फ्रयांकफर्टले उचाल्यो एनआरएन जर्मनी कपको उपाधि, महिलातर्फ ह्याम्बर्ग विजेता

दीपक धिताल
२२ भदौ २०८२ १२:०४
884
Shares

म्युनिख। जर्मनीका नेपाली समुदायको सबैभन्दा ठूलो खेलकुद महोत्सवका रूपमा परिचित एनआरएनए कप २०२५ शनिबार जर्मनीको म्युनिखमा भव्यताका साथ सम्पन्न भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) जर्मनी, स्थानीय समन्वय परिषद् (एलसिसी) बायर्न र एनएफटी म्युनिखको संयुक्त आयोजनामा सम्पन्न प्रतियोगितामा पुरुषतर्फ आइन्ट्राख्ट नेपाली रेड र महिलातर्फ एनएफसी ह्याम्बर्ग विजेता बनेका छन्।

कार्यक्रमका प्रमुख अतिथि जर्मनीका लागि नेपाली राजदूत डा. शैल रुपाखेतिले उद्घाटन गर्दै खेलकुदलाई केवल प्रतिस्पर्धा नभई नेपाली समुदायबीचको एकता, सहकार्य र मित्रता सुदृढ गर्ने माध्यमको रूपमा लिनुपर्ने बताए। उनले यस्ता गतिविधिले विदेशमा बस्ने नयाँ पुस्तामा नेपाली पहिचानलाई जीवित राख्न ठूलो योगदान पुर्‍याउने विश्वास व्यक्त समेत व्यक्त गरे। यी युवा खेलाडिलाई चाँडै नै नेपाली क्लबबाट खेलाउनका लागि पहल गर्नेमा आफ्नो भूमिका रहने पनि बताए।

सन् २०१६ देखि नियमित हुँदै आएको एनआरएनए कप यसपटक आठौं संस्करणमा प्रवेश गरेको हो। पहिलो पटक दक्षिण जर्मनीको म्युनिखमा आयोजना गरिएको प्रतियोगितामा जर्मनीका विभिन्न सहरबाट जम्मा २० टोली (पुरुषतर्फ १५ र महिलातर्फ ५) ले सहभागिता जनाएका थिए।

पुरुषतर्फ क्वार्टरफाइनल पार गर्दै एनएफटी म्युनिख र एनएफसी स्टुटगार्ट साथै एनएफसी ह्यानोभर र आइन्ट्राख्ट नेपाली रेड अन्तिम चारमा पुगेका पुगेका थिए। सेमिफाइनलमा आइन्ट्राख्ट नेपाली रेडले एनएफटी म्युनिखलाई पेनाल्टी सुटआउटमा २-१ ले हरायो भने एनएफसी ह्यानोभरले एनएफसी स्टुटगार्टलाई ४-२ ले हराउँदै फाइनलमा स्थान बनायो। रोमाञ्चक फाइनलमा दुवै टोलीबीच बराबरी भएपछि पेनाल्टीमा पुगेको खेलमा आइन्ट्राख्ट नेपाली रेड ले एनएफसी ह्यानोभरलाई ३-१ ले पराजित गर्दै उपाधि हात पार्‍यो। फ्रयांकफर्ट आइन्ट्राख्ट नेपाली रेडका गोलकीपर अमन तिवारीले प्रतियोगिताको उत्कृष्ट गोलकीपर र उत्कृष्ट खेलाडिको तक्मा प्राप्त गर्न सफल भए। चुम्बकीय तरिकाले विपक्षीको गोल प्रहार रोक्ने उनको क्षमताको व्यापक प्रशंसा भएको छ।

यसैगरी महिलातर्फ राउन्ड–रोबिन चरणपछि शीर्ष दुईमा पुगेका एनएफसी ह्याम्बर्ग र एनएफसी स्टुटगार्टबीच उपाधिका लागि प्रतिस्पर्धा भयो। फाइनलमा एनएफसी ह्याम्बर्गले एनएफसी स्टुटगार्टलाई १-० ले पराजित गर्दै उपाधि उचाल्यो।

महिलातर्फ उत्कृष्ट खेलाडी स्टुटागार्टकी स्वस्तिकका रावत  भइन् भने उत्कृष्ट गाेलकिपरकाे उपाधि ह्वामवर्गकी सिमरन गुरूङले जितिन्।

पुरुष टिम तर्फका विजेता आइन्ट्राख्ट नेपाली रेडले ५ हजार युरो सहित ट्रफि पायो भने उपविजेता एनएफसी ह्यानोभरले २ हजार युरो सहित ट्रफी राउन सफल भयो। यसैगरी महिला विजेता एनएफसी ह्याम्बर्गले २ हजार युरो र उपविजेता एनएफसी स्टुटगार्टले १ हजार युरो सहित ट्रफि प्राप्त गरे।

प्रतियोगितामा जर्मनीभरिका नेपाली समुदायको बाक्लो उपस्थिति रह्यो। खेलसंगै, नेपाली नेपाली बीचको भेटघाट र खानपानले प्रतियोगितालाई उत्सवमय बनाएको थियो। एनआरएनए जर्मनीका अध्यक्ष लोकमणि ढकालले यसलाई केवल खेलकुद नभई नेपाली समुदायलाई एउटै मञ्चमा ल्याउने सांस्कृतिक उत्सवका रूपमा चित्रण गरे। एनआरएनए कप २०२५ को सफल समापनले जर्मनीमा नेपाली समुदायको एकता, खेलप्रेम र साझा पहिचानको सन्देश पुनः प्रस्टसँग देखिएको उनको भनाए थियो। साथै आगामी सालको प्रतियोगिता स्टुटगार्टमा हुने पनि अध्यक्ष ढकालले घोषणा गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.