनलगायतका पौष्टिक तत्व हुने बताइन्छ। उच्च रक्तचाप, मधुमेह, मुटु रोगीका लागि फापर उपयुक्त मानिने भएकाले स्थानीय उत्पादनले बाहिरी बजारमा प्रतिस्पर्धा गर्न सक्ने किसानहरू बताउँछन्।
जिल्लाको चिस्यानयुक्त भेगमा सहजै फल्ने यो बालीमा उत्पादन खर्च पनि कम हुने गर्छ। स्थानीय सरकार र कृषि कार्यालयले समेत फापरलाई परम्परागत बाली संरक्षणसँगै आयआर्जनको विकल्पका रूपमा प्रवर्द्धन गर्ने योजना बनाएका छन्।







डिसी नेपाल







Facebook Comment