भारतीय केराको आयात रोक्नुपर्ने माग गर्दै ज्ञापन पत्र

डिसी नेपाल
२२ भदौ २०८२ १७:३८
4
Shares

बर्दिया । बर्दियाका केरा खेती गर्ने किसानहरूले भारतीय केराको आयातमा रोक लगाउनु पर्ने माग गर्दै ज्ञापन पत्र बुझाएका छन्। जिल्ला प्रशासन कार्यालय बर्दियामा आगामी मंसिर महिनासम्म केराको आयातमा रोक लगाउन माग गर्दै ज्ञापन पत्र बुझाएका हुन्।

भारतीय केराको आयात बढेपछि बर्दियामा नेपाली केरा विक्री नहुँदा बर्दियाली किसान मारमा परेका छन्। केरा समयमा विक्री हुन छाडेपछि बर्दियाका किसान भारतीय केराको आयातमा रोक लगाउनुपर्ने माग गर्दै जिल्ला प्रशासन कार्यालय बर्दियामा ज्ञापन पत्र बुझाएका छन्।

केराको उत्पादन र विक्री हुने समयमा नै बिक्न छाडेपछि केरा किसानहरूले भारतीय केराको आयातमा मंसिर महिनासम्म पूर्ण रुपमा बन्द गर्नुपर्ने माग गर्दै ज्ञापन पत्र बुझाएका हुन्।

ज्ञापन पत्रमा भारतको केरामा अत्याधिक बिषादी प्रयोग हुने भएको हुनाले बिषादी परिक्षण गर्नुपर्ने, नेपाली केरा उत्पादन किसानहरूको संरक्षण गर्नुपर्ने, केराको उचित मुल्य तोक्नु पर्ने र व्यवसायिक केरा किसानहरूलाई रासायनिक मल सहज रुपमा उपब्ध गराउनुपर्ने माग गरेका छन्।

सिजनकै समयमा भारतबाट अत्याधिक केरा आयाता हुन थालेपछि बर्दिया केरा बोट मै कुहिन थालेको केरा खेती गर्ने किसान टिका सम्सेलीले बताए।

उनले गत बर्ष सहजै विक्री भएको केरा यस बर्ष भारतबाट बढी केरा आएको हुनाले नबिकेको बताए। यस्तै अवस्था रहेमा बर्दियाका केरा खेती गर्ने किसानहरूले केरा मास्नुपर्ने बाध्यता आउन सक्ने बताए।

बर्दिया जिल्लामा केरा जोन कार्यक्रम लागु भएपछि करिब पाँच सय हेक्टर क्षेत्रफलमा केरा खेती हुँदै आएको छ।

जसमा बार्षिक १५ हजार मेट्रिक टन केरा उत्पादन हुदै आएको छ।हाल बर्दिया जिल्लामा करिब सात सय घरपरिवार केरा खेतीमा संलग्न रहेका छन्। बर्दियामा बार्षिक ४० करोड बराबरको केराको कारोबार हुने गरेको केरा व्यवसाय संघ बर्दिया अध्यक्ष टोपलाल बिकले बताए।

आगामी मंसिर महिनासम्मको लागि बर्दिया कैलाली र बाँकेमा पर्याप्त केरा भएपनि भारतबाट आउँदा नबिकेको अध्यक्ष विकले बताए।

बर्दियामा हाल केरा खेती बिस्तारसँगै व्यवस्थित हुँदै गएको छ। केरा पकाउने र स्टोर गर्न मिल्ने च्याम्बर, टिस्युकल्चर केरा नर्सरी, केराको थम्बाबाट रेसा निकाल्ने उद्योगहरू स्थापना भएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.