सरकार र उसका सुरक्षा विश्लेषकको बेवकुफीले रक्ताम्य मुलुक
काठमाडौं। जेन जी को आह्वानमा हिजो देशभर अचानक चर्केको आन्दोलनले एकैदिन १९ जनाको ज्यान लगेपछि मुलुकभर शोक र आक्रोश छाएको छ।
सबैभन्दा बढी जिम्मेवार हुनुपर्ने सरकार सबैभन्दा बढी उत्तेजित देखिँदाको परिणाम एकै दिनमा १९ जनाले जीवन गुमाउनु र ५ सयभन्दा बढी घाइते हुनुपरेको दुखद अवस्था मुलुकले व्यहोर्नु परेको छ।
आन्दोलनकारी जेन जीले जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई औपचारिकरुपमै जानकारी दिएर भ्रष्टाचारविरुद्ध शान्तिपूर्ण प्रदर्शन गर्ने बताइसकेका थिए।
केही दिनअघिमात्र बन्द गरिएका सामाजिक सञ्जाललाई जीवनको अभिन्न अंग मान्दै तिनीहरुलाई खुलाउनु पर्ने माग राखेर गरेको आन्दोलन भन्दै सरकार र उसको प्रशासनले जेन जीको आन्दोलनलाई अति सामान्य हिसावले मात्र मूल्यांकन गर्ने काम गरेको परिणाम मुलुकले गम्भीर क्षति व्यहोर्नु परेको छ। निहत्था युवाहरुले सरकारी गोलीको शिकार हुनु परेको छ, आमा बाबुको काख रित्तिएको छ र मुलुकले होनहार युवा नागरिकहरु गुमाउनु परेको छ।
त्यत्राविधि नागरिकमाथि गोली बर्साइसकेपछि, राजधानीका सडकहरु रगतले लत्पतिइसकेपछिमात्र सरकार र उसको नेतृत्वलाई आन्दोलनमा घुसपैठ भएको जानकारी हुनु र अन्धाधुन्ध नरसंहार गर्न पुगेको घटनाक्रमले देखाएको छ। जगजाहेर छ, आन्दोलन सूचना दिएर भएको थियो।
इतिहास साक्षी छ, नेपालका निरंकुशताविरोधी आन्दोलनहरुमा समेत यति ठूलो नरसंहार एकै दिन भएको थिएन। लोकतन्त्रको मसिहा भनिने सरकारले आफ्ना देशका युवाहरुमाथि टाउकै टाउकामा ताकेर गोली बर्साउनु किमार्थ जायज मान्न सकिने कुरा होइन।
र, यो सूचनालाई सरकार र उसको सुरक्षा संयन्त्रले ज्यादै हल्कारुपमा लिन पुग्यो। वा, सुरक्षाको जिम्मेवारी लिएर बसेका राज्यका निकायहरुले सरकारलाई उचित सूचना दिन सकेनन् अथवा उनीहरुले वास्तविक अवस्थाबारे जानकारी दिनका लागि सरकारको विश्वास गरेनन् त्यो प्रधानमन्त्री र उनको नेतृत्वको सरकारले जान्ने विषय हो।
तर, सरकारी निकायमा जेन जीको आन्दोलनमा आन्दोलनकारीहरुले शान्तिपूर्ण हुने जानकारी दिए पनि आन्दोलन अनियन्त्रित हुन सक्छ भन्ने कुराको पूर्व सूचना थियो।
जानकारीमा आएअनुसार, प्रधानमन्त्री केपी शर्मा ओली सरकारप्रति आक्रोश व्यक्त गर्दै मानिसहरु राजधानी छिर्ने क्रम केही दिनदेखि निकै चलेको थियो भन्ने सूचना पनि सुरक्षा निकायहरुलाई थियो।
मित्रराष्ट्र भारतको असन्तुष्टि त उनको निर्धारित भारत भ्रमण अनिश्चितकालका लागि पर सारिएकोबाटै स्पष्ट भइसकेकै थियो। यस्तो अवस्थामा किशोर एवं युवापुस्ताले गरेको आन्दोलनको आह्वानलाई अति हल्कारुपमा लिने काम हुनुले प्रधानमन्त्री र उनको सरकारका सुरक्षा विश्लेषक तथा सल्लाहकारहरुको वेबकुफीवाहेक अरु के दर्शाउला र?
परिस्थितिको गम्भीरतापूर्वक आंकलन गर्न नसक्नुको परिणाम आन्दोलनकारी युवाहरुलाई प्रदर्शनपूर्व नै वार्तामा नबोलाइनुले देखाइसकेको छ। अर्थात् सरकार ती युवा फेसवुक र युट्युव खुलाउनमात्र आन्दोलन गर्दैछन् भन्ने भ्रममा बसेको देखिन्छ। शायद् युवा शक्तिलाई कम आँक्ने दम्भपूर्ण दुश्साहस बोकेकै कारण सरकार अहिले आन्दोलनकारी युवा एवं किशोर किशोरीको खुनले लत्पतिएको छ।
इतिहास साक्षी छ, नेपालका निरंकुशताविरोधी आन्दोलनहरुमा समेत यति ठूलो नरसंहार एकै दिन भएको थिएन। लोकतन्त्रको मसिहा भनिने सरकारले आफ्ना देशका युवाहरुमाथि टाउकै टाउकामा ताकेर गोली बर्साउनु किमार्थ जायज मान्न सकिने कुरा होइन।
मानिस मारेर संसारमा कसैको पनि सत्ता टिकेको छैन र टिक्न सक्दैन पनि। घुसपैठ वा जे सुकै वाहनामा पनि मानिसमाथि गोली दागिनु कुनै पनि सभ्य समाजका लागि असैह्य विषय हो। घुसपैठ थियो भन्ने जानकारी थियो भने अगाडि नै सरकारी गम्भीरतको आवश्यकता थियो।
आन्दोलनकारीलाई प्रदर्शनपूर्व नै वार्तामा बोलाएर उनीहरुमा माग सम्बोधनको प्रयास गरेको भए घुसपैठ गर्नेहरुको केही उपाय लाग्ने थिएन। समय छँदा कानमा तेल हालेर बस्ने अनि मुलुक रक्ताम्य भएपछि घुसपैठियाहरुविरुद्ध सरकारी कारवाही गरेको भनेर सरकारले दुनियां हसाउने काम गरेको छ।
यो कार्यले जनआक्रोशलाई झन् बढाएको पनि छ। आफ्ना काखका कलिला लालाबालाहरुको ज्यान जानु, घाइते हुनुले शोकाकूल बनेको नेपाली समाज सरकारको गैरजिम्मेवार कदम र आक्षेपले आक्रोशित पनि छ।
यो शोक र आक्रोशको उचित व्यवस्थापन हुन सकेन भने आजदेखि मुलुकको अवस्था के हुने हो भन्ने अन्यौल पनि जनमानसमा व्याप्त देखिन्छ। र, यसले मुलुक क्रमश अनिश्चिततातिर जाने खतरा पनि उत्तिकै देखिएको छ। मुलुकले थप रक्तपात झेल्न सक्दैन। सत्ता सञ्चालनको नैतिक आधार समाप्त भैसकेको हेक्का राख र कृपया नरसंहार बन्द गर सरकार।







डिसी नेपाल








Facebook Comment